प्रदीप ज्ञवालीको चेतावनी: एमालेबिना एमसीसी पास गरेर देखाउ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रदीप ज्ञवालीको चेतावनी: एमालेबिना एमसीसी पास गरेर देखाउ



काठमाडौं- नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसद्‍बाट एमसीसी पास गर्न चुनौती दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरण सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसद्‍बाट पास गर्न चुनौती दिएका हुन्। विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्नसमेत उनले उठाए।

उनले सम्झौता सही थियो भने संसद्‍बाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे। एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसद्‍मा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे।

उनले भने, ‘त्यो सम्झौता ठीक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔँ भनेकै हो। किनभने दुई देशबीचको सम्झौताहरु भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यै पनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैनन्। सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो। अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडि बढाऔं भन्दा आगो बाल्नुभो उहाँहरुले। सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली। सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु। यदि त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईंहरुले? यदि सही थियो भने त्यसलाई पास हुनबाट रोक्नुभो किन तपाईंहरुले? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ। आज उहाँहरुसँग संख्या छ उहाँहरुले अगाडि बढाउने हो भने अगाडि बढाए हुन्छ। जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामिले आफ्नो पोजिसनहरु क्लियर गरौँला।’

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउन नहुने बताए। यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ। उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सिमा समस्या नै नभएको चीनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए।

उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने। त्यहाँ पहल नगर्ने। जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सिमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालिसक्नुभो उहाँहरुले। यो नियमित अनुगमन त होइन। पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ।’

नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए।