‘हेबीवेट’ नेताबीच रोचक प्रतिस्पर्धा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘हेबीवेट’ नेताबीच रोचक प्रतिस्पर्धा



काठमाडौं ।

एउटै पार्टीमा रहँदा एकले अर्कोलाई स्वीकार नगर्ने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । फरक यति छ, भट्टराईलाई कांग्रेसको साथ छ भने श्रेष्ठ एमालेको सहयोगमा उम्मेदवार बनेका छन् ।

वाम गठबन्धनमा एमालेको सूर्य चिह्न लिएर मैदानमा उत्रने निर्णय गरेका भट्टराईलाई अन्तिम समयमा माओवादी केन्द्रले ‘स्वीकार’ गरेन । र, भट्टराई वाम गठबन्धन छाडेर कांग्रