तीव्र सङ्क्रमणले न्यूयोर्क राज्यका गभर्नर नै आत्तिए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तीव्र सङ्क्रमणले न्यूयोर्क राज्यका गभर्नर नै आत्तिए



काठमाडौं- अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले अत्यावश्यक चिकित्सा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन अपिल गरेका छन् ।

राज्यमा कोरोना भाइरसको संक्रमण ‘बुलेट ट्रेन’ को गति भन्दा तीव्र रफ्तारमा फैलिरहेको भन्दै उनले चेतावनी पनि दिएका छन् ।

पत्रकार सम्मेलनमा भगर्नर कुओमोले भनेका छन्, ‘संक्रमण दर हामीले सोचे भन्दा अधिक र हामीले सोचे भन्दा चाँडो छ ।’

कोभिड–१९ का कारण उत्पन्न संकटसँग जुध्नका लागि आवश्यक पर्ने जीवनरक्षक सामग्री तथा सहयोग केन्द्र सरकारले पर्याप्त मात्रामा प्रदान नगरेको उनले बताएका छन् ।

अमेरिकाको न्यूर्योकमा अहिलेसम्म संक्रमितको संख्या २५ हजार भन्दा बढी रहेको छ र कम्तिमा २१० जनाको मृत्यु भइरसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार कोरोना भाइरसको विश्वव्यापी महामारीको नयाँ इपिसेन्टर अमेरिका बन्ने सम्भावना रहेको भन्दै चेतावनी दिएको थियो ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका व्यवसायहरु आउँदो महिना अर्थात अप्रिलदेखि पुनः सुचारु हुने अपेक्षा रहेको बताएका थिए ।

डेमोक्र्याट गभर्नर कुओमोले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई अहिलेको अवस्थामा सहयोग चाहिएको छ र संघीय सरकारको सहयोग अपरिहार्य छ ।’

तत्काल सहयोग पाउन नसके कोरोना भाइरसको महामारी देशका अरु राज्यमा पनि न्यूर्योकमा जस्तै गरी फैलिने चेतावती उनले दिएका छन् ।