स्वास्थ्य : सचेत रहौँ ह्रदयाघातबाट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्वास्थ्य : सचेत रहौँ ह्रदयाघातबाट



– विकलचन्द्र आचार्य

हालैका दिनहरूमा यसरी ह्रदयाघातको कारणबाट अकालमा ज्यान गुमाउने  या पीडित हुने क्रम बढ्दो छ । “मलाई के हुन्छ र ?”  भन्ने मनस्थितिलाई त्यागेर “रोग जुनबेला जसलाई पनि लाग्न सक्छ” भनि स्वास्थ र जीवनशैली सम्बन्धी न्यूनतम ज्ञान राखेर मनन गर्न जरुरी छ । सामान्य रोगको लक्षण बारे थाह नपाउनु या बेवास्ता गर्नु, अस्पताल जान या अरूलाई भन्न सङ्कोच मान्नु जस्ता कुराहरूले जीवन नै जोखिममा रहनसक्छ भन्ने कुरालाई सबैले बुझ्नुपर्छ ।

अकस्मात छाती दुखिरहेको र त्यो दुखाइ घाँटी, गर्दन, पाखुरातिर सरिरहेको, श्वास फेर्न गाह्रो जस्तो भएमा तुरुन्त एम्बुलेन्स बेलाउनु पर्छ । मुटुरोगका जोखिम जस्तै धूमपान गर्ने, उच्च रक्तचाप, मधुमेह, उच्च रगत कोलेस्ट्रोल, परिवारको इतिहासमा मुटुरोग भएको व्यक्तिले शङ्कामा नबसी उपलब्ध रहेको एम्बुलेन्स सेवा बोलाउने या नजिकको अस्पताल सकेको चाडै पुग्नुपर्दछ ।

धेरै मान्छेहरू अस्पताल नै नगई अकालमा हृदयाघातबाट मरेपछि बेलायती सरकार र गैर सरकारी संस्थाहरूले “छाती दुखेको बेवास्ता नगरौ” भनी धेरै नै बिज्ञापन गरी मानिसहरूलाई अस्पतालमा जान उत्साहित गरिरहेका छन् । छाती दुखेको व्यक्तिलाई प्राथमिकताको साथ अस्पतालमा उपचार गरिन्छ ।

के हो हृदयाघात ?

मुटुले शरीरमा रगत पम्प गर्दछ यद्यपि मुटुको मांसपेशी आफैँलाई रगतको आपूर्ति चाहिन्छ । स्पेसल रगतको भेसलको नेटवर्कलाई कोरोनरि आर्टरी भनिन्छ । यहाँ दुईवटा शाखाहरू हुन्छन् जुन मुटुको सतहमा रहन्छ र ३–४ मिलिमिटर  फराकिलो हुन्छ, यिनीहरू सानोसानो भेसलमा विभाजन भई नेटवर्क बनाइन्छ जसले मुटुमा अक्सिजन आपूर्ति गर्दछ ।

कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेसीलाई आपूर्ति गर्नु हो । कोरोनरी मुटुरोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरू मा विस्तारविस्तार चिल्लो जम्मा भई साँघुरो बनाइन्छ । यो अवस्थालाई आर्थलोसोलोशिस भनिन्छ र चिल्लो जम्मा भएकोलाई आर्थोरोमा भनिन्छ ।

समयमा आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत (जस्तो व्यायाम गर्दामा) पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पीडा हुन्छ । यही दुखाइ या असजिलो हुनुको कारणलाई एन्जाइना भनिन्छ ।

जव आर्थोरोम अस्थिर बन्न पुग्छ, यो टुट्नसक्छ र रगत जम्ने हुनसक्ने  बनाउन सक्छ  । यदि रगत जमेकोले कोटोनरी आर्टरी बन्द गर्छ भने मुटुको मांसपेशी अक्सिजन र रगत नपाएर त्यसै  रहन्छ  र सधैँका लागि नोक्सान हुन सक्छ । यसलाई हृदयाघात भनिन्छ । हृदयाघातको अवधिमा जीवन नै जोखिम हुन मुटुका रिदमहरूको विकास हुन सक्छ । त्यसैकारणले हृदयघातलाई मेडिकल इमर्जेन्सीका रूपमा उपचार गरिन्छ ।

