ग्रिन टीको नाममा लागुऔषधको डरलाग्दो धन्दा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ग्रिन टीको नाममा लागुऔषधको डरलाग्दो धन्दा



काठमाडौं-

केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए ।

बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो अफ्रिकन मुलुकहरूमा उत्पादन हुने खात नामक लागुऔषध थियो । जुन ग्रिन टी का नाममा नेपाललाई ट्रान्जिट बनाई अन्तर्राष्ट्रिय गिरोहले ओसारपसार गर्दै आएको थियो । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।

दुई साताअघि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी)ले आठ किलो खातसहित तीन जना सोमालियन नागरिकलाई पक्राउ गरेको थियो । इथियोपियाबाट ल्याइएको उक्त लागुऔषध उनीहरूले चिया भनेर नेदरल्यान्डमा तस्करीको प्रयास गरेको एनसिबीका प्रमुख डिआइजी ठुले राईले बताए । प्रहरीले ब्राहिक अली हाजी, जाम एब्डिफाथी र अब्डिफहद युसुलाई पक्राउ गरेको हो । ‘विगतमा पनि उनीहरूले तस्करी गरेको हुन सक्छ,’ डिआइजी राई भन्छन्, ‘विगतदेखि नै तस्करी भइरहेको सूचनाका आधारमा हामीले निगरानी गरी पहिलोपटक यस्तो लागुऔषध बरामद गर्न सफल भएका हौँ ।’

खात हेर्दा ठ्याक्कै चियाको पातजस्तै देखिन्छ । जसकारण सजिलै लागुऔषध हो भेनर पत्ता लगाउन गाह्रो छ । ब्युरोले उक्त लागुऔषध २८ कात्तिकमै पक्राउ गरेपछि लागुऔषध नै हो भनेर पक्का गर्न सकेन । ल्याब टेस्टपछि लागुऔषध नै भएको पुष्टि भएपछि प्रहरीले १५ दिनपछि त्यसबारे सार्वजनिक गरेको हो ।

के हो खात ?
खात गाँजाजस्तै लागुऔषध हो । जुन कडा प्रकारको लागुऔषध होइन । दक्षिण अफ्रिकी देशमा उत्पादन हुने यो लागुऔषधको माग युरोपियन देशहरूमा धेरै छ । यो लागुऔषध दुव्र्यसनीहरूमा ‘मनोवैज्ञानिक निर्भरता’ उत्पन्न हुन्छ । यसले भोक नलाग्ने र रमाइलो सोच उत्पन्न गराउँछ ।

शरणार्थीको आवरणमा धन्दा
पक्राउ परेका तीनैजना सोमालियन नागरिकहरू शरणार्थीको हैसियतमा नेपालमा बस्दै आएका थिए । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र उच्चायुक्तको नेपालस्थित कार्यालयले शरणार्थीको मान्यता दिएर सहयोग गर्दै आएको थियो ।

उनीहरूको खास उद्देश्यचाहिँ लागुऔषध तस्करी देखिएको छ । बरामद खात कार्गाेमार्फत नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।