अध्यक्ष पद टुंगियो: प्रधानमन्त्रीमा हलो अड्कियो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अध्यक्ष पद टुंगियो: प्रधानमन्त्रीमा हलो अड्कियो



काठमाडौं- एक–अर्काप्रति चरम अविश्वास र आक्रोशमा उत्रेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो दुई दिन एकले अर्कालाई आफ्ना कुरा सुनाउँदैमा बितेको छ । तर, अविश्वास चुलिएर पार्टी एकता भंग हुने अवस्थामा पुग्नुका कारणबारे पालैपालो धारणा राखेर आ–आफ्नो ‘बटमलाइन’ सुनाउनेबाहेक छलफल ठोस सहमतिउन्मुख भने भइसकेको छैन । सोमबार ओलीले र मंगलबार प्रचण्डले आफ्ना कुरा खुलेर राखेको शुरोजङ्ग पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।

ओली र प्रचण्डबीच दुई दिनदेखि जारी ‘वान अन वान’ वार्ता पार्टी एकतासँगैको सहमति कार्यान्वयनवरिपरि केन्द्रित भएको छ । ओली र प्रचण्ड दुवैजना गहिरो छलफलबाट समस्याको निकास दिन भने सहमत हुँदै गएको नेताहरूको भनाइ छ । उनीहरूका अनुसार दुवैले पार्टी एकीकरणका क्रममा २ जेठ ०७५ को पाँचबुँदे सहमति र ४ मंसिर ०७६ मा भएको अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णयकै जगबाट समाधान खोज्ने गरी छलफल केन्द्रित गरेका छन् । ती दुई सहमतिबीचमा नयाँ सहमतिको विकल्पमाथि पनि दुवै नेताबीच छलफल भएको छ ।

अहिलेसम्मको छलफलमा पालैपालो अविश्वास चुलिएर एकता भंग हुने तहसम्म पुग्नुको कारणबारे प्रस्ट्याउनेबाहेक निकासका विकल्पमा गहिरोसँग अझै संवाद अघि नबढेको सचिवालयका एक नेताले बताए । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको करिब दुई घन्टाको छलफलमा अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालन दुवैतिर सफल नेतृत्व गर्न नसकेका कारण सहमतिका लागि पद त्याग गरेर ओलीले निकास दिनुपर्ने ‘बटमलाइन’ सुनाएका छन् । सोमबार भने ओलीले एकीकृत पार्टीको मर्म र भावना तथा विधि र प्रक्रियाविपरीत गुटबन्दी गरेर हटाउन खोजेका कारण प्रतिक्रियात्मक कदम चाल्नुपरेको प्रस्टीकरण दिएका थिए ।

‘मंगलबारको छलफलमा प्रचण्ड कमरेडले उहाँ (ओली)को नेतृत्वमा पार्टी सञ्चालन हुन नसकेको, सरकार पनि असफल र बदनाम हुँदै गएको, एकताका क्रममा भएका सहमति पनि उल्लंघन गर्दै गएकाले कुनै एक पद त्यागेर भए पनि निकास दिनुपर्ने कुरा स्पष्टसँग राख्नुभएको छ,’ प्रधानमन्त्रीसँगको छलफलपछि खुमलटारमा सचिवालयका चार सदस्यलाई प्रचण्डले सुनाएको ब्रिफिङ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘तर, कुनै टुंगोमा नपुगेकाले त्यही ठाउँमा (ओलीले कुनै एक पद त्याग गर्ने कुरामा) अड्किएको छ, दुई दिनसम्म पालैपालो आ–आफ्नो कुरा राख्नेबाहेक नयाँ केही प्रगति भएको छैन ।’

आइतबार महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका ओली र प्रचण्ड सोमबारदेखि भने ‘वान अन वान’ छलफलमा छन् । पहिले एकल वार्ता प्रगतिउन्मुख भएपछि आवश्यकताअनुसार वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखेर थप छलफल गर्ने उनीहरूको समझदारी छ ।

दुई दिनको छलफलमा ओलीले ४ मंसिरको सहमति अनुसार बैठकको अध्यक्षतादेखि निर्णय प्रक्रिया र पार्टीलाई परिचालन गर्ने सन्दर्भमा थप परिभाषित गरी कार्यकारी जिम्मेवारी लिन जोड गरेका छन् । तर, प्रचण्डले भने पार्टी एकताका क्रममा २ जेठको सहमतिअनुसार आलोपालो नेतृत्वका लागि प्रधानमन्त्री पद त्याग्न जोड गरिरहेका छन् । सहमतिका लागि दोस्रो तहबाट महासचिव पौडेलसहितले आन्तरिक परामर्श गरेर अनौपचारिक हिसाबले विकल्प पनि प्रस्तुत गरेका छन् । मंगलबारको ओली र प्रचण्ड छलफलअघि उनले दुवैलाई भेटेर छलफललाई फलदायी बनाउन सहजीकरण गर्ने प्रयास गरेका थिए ।

बुधबार बिहान पुनः छलफल गरेपछि सकभर स्थायी कमिटी बैठक चलाउने दुवै अध्यक्षले समझदारी गरेका छन् । तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने स्थायी कमिटी बैठक चलाउने भनिए पनि बुधबार बिहान दुई अध्यक्षबीचको छलफलले नै अन्तिम टुंगो लगाउने बताए । ‘बुधबार बिहान सरसल्लाह गर्ने र त्यसपछि बैठक के गर्ने भन्ने उहाँहरूले समझदारी गर्नुहुने, तर अहिलेसम्म स्थायी कमिटीको बैठकचाहिँ यथावत् नै छ,’ श्रेष्ठले भने ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले समस्या समाधान गर्ने गरी नै दुई अध्यक्षबीच छलफल जारी रहे पनि वार्ताको प्रगतिबारे आफू जानकार नभएको बताए । ‘मंगलबार बिहानको छलफलअघि केहीबेर दुवै अध्यक्षसँग भेट भएको थियो, उहाँहरूलाई सफलताका लागि शुभकामना दिएर निस्किएँ, तर छलफल प्रगतिउन्मुख भयो कि भएन कुरा हुन नपाएका कारण थप केही जानकारी छैन,’ नेम्वाङले भने ।

ओलीसँग छलफल सकिएपछि मंगलबार साँझ वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले छलफल प्रगतिउन्मुख नभएको ब्रिफिङ गरेका थिए । ओलीसँगको छलफलअघि प्रचण्डले वरिष्ठ नेता नेपालसँग निवासमै बेग्लै परामर्श गरेका थिए ।

१० असारमा सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पार्टी विवाद चुलिएपछि स्थगित छ ।

सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन सक्दैन : बादल

गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदसँगको मंगलबारको भेटमा पार्टीभित्र अन्तरविरोध चुलिँदै जाँदा गृहमन्त्री बादलले त्यस सन्दर्भमा आफ्नो पछिल्लो ‘पोजिसन’ स्पष्ट पारेका हुन् ।

अहिलेको अवस्थामा सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तन गर्ने कुरा पार्टी एकताको भावना र मर्मविपरीत प्रतिक्रान्ति हुने धारणा राखेको प्रमुख सचेतक भट्टराईले दाबी गरे । ‘अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्नु भनेको प्रतिक्रान्तिलाई निम्त्याउनु हो, अहिले सरकार गिराउनुहुँदैन, पार्टी नेतृत्व पनि परिवर्तन हुँदैन,’ भेटमा गृहमन्त्री बादलको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘पार्टीभित्र गम्भीर आन्तरिक समस्या छ, तर यसको समाधान भनेको गत २० वैशाखमा सचिवालयले जे निर्णय गरेको छ, त्यही निर्णय कार्यान्वयन गरेर जाने र सहमतिलाई स्पष्ट पार्ने कुरा नै हो, कसैलाई निषेध गरेर समाधान सम्भव छैन भन्ने उहाँको धेरै स्पष्ट धारणा रहेछ ।’

उनले बादलले त्यही विचार आफूले स्थायी कमिटी राख्ने जानकारी गराएको पनि बताए । ‘उहाँले झम्सिखेल बैठक र अध्यक्ष प्रचण्डले छलफलका लागि बोलाउँदा जाने गरे पनि पार्टीभित्रका गुटहरूले आफ्ना विषयमा आफ्नो सहजताअनुसार कुप्रचार गर्ने गरेको भनाइसमेत राख्नुभएको छ,’ भट्टराईले भने ।

यद्यपि, गत १६ असारमा झम्सिखेलको एक रेस्टुरेन्टमा आयोजित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ३० नेताहरूको भेलामा भने बादल पनि सहभागी थिए । त्यसयता उनी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा हुने ६ जना बहुमत सचिवालय सदस्यहरूको छलफलमा पनि निरन्तर सहभागी हुँदै आएका छन् ।

‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन, उपलब्धि जोगाउन अहिलेको नेतृत्वबाट सम्भव छैन, बदल्नुपर्छ,’ झम्सिखेल भेलामा बादलको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भनेका थिए, ‘अहिलेको लडाइँ गुटबन्दीका विरुद्ध पार्टी, प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको हो, यो हासिल गर्न पार्टी र सरकारमा नयाँ नेतृत्व चाहियो ।’

भेटमा भट्टराईसहित राष्ट्रिय सभामा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरू सुमनराज प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपती ल्वार सहभागी थिए । भट्टराईसहितको टोलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि भेटेर विभाजन रोक्ने पहलका लागि अगुवाइ गर्न आग्रह गर्ने तयारी गरेको छ ।

२० वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले पार्टी र सरकार सञ्चालनका क्रममा अहिलेसम्मका कमजोरीबारे आत्मालोचना गरेपछि अबदेखि विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यता र पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस निर्णयसँगै नेकपाको शीर्ष तहको विवाद तत्कालका लागि मत्थर भएको थियो ।