हृदयाघातका लक्षणहरू

हृदयाघातको लक्षण छातीको बीच भागमा एकदम दुख्नेदेखि छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव हुन्छ । दुखाई चाहिँ एकदम गरुङ्गो वा कसिएको हुन्छ र पाखुरा, घाँटी, गर्धन, पछाडि या पेटमा पनि सर्न सक्छ । घाँटी, बङ्गारा, पाखुरा या पेटमा मात्रै असर गर्न सक्छ । हृदयघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुङ्गो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयाघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् । हृदयाघातले मुटुको रिदम गडबड हुने पनि हुन सक्छ ।

कहिलेकाहिँ हृदयाघात ‘शान्त” हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेहरूलाई छाती दुख्‍न यति कम हुन्छ कि उनीहरू डाक्टरकहाँ जाँदैनन् । अरू मेडिकल टेस्ट गर्दामा धेरै समयपछि थाहा हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयाघात भएको भन्ने पत्ता लाग्दछ ।

कसैलाई हृदयाघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स या अस्पताल पुग्नुपर्दछ । धेरै मानिसहरू एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा पार्छन् । यसर्थ जति सक्दो चाँडो अस्पताल पुग्नुपर्दछ यसले जीवन बचाउन सक्छ ।

हृदयाघात दिन रात जुनसुकै बेलामा पनि हुनसक्छ, काम गरिरहेको बेलामा वा त्यत्तिकै आराम गरेको बेलामा पनि । कहिलेकाहीँ हृदयाघात शारीरिक श्रम गर्ने बानी नभएको मानिसले धेरै शारीरिक श्रम गर्दा पनि हुनसक्छ।

अहिलेसम्म निश्चित रूपमा थाहा छैन कि किन हृदयाघात वा अस्थिर इन्जाइना कहिले हुन्छ भनेर । तर यस्तो घटना धेरै वर्षको परिणाम हुन सक्छ।

हृदयाघात भएपछि मुटुलाई के हुन्छ ?

हृदयाघात भएपछि तपाईंको शरीरले नोक्सान भएको मुटुको मसल ठाउँमा खत आउँछ। यो गर्नलाई केही दिनदेखि महिनौँ लाग्दछ ।

दुई तीन महिनाभित्रमा हृदयाघात भएका बिरामीहरूको मुटुले हृदयाघात हुनुभन्दा पहिलेको जस्तै गरी काम गर्दछ, तर कोही बिरामीहरूको मुटुको मसल यति धेरै बिग्रेको हुन सक्छ कि मुटुले पहिलाको जस्तो गरी राम्रोसँग पम्प गर्न सक्दैन । यसले श्वास फेर्न गाह्रो, थकाइ लाग्ने र गोलिगाँठा सुन्निने हुन सक्छ । यस्तो अवस्थालाई हार्ट फेलियर भनिन्छ ।

हृदयाघातलाई आत्मसात गर्दै

हृदयाघात एउटा डरलाग्दो अनुभव हुन सक्छ । यदि तपाईँको स्वास्थ्य अहिलेसम्म भन्दा पहिले एकदम राम्रो थियो भने, यसले अरू भय पैदा गर्न सक्छ । अस्पतालमा आउँदा धेरै मानिसहरू डरको प्रतिक्रिया निकाल्दछन् । अनि मेसिनहरू र अस्पतालको नचिनिदो वातावरणले अरू दु:ख र दर्द बढाउन सक्छ । प्राय: मान्छेहरूलाई जीवनको जोखिम हृदयघात भएको केही घण्टाहरूमा हुन्छ । जब सुरुका केही घण्टाहरू बित्दछन् ।

हृदयाघात भएपछि भय र परिवर्तित भावनाहरू आउनु साधारण कुरा हुन् । हृदयाघात पछि यो अनुभव आउन सक्छ:

