गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको हात नै भाँचिदिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको हात नै भाँचिदिए



काठमाडौं-शिक्षकको कुटाइबाट सिरहामा एक विद्यार्थीको हात भाँचिएको छ । सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत कक्षा ६ का १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो ।

सिरहा नगरपालिका– २ बसविट्टनका यी बालकलाई गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबार निर्घात कुटपिट गरी बालकको हाँत भाँचिएको उनका आफन्तले बताए ।

उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन, शिक्षकलाई पनि यही कुरा भनें, तर उहाँले सवैको गृहकार्य चेक गरिसकेपछि मलाई लठ्ठिले हाने, मेरो हात भाँचियो ।’

‘मैले नकुट्न आग्रह गर्दा पनि शिक्षकले सुन्दै सुन्नुभएन, मलाई लाठीले कुटेको कुट्यै गर्नुभयो’ रितिकले सुनाए ।

रितिक ६ वर्षदेखि स्वस्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए ।

घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घटना भइसकेको छ, यसमा मैले अब के भन्ने ? भन्दै आफूसँग घटनाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।

उनले आफूले विद्यालय चलाउन धेरै मेहनत गरेको भन्दै यसलाई एउटा दुर्घटनाको रुपमा लिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका देवकुमार यादवले बालबालिकालाई यसरी मरन्नासन्न हुनगरी कुटपीट गर्नु अपराध भएको बताउँदै यस्ता अपराधी शिक्षकलाई कार्वाही गर्नुपर्ने बताए ।

बालकका ठूलोबुवा समेत रहेका यादवले बालबालिकालाई गाई बाख्रालाई जस्तो गरी हातै भाँचिउन्जेल कुटपिट गर्ने त्यो विद्यालय नभएर यातना गृहजस्तो भएको आरोप लगाए उनले घटनामा संलग्न शिक्षकलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् ।