१६ वर्षीया ग्रेटा थनबर्गले भनिन्: मलाई अवार्ड चाहिँदैन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

१६ वर्षीया ग्रेटा थनबर्गले भनिन्: मलाई अवार्ड चाहिँदैन



एजेन्सी । जलवायु परिवर्तन विरुद्ध आवाज उठाउँदै आएकी १६ वर्षीया ग्रेटा थनबर्गले नर्डिक काउन्सिलले प्रदान गरेको वातारणीय पुरस्कार अस्वीकार गरेकी छन् । मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यसबारे जानकारी दिँदै उनले विश्वलाई अवार्डहरु होइन वातावरण संरक्षणका निम्ति बढी भन्दा बढी प्रयास आवश्यक रहेको बताएकी हुन् ।

वातावरण सम्बन्धी अभियानलाई अब थप कुनै अवार्डको आवश्यकता नभएको बताउँदै उनले नर्डिक मुलुकहरुलाई जलवायु परिवर्तनको सम्बोधन गर्न थप लागिपर्न अनुरोध समेत गरेकी छन् । उनले भनेकी छन्, “ वातावरणीय मुद्दा सम्बन्धी नर्डिक मुलुकहरुको धारणा विश्वभर अत्यन्तै प्रतिष्ठित मानिन्छ । यसलाई वास्तवमै नकार्न सकिँदैन । तर हामीले यिनै देशका कार्बन उत्सर्जन, अतिरिक्त उपभोग, अनावश्यक आयात लगायतका कुरा हेर्यौँ भने चाहिँ फरक सत्य अगाडि आउँछ ।”

उक्त अवार्ड आफ्ना लागि ठूलो सम्मानको कुरा भएपनि काम गर्नमा बढी जोड दिँदा राम्रो हुने उनले बताएकी हुन् । विज्ञानले आवश्यक भनेका विषय र राजनीतिमा प्रथामिकता दिइने कुराहरु फरक भएकाले नै आफूले हालसम्म कुनै प्रभावकारी नतिजा र आवश्यक परिवर्तन देख्न नसकेको गुनासो पनि गरेकी हुन् । उक्त अवार्डको पुरस्कार पाँच लाख स्वीडीस कोर्नर बराबर रकम रहेको थियो । मंगलबार मात्र नर्डिक काउन्सिलले उनले अवार्ड अस्वीकार गरेको जनाएको हो ।

थनबर्गलाई स्वीडेन र नर्वेले विश्व इतिहासको संकटपूर्ण क्षणमा वातावरण र मौसमसम्बन्धि विवादलाई नयाँ रुप दिएर उनी लाखौँ मानिसहरुका लागि प्रेरणाको श्रोत बनेकामा उक्त सम्मान दिन लागिएको बताएको थियो । सिएनएन