तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु -श्रीमानबाटै हत्या भएको आरोप - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु -श्रीमानबाटै हत्या भएको आरोप



बुटवल -रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु भएको छ । तिलोत्तमा वडा नम्बर २ स्थित जानकीनगर बस्ने २९ वर्षिय अमृता खत्रीको बुधबार हत्या पछि मृत्यु भएको भन्दै माइती पक्षले आरोप लगाएको छ ।

सोही घटनालाई लिएर दोषी उपर सजायको माग गर्दै माइती पक्ष र स्थानीयले केटापक्षको घर घेराउ गरेका छन् । राती करिब १० : १५ बजे घर पक्षले माइती पक्षलाई फोनमार्फत अमृताले विष सेवन गरेर मृत्यु भएको भन्दै जानकारी गराएको थियो । अमृता खत्री र प्रेम टण्डनको ५ वर्ष अघि विवाह भएको थियो ।

घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुस्प खत्रीले आरोप लगाएका छन् । श्रीमान् प्रेम टण्डन, सासु दिपा टण्डन, ससुरा टल सिंह टण्डनले योजनाबद्ध रुपमा अमृताको हत्या गरेको पुस्प खत्रीको भनाइ छ । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेको बताए ।

राती करिब ९ :३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाई मलाई बचाउनुहोस, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् । ‘करिब १०ः१५ बजे बहिनीको विष सेवन गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको खवर मैले पाएको थिए अमृताका दाजु खत्रीले भने । ’ परिवारकै मिलोमातोमा बहिनीको हत्या भएको भन्दै सत्यतथ्य खोजी दोषीलाई कानूनी दायरामा ल्याउन खत्रीले अपिल गरेका छन् ।

माइती पक्षका आमा सावित्रा खत्रीले आफनो छोरीको हत्या घरपरिवारले नै गरेको दावी गरेकी छन् । पहिलादेखि नै ज्वाइले छोरीलाई कुटपिट गर्दै आएको र मिलमिलाप गराउन वडा कार्यालयसम्म पनि पुगेको आमा सावित्रीको भनाइ छ ।

परिवारले नै हत्या गरेको स्थानीय लक्ष्मण शर्माले आरोप लगाएको छन् । करिब ५ वर्ष देखि घरपरिवारले अमृतालाई यातना दिदै आएको शर्माले बताएका हुन् । निष्पक्ष छानबीनको माग गर्दै दोषीलाई कानूनी उपचारमा लैजान स्थानीय शर्माले आग्रह गरेका हुन् ।

यता, रुपन्देही प्रहरीले घटनाको विषयलाई लिएर प्रारम्भिक रुपमा अनुसन्धान सुरु गरेको छ । घटना कसरी घट्यो, कस्ले घटायो भन्ने अवस्था अहिले नै नरहेको र पोष्टमार्टमको रिर्पोट आएपश्चात वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।