माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला सत्य होइन- प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • १९ माघ २०७९, बिहीबार
  •      Thu Feb 2 2023

माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला सत्य होइन- प्रदीप ज्ञवाली



काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला सत्य नभएको बताएका छन् । केहीदिनदेखि नेकपा एससँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलिरहेको छ ।

उनले अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तारमा मात्र सीमित भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले संकटका बेला पार्टीलाई साथ दिएका नेता-कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नगर्ने भन्दै आश्वस्त पारेका छन् ।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन’, उनले लेखेका छन् ।

इतिहासका केही घटना बिर्सन नसकिने र बिर्सन नहुने खालको हुने ज्ञवालीको भनाइ छ ।