शेयर कारोबारका डनले अर्थमन्त्री र अर्थविदलाई ढलाए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शेयर कारोबारका डनले अर्थमन्त्री र अर्थविदलाई ढलाए



चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरे।

९६१०६ मत खसेको यस क्षेत्रबाट ढकालले ३४१८९ भोट ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन्।

३९ वर्षीय ढकाल १५ वर्षदेखि सेयर कारोबारमा सकृय रहँदै आएका थिए। उनले आर्थशास्त्रीको पहिचान बनाएका दुई प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराए। ढकालले पाण्डेले भन्दा ७५८१ बढी मत पाए।

रत्ननगर पिठुवाका ढकालको परिवार २०१५ सालमा गोरखाबाट बसाइ सरेको हो। त्यसैले उनी र उनको परिवार लामो समयदेखि यहाँको बासिन्दा हो। मध्यमवर्गीय परिवारका ढकाल एमाले पृष्ठभूमिका व्यक्ति हुन्। उनी एमाले विद्यार्थी संगठन अनेरास्ववियुको चितवन सचिवसमेत बनेका थिए।

२०७४ को चुनावमा समेत उनी रत्ननगर नगरपालिका र चितवन क्षेत्र नम्बर १ मा एमालेलाई जिताउन सक्रियतापूर्वक लागेका थिए। उनै ढकालले अहिले एमालेबाट दुई पटक निर्वाचित सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन्।

ढकालका चुनाव प्रचार संयोजक दिपक गौतमका अनुसार उनले एमालेको सरकारमा अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारबारे लिएको नीतिका कारण एमाले छाडेका थिए। खतिवडाको सेयर बजारप्रति नकारात्मक धारणाका कारण सेयर बजारमा त्यतिखेर समस्या आएको उनको भनाइ छ। सेयर बजारमा समस्या आउँदा ढकाल आमरण अनसनसमेत बसेका थिए।

यसअघि स्थानीय निर्वाचनमा ढकाल काठमाडौं महानगरका मेयर बालेन शाहको अभियानमा सक्रिय थिए। त्यही बेलादेखि उनी वैकल्पिक राजनीतिप्रति आकर्षित भएका हुन्।

रत्ननगर २०५४ सालदेखि नै एमालेको गढका रूपमा स्थापित थियो। २०७४ मा पनि यहाँ एमालेले नै जितेको थियो। त्यो बेला पनि एमालेलाई जिताउन ढकाल चुनावमा खटेका थिए।