कुनै पनि सरकारी सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कुनै पनि सरकारी सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा



काठमाडौं- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । गण्डकी सरकारले पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको बेला उनले यस्तो घोषणा गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकले आइतबार यस्तो ऐन बनाउने निर्णय गरेको थियो । पहिलो निर्णय नै सेवासुविधा सम्बन्धी गरेको भनेर सरकारको आलोचना भइरहेको छ ।

यसैबीच निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले दिने त्यस्तो सुविधा नलिने भएका छन् ।

मुख्यमन्त्री हुँदा गुरुङकै सचिवालयमा प्रेस संयोजक रहेका विक्रम न्यौपानेले पूर्वमुख्यमन्त्रीको हैसियतमा पृथ्वीसुब्बा गुरुङले कुनै सुविधा नलिने सार्वजनिक गरेका छन् ।

`माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ,´ न्यौपानेले भने, ´उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनु हुने छैन ।´

नवगठित सरकारले जनताको सुविधामा ध्यान दिनुपर्छ भन्ने चाहना निवर्तमान मुख्यमन्त्री गुरुङको रहेको न्यौपानेले बताएका छन् ।