खेल बाँकी हुँदै प्लेअफमा पुग्यो गुजरात, हैदराबादको 'च्याप्टर क्लोज' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

खेल बाँकी हुँदै प्लेअफमा पुग्यो गुजरात, हैदराबादको ‘च्याप्टर क्लोज’



काठमाडौं । गुजरात टाइटन्स जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । आईपीएलको प्लेअफ चरणमा पुग्ने पहिलो टोली पनि बनेको छ, गुजरात टाइटन्स ।

गुजरातले सोमबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हरायो । १३ खेल खेलेको गुजरातले हालसम्म १८ अंक बटुलेको छ । गुजरातले ९ जित र ४ हारको नतिजा निकालेको छ । लिग चरणमा गुजरातले अझै १ खेल खेल्न बाँकी छ ।

गुजरातले लिग चरणको अन्तिम खेल बैंगलोरसँग खेल्नेछ । १२ खेल खेलेको हैदराबाद भने ८ अंकसहित तालिकाको नवौं स्थानमा छ । हैदराबादले ४ जित र ८ हारको नतिजा निकालेको छ । गुजरातसँगको हारपछि हैदराबादको प्लेअफ चरणमा पुग्ने सम्भावना समाप्त भएको छ ।

जारी आईपीएलको लिग चरणबाटै बाहिरिने हैदराबाद दोस्रो टोली हो । यसअघि दिल्ली क्यापिटल्स पनि लिग चरणबाटै बाहिरिइसकेको छ । यद्दपि, हैदराबादले लिग चरणमा अझ २ खेल खेल्न बाँकी छ । बाँकी खेलमा हैदराबादले अब बैंगलोर र मुम्बईको सामना गर्नेछ ।

सोमबार रातिको खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो ।

गुजरातको जितमा ओपनर ब्याट्सम्यान सुवमन गिलले सतकीय पाली खेले । उनले १ सय १ रन बनाएका थिए । म्यान अफ दि म्याच घोषित गिलले ५८ बलको सामना गरी १ छक्का र १३ वटा चौका पनि प्रहार गरेका थिए ।

अर्का ओपनर ऋद्धिमान शाह भने शून्य रनमै पेभेलियन फर्किएका थिए । त्यसपछि गिल र तेस्रो नम्बरमा क्रिज समाल्न आएका साई सुदर्शनले टोलीका लागि १ सय ४७ रनको साझेदारी गरेका थिए । साई सुदर्शनले पनि टोलीका लागि ४७ रनको योगदान गरे । उनले ३६ बलको सामना गरी १ छक्का र ६ चौका हिर्काए ।

हैदराबादका बलर भुवनेश्वर कुमार एक्लैले ५ विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादका लागि हेनरिच क्लासेनले ६४ रन बनाए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । विकेटकिपर ब्याट्सम्यान हेनरिचले ४४ बलको सामना गरी ३ छक्का र ४ चौका हिर्काएका थिए ।

त्यसअघि हैदराबादका माथिल्ला ४ ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । माथिल्ला ४ ब्याट्सम्यान १० रनभन्दा अगाडि बढ्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान भुवनेश्वर कुमारले २७ रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो ।

गुजरातका बलर मोहम्मद सामीले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए । मोहित शर्माले पनि ४ विकेट हात पारे । उनले पनि ४ ओभर बलिङ गर्दै २८ रन खर्चिएका थिए । अर्को एक विकेट भने यश दयालले लिए ।