–फेरि अर्को हृदयघात हुन्छ कि भन्ने डर

–मर्न देखि डराउनु, अथवा

–पहिलाको जस्तै सक्षम हुन सक्दिन भन्ने पिर

मुटुरोगका जोखिमका तत्वहरू जीवनशैली

मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन तर हामीलाई थाह छ कि केही तत्वहरूले मुटुको रोग लाग्ने सम्भावना बढाउँदछन् । तल भनिएका विभिन्न जोखिमहरूले नै मुटुरोग लाग्छ । यसबाट बच्न आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ।

  • धूमपान : कोरोनरी मुटु रोग लाग्नुका प्रमुख कारणमध्ये धूमपान एक हो, यसले हृदयाघात हुने जोखिमलाई बढाउँदछ । हृदयाघात भइसकेको मान्छेले धूमपान छोडे अर्को हृदयाघात भई मर्ने जोखिमलाई कम गर्दछ ।
  • परिवारमा कोरोनरी मुटुरोगको इतिहास: कोरोनरी मुटुरोग परिवारमा सर्न सक्दछ । आफ्नो परिवारको सदस्य जस्तो बाबु आमा, दाजु, भाइ, दिदी बाहिनी फुपू, मामा, सानीआमा , ठुलीआमालाई यस्तो रोग लागेको छ  भने यसका जोखिमका तत्वहरूलाई निवारण गर्न के गरिएको छ, यो पनि महत्त्वपूर्ण कदम हो ।
  • उच्च रक्तचाप: उच्च रक्तचापले हृदयाघात र स्ट्रोक हुने जोखिम बढाउँदछ र यसले गर्दा मुटुका मांसपेशीलाई क्षति हुन्छ । त्यसकारण समयमा उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्दछ । तपाईंको रक्तचाप १२०/८० भन्दा मुनि हुने उद्देश्य राख्नु पर्दछ।
  • वजन बढी हुनु: स्वस्थ्य वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँदछ, यसले कोलेस्ट्रोल घटाउँदछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउँदछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ, भुँडीवरिपरि ३४” भन्दा कम भएमा जोखिम घट्न सक्छ । यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने हप्ताको १४ युनिट भन्दा कम सेवन गर्नुपर्छ । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ ।(१ युनिट= 25 ml Sprit, Half pint Beer, 125ml wine)
  • चिन्ता: चिन्ताको प्रकृति र अर्थ हरेक मानिसमा फरक हुन सक्छ । एउटा व्यक्तिलाई भएको चिन्ता अर्को व्यक्तिलाई नहुन सक्छ । केही निश्चित मात्रामा चिन्ता हुनु आवश्यक हुन्छ, यसले हाम्रो जीवनमा काम गर्न हौसला र मद्धत पुर्‍याउँदछ । तब समस्या पैदा हुन्छ जव चिन्ता हाम्रो वशबाट बाहिर जान्छ । दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट दूर भएको अवस्था विशेष नै चिन्ताग्रस्त परिवेश हो । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । यसले गलत क्रियाकलाप उक्साहित गर्न सक्छ। जस्तै टेन्सन भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी  पिउनु, अल्छी लाग्यो भनेर सुत्नु आदि।
  • व्यायामको कमी: मुटु मांसपेशी भएकोले यसलाई स्वस्थ्य राख्न व्यायामको जरुरी पर्दछ। जो मानिस शारीरिक हिसाबमा क्रियाशील छैन उसलाई क्रियाशील भएको मान्छे भन्दा दुई गुना बढी मुटुरोग लाग्ने हुनसक्छ । हृदयघात भइसकेको मान्छेलाई क्रियाशील जीवनले बचाउन सक्दछ।
  • उच्च रगत कोलेस्ट्रोल(रगतमा बढी चिल्लो, (Hyperlipidaemia हुनु): रगतमा धेरै कोलेस्ट्रोल भएमा यसले मुटुरोग लाग्ने जोखिम बढाउँदछ । कोलेस्ट्रोल बढाउने मुख्य काम चिल्लो (बोसो) खासगरी जनावरबाट पाइने चिल्लो ले अत्यधिक गर्छ । हृदयघात भएको या कोरोनरी मुटुरोगीको कोलेस्ट्रोल mmoill (mmoi/1 means milliomols per litre) हुनुपर्दछ।
  • अस्वस्थ्यकर खाना: राम्रो प्रमाण देखिएको छ कि फलफूल र सब्जीले मुटुलाई राम्रो गर्दछ । विभिन्न किसिमका फलफूल र तरकारी दिनको घटीमा ५ पोर्सन खानुपर्दछ । तेलयुक्त माछा र ओमोगा -३ सधै खाएमा कोरोनरी मुटु रोगलाई कम गर्न सकिन्छ र हृदयाघात भएका मान्छेलाई बचाउन सहयोग गर्दछ । तेलयुक्त माछामा खास गरी ओमेगा ३ पोलीअनस्याचुरेटेट फ्याट पाइन्छ । हप्ताको दुई पोर्सन यी माछा खाने उद्देश्य राख्नुपर्दछ । तेलायुक्त माछाहरू जस्तै साल्मन , माकेरेल , ट्राउट ,सार्डिन आदि   (१ पोर्सन माछा  = १४२ ग्राम)
  • मधुमेह : मधुमेह ले कोरोनरी मुटुरोग लाग्ने जोखिम प्रबल रूपले बढाउँछ । यदि तपाईं पुरुष हुनुहुन्छ र टाइप २  मधुमेह  छ भने मधुमेह  नभएको मानिसलाई भन्दा तपाईंलाई करिब  ४ गुना बढी मुटुरोग लाग्ने सम्भावना बढ्छ। यदि तपाईँ महिला हुनुहुन्छ र टाइप 2 मधुमेह  छ भने जोखिम अरू बढी हुन्छ । तपाईंलाई ३–५ गुना बढी मुटुरोग लाग्ने जोखिम हुन्छ । मधुमेहले कोलेस्ट्रोल लेभल बढाउने र उच्च रक्तचाप हुने आदि अरू जोखिमका तत्वहरूलाई बढाउन सक्छ ।

हृदयघात भए तल भनिएका लक्षण देखिन्छ :

–       छाती एकदम दुख्ने, एकदम समातिएको जस्तो हुने र एकदम गह्रुँगो हुनसक्छ

–       दुखाई छाती, घाँटी, पाखुरा, गर्दनन, पछाडि, पेटमा हुनसक्छ

तपाईंलाई पसिना आउने, टाउको हलुङ्गो हुने, बान्ता आउने र श्वास लिन गाह्रो हुन सक्छ।

के गर्ने त ?

१)      जे काम गरिरहनु भएको छ, रोक्किने
२)      बस्ने र आराम गर्ने,
३)      यदि GTN Spray छ भने भनिएबमोजिम लिने । यति गर्दा १५ मिनेट भित्रमा पनि दुखाइ नरोकिएमा तुरुन्त एम्बुलेन्स बोलाउने अरू नकुर्ने । यदि GTN Spray छैन भने शान्त भएर १०/१५ मिनेट बस्ने र दुखाइ भइरहेमा तुरुन्त एम्बुलेन्स बोलाईहाल्ने
४)      यदि एस्पिरिनमा एलर्जी छैन भने पाइएको खण्डमा एस्पिरिन ट्याब्लेट ९३० मिलिग्राम  चपाउने,  नभएमा नपाइएमा एम्बुलेन्स नआउन्जेल आरामले बस्ने ।

हृदयघात भएमा तपाईं दुईवटा महत्त्वपूर्ण काम गर्न सक्नुहुन्छ: ‘एम्बुलेन्स बोलाउने र आरामसँग बस्ने’

छाती दुखेको बेवास्ता नगरौँ, मुटुरोगका जोखिमका तत्त्वहरूमाथि ध्यान दिऔँ।  मुटुरोग बाट आफू पनि बाँचौँ , अरूलाई पनि बचाऔँ।  मुटुरोगबाट पीडित मानिसहरूलाई सतर्कता अपनाउन लगाउँदै सामान्य जीवनयापन गर्न प्रोत्साहित गरौँ।

(आचार्य “कोरोनरी मुटुरोग”-२०१०  पुस्तकका लेखक हुन् )