मुलक नै नबच्ने अवस्था आएको छ:पूर्वराजा ज्ञानेन्द्र शाह - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुलक नै नबच्ने अवस्था आएको छ:पूर्वराजा ज्ञानेन्द्र शाह



काठमाडौं, २७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलक नै नबच्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । २९५औं पृथ्वी जयन्तीका अवसरमा उनको सम्झनामा जारी सन्देशमा शाहले आफू राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको समेत बताएका छन् ।

‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहिआएको यस मुलुकमा तत्कालिक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं, तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं ।’

उनले देश कसैको क्रीडास्थल नभएको र हुन पनि नसक्ने बताएका छन् । ‘देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रहिआएको छ’, सन्देशमा भनिएको छ ।

देशभाथि संकट आइपर्दा कसरी एकताबद्ध हुन्छन् भन्ने उदाहरण बन्नुपरेको उल्लेख गर्दै शाहले राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको बताएका छन् ।

‘चारवर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौम सत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन्,’ शाहले भनेका छन् ।

उनले भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयाससमेत भइरहेको उल्लेख गरेका छन् । विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत भएको र यस्तो दुखद र विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनैपर्ने उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरूप राष्ट्रियता प्राप्त भएको स्मरण गरेका छन् ।

उनले सन्देशमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वानसमेत गरेका छन् ।  खबर आजको राजधानी दैनिकमा  छापेको छ ।