प्रचण्डविरुद्ध चुनावमा उठ्ने गुरु घिमिरेको चेतावनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डविरुद्ध चुनावमा उठ्ने गुरु घिमिरेको चेतावनी



काठमाडौं- नेपाली कांग्रेसमा एकपक्षले विद्रोहको चेतावनी दिइरहेको छ भने अर्को पक्षले उनीहरूलाई अनुशासनको कारबाही गर्ने भन्दै धम्क्याएको छ । चुनाव नजिकिँदै गएका बेला यस्ता गतिविधिले पार्टीभित्र तनाव उत्पन्न भएको छ ।

यस्तैमा कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध चुनाव लड्ने बताएका छन् । उनले माओवादीले कांग्रेसको भाग खोसेको खण्डमा स्वतन्त्र उम्मेदवारी दिएर माओवादी हराउन लाग्ने उनले बताएका छन् ।

कांग्रेसको भाग खोसेर माओवादीलाई दिने हो भने देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार उठेर उनीहरूलाई हराउन लाग्ने घिमिरेले बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै शेखर कोइराला समूहको नेता घिमिरेले यदि मोरङ क्षेत्र नम्बर ४ माओवादीलाई दिइए आफू चितवनमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने बताए ।

घिमिरेले भनेका छन्, ‘गठबन्धनको मुख्य घटक एउटा माओवादी हो । सीट बाँडफाँट गर्दा जुन आधार अपनाइएको छ यसबाट हामीमाथि अन्याय हुने देख्यौँ । मै लड्ने तयारी गरेको मोरङ ४ कांग्रेसको वर्चस्व रहेको क्षेत्र माओवादीलाई दिने सहमति भयो रे । यसरी कांग्रेसको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न किन नजाने रु उहाँले हाम्रो भाग खोस्नुहुन्छ भने उहाँसँगै लड्ने जाने हो ।’

घिमिरेले १४ गते सम्म समानुपातिक सूची सच्याउने अल्टिमेटम दिइएको र त्यसबीचमा सहमति नभए विद्रोह हुने बताए । उनले त्यो विद्रोह देशव्यापी हुने चेतावनी समेत दिए । उनले आफूहरूको खबरदारी शेरबहादुर देउवालाईमात्र नभएर सबै पदाधिकारी तथा शेखर कोइरालालाई पनि भएको बताए ।