अमेरिका लज्जित बनेको दिन: पदकै लागि ट्रम्पले गराए संसद भवनमै आक्रमण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अमेरिका लज्जित बनेको दिन: पदकै लागि ट्रम्पले गराए संसद भवनमै आक्रमण



एजेन्सी- निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुले अमेरिकी प्रजातन्त्रको मन्दिर मान्ने गरेको संसद भवन क्यापिट हिलमै आक्रमण गराए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । अमेरिकी प्रजातन्त्रमा जनवरी ६ को सन्ध्या कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो ।

जसको सर्वत्र निन्दा र भर्त्सना शुरु भएको छ । राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गरेका हुन् ।

राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्राहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन् ।’

राष्ट्रलाई सम्बोधन गर्दै उहाँले ट्रम्प समर्थक भिडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गर्दै यो ‘अति भएको’ टिप्पणी गरे ।

क्यापिटल भवनमा केही व्यक्तिले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिस भएको र यो देशद्रोह हो, उनको निचोड थियो ।

उपराष्ट्रपति माइक पेन्सले यो हिंसा खप्न नसकिने भन्दै जो जो संलग्न छन् तिनलाई सख्त कारबाही गरिने चेतावनी दिँदै भने, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजायँ दिइनेछ ।’

सिनेटर चक शूमरले यस घटनालाई एक अन्तिम, भयानक र अमिट विरासतको संज्ञा दिँदै भनेका छन्, ‘६ जनवरीलाई अब हामी अमेरिकी इतिहासको सबैभन्दा बदनामीका रुपमा चिनिने सूचीमा जोड्न सक्छौं ।’

प्रजातन्त्रका लागि पवित्र यस मन्दिरमा रहेका निर्वाचित प्रतिनिधिहरु आफ्नो ज्यान जोगाउनकै लागि भागम्भाग गरिरहेको दृश्य संसारले देख्नपर्नु गम्भीर लज्जाको विषय भएको उनले वताएका छन् ।

यो अमेरिकालाई एक धब्बा भएको भन्दै शूमरले यो त्यति सजिलै धुन नसकिने र ४५औं अमेरिकी राष्ट्रपतिको एक अन्तिम, भयानक, अमिट विरासत पक्कै पनि हामी सबैका लागि खराब भएको टिप्पणी गरेका छन् ।

ट्रम्पको यी उग्र आक्रमणकारी जत्था प्रदर्शनकारी नभई ‘घरेलू आतंकवादी’ भएको र यिनले अमेरिकाको प्रतिनिधित्व गर्न नसक्ने पनि उनले उल्लेख गरे।

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आक्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । त्यसक्रममा एक जना मारिएका छन् ।

संसद सदस्यहरुले गत नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न लागेकै बेला ट्रम्पका हतियारधारी जत्थाले संसद भवन परिसरमा प्रदर्शन र आक्रमण थालेका थिए ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर आक्रमण मात्र गरेनन, उनीहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे ।

ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन् ।

ट्रम्पले आफ्ना समर्थकलाई घर फर्किन आग्रह गरेका छन् भने सभामुख पेलोसीले बुधबार राति संसद चल्ने प्रष्ट गरेकी छन्।

उग्र हतियारधारी ट्रम्प समर्थक जत्थाले अवरोध गरेपछि केही समय इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रमसमेत केही समय रोकिएको थियो ।

झण्डै तीन घण्टा हतियारधारी ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिएका थिए । सुरक्षाकर्मीले सांसदहरुलाई भवनबाट निकाल्नु परेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको हर्कतलाई विद्रोही गतिविधिको संज्ञा दिएका छन् ।