ओलीले गराएको त्यो गोप्य सर्वेक्षण- गठबन्धन रहे एमालेको आठ सिट ! Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

ओलीले गराएको त्यो गोप्य सर्वेक्षण- गठबन्धन रहे एमालेको आठ सिट !



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई गोप्य सर्वेक्षण गर्न लगाएका थिए । देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् ।

गत चुनावमा एमालेले राम्रो मतान्तरले जितेका केहि जिल्लाको अनौठो रिपोर्ट पाएपछि ओलीले नयाँ रणनीतिमा बनाउन थालेका छन् । ओलीनिकट स्रोतका अनुसार नेताहरूले विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा एमालेका प्रभावशाली नेताहरू पनि सुरक्षित नभएको रिपोर्टमा उल्लेख छ ।

बालकोटमा भएको छलफलमा नेताहरूले अवको निर्वाचनमा अर्को रणनीति नबनाएको खण्डमा आउँदो चुनावमा चौथो दल बन्नुपर्ने आंकलन गरेका छन् । एमाले अध्यक्ष ओलीको क्रेजको कारण केहि मत थपिएपनि माओवादी र एकीकृत समाजवादी र गठबन्धनका कारण ठुलो क्षति भैसकेको सर्वेक्षणले देखाएको स्रोतको दाबी छ ।

सर्वेक्षणपछि ओलीलाई बुझाईएको रिपोर्टमा गठबन्धन कायम रहेको खण्डमा प्रत्यक्षमा पाँच देखि आठ सिट जित्न सकिने रिपोर्ट बुझाइएको स्रोत बताउँछ । गठबन्धन भत्काउन सकिएको खण्डमा भने ३५ देखि ४० सिट प्रत्यक्षमा जित्ने रिपोर्ट बुझाइएको छ । जसमा पनि एमालेका प्रभावशाली केहि नेताहरूले हार्ने देखाइएको छ ।

उक्त गोप्य रिपोर्टमा समानुपातिकतर्फ भने देशभरबाट २५ देखि ३० लाख भोट एमालेलाई आउने उल्लेख गरिएको छ । एकीकृत समाजवादीका कारण बढीमा १० लाख समानुपातिक भोट काटिएको आंकलन रिपोर्टमा गरिएको छ । उक्त रिपोर्टमा सबैभन्दा क्षति सुदूरपश्चिममा भएको जनाइएको छ । लुम्बिनी प्रदेशमा भने सबैभन्दा राम्रो अवस्था रहेको बताइएको छ ।

उक्त रिपोर्ट पाएपछि ओली लगायतका नेताहरू नयाँ रणनीति बनाउन जुटेका छन् । एमालेका केही नेताहरूलाई खटाएर देशैभरको अवस्था बुझ्न लगाएका ओलीले आउँदो संसदीय निर्वाचनमा गठबन्धन कायम रहेको खण्डमा तनावको सामना गर्नुपर्ने देखिएपछि गोप्य तरिकाले रणनीति बनाउन ब्यस्त छन्।

यसैलाई आधार मानेर एउटा तथ्यलाई भने स्वीकारे र तर अर्को तथ्यबारे बोलेनन् । उक्त रिपोर्टपछिका ओलीका भाषणहरू पनि फितलो हुन थालेका छन् । पछिल्ला कतिपय कार्यक्रममा ओलीको ‘कन्फिडेन्ट’ खस्किएको देख्न सकिन्छ ।

उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल भएको समेत बताएका थिए । गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भविष्यवाणी गरेका ओली संघीय निर्वाचनमा पनि पाँच दलले गठबन्धन गर्ने पक्का भएपछि तनावमा छन् ।

दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका ओली यसरी खुम्चिए कि गठबन्धनले मिलेर उनलाई जताततै सून्यमा झारिदिए । त्यसमाथि स्थानीय तहको निर्वाचनमा देखिएको परिणामले उनलाई पार्टीमै आलोचित बनाएको छ ।

ओलीकै नेतृत्वमा बनेको दुईतिहाईको केन्द्रमा सरकार ढल्यो । ७ मध्ये ६ वटा प्रदेशमा सरकारमा रहेको एमाले प्रतिपक्षमा पुग्यो । राष्ट्रियसभाको एक सिटको चुनाव विगतमा हार्यो । १९ सिटका लागि भएको राष्ट्रिय सभाको चुनावमा पनि एमाले बर्बाद भयो । त्यसपछि भएको स्थानीय निर्वाचनमा पनि एमाले चिन्ताजनक अवस्थामा आइपुगेको छ ।

ओलीले यही यथार्थलाई बुझेर चुनाव अगावै गठबन्धन भत्काउने रणनीति बनाउन थालेका छन् । त्यसका लागि उनले नेपाली काँग्रेसलाई एकल सरकार गठनको प्रस्ताव समेत लगेका थिए ।

ओलीले एमसीसीलाई महत्वपूर्ण अस्त्र देखेका थिए । एमसीसी संसदमा अगाडि बढाइए प्रचण्ड र माधवकुमार नेपालले पारित गर्न नमान्ने र त्यतिबेला आफ्नो दल निर्णायक हुने देखेका थिए । तर, एमसीसी सदनमा ल्याएपछि एमाले एता न उताको भयो । अहिले एमसीसीलाई लिएर विरोध गर्ने वातावरण पनि एमालेसँग छैन ।

त्यसपछि एसपीपीको बखेडा एमालेले झिकेको थियो । तर त्यो पनि ओलीकै पालामा उनैले अमेरिकालाई पठाएको सम्झौता भएको खुलेपछि एमालेमाथि थप ‘ब्याकफायर’ भैरहेको छ ।

लामो समयसम्म सदनमा अवरोध गरेको रेकर्ड बनाएर एमालेलाई अहिले थापा अलोकप्रिय बनाइएको छ। चुनावमा जाँदा गठबन्धन कायमै रहेमा ओलीलाई निकै गाह्रो पर्ने विश्लेषकहरूले बताउने गरेका छन् ।

देउवा निकट नेताहरु एमाले सून्यमा झर्ने भन्न थालेका छन् । गठबन्धन यसरी नै चुनावसम्म एक भएर गएमा ओलीका लागि ठूलो धक्का हुन सक्छ । त्यसैले पनि ओली फेरि गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् । जानकारहरूका अनुसार चुनाव नजिकिँदै जाँदा ओलीले माओवादी र एकीकृत समाजवादीका लागि ५० प्रतिशत दिएर भएपनि गठबन्धन भत्काउने प्रस्ताव गर्नेछन् ।

त्यो अस्त्र पनि फेल भएको खण्डमा ओली र एमालेले चुनावी एजेण्डा नै परिवर्तन गरेर धर्म र संघीयताको विषय उचाल्ने तयारी गरेको विश्लेषकहरू दाबी गर्छन् ।

यद्यपी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताएका छन् ।

शनिबार बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताएका हुन् ।

‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भने । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनले बताए ।