गुल्मीमा मदिरा बिक्री समय दुई घण्टा मात्रै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गुल्मीमा मदिरा बिक्री समय दुई घण्टा मात्रै



गुल्मी, २८ भदौ । धुर्कोट गाउँपालिकाले साँझको २ घण्टा मात्र मदिरा बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गर्दै कुनै घर पसलहरूमा साँझ ६ बजेदेखि ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको हो ।

गाउँपालिकाले तोकेको समयभन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाइए स्थानीय सरकारले जरिवाना गर्ने र तथा पसलसमेत बन्द गरी दिने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपाल पोखरेलले जानकारी दिए । समाजमा ‘विकृति विसंगतिको प्रमुख कारण मदिरा रहेको पाइयो’, प्रमुख पोखरेलले भने– ‘यसर्थ धुर्कोट गाउँपालिकाभित्र मदिरा बिक्री वितरणमा कढाइ गरिएको हो ।’

उनका अनुसार पालिकाभित्र कम र सीमित पसललाई मात्र मदिरा बिक्री वितरण गर्नका लागि अनुमति दिइने निर्णयसमेत केही समयपछि गर्ने तयारी रहेको बताए ।

गाउँपालिकाले यस अगाडि खरका छानारहित धुर्कोट बनाउने, आधुनिक र आयमूलक कृषि उत्पादनलाई जोड दिने, गरिब किसानहरूलाई अनुदानको व्यवस्था गर्दै गरिबीबाट मुक्त गाउँपालिका बनाउनेलगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको थियो ।

धुर्कोट गाउँपालिकाले सडक, पर्यटन, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत आफ्नै रेडियो सञ्चालन गर्ने योजनाहरूसमेत गाउँ सभाले पास गर्दै कार्यान्वयनको चरणमा रहेको प्रमुख पोखरेलले बताए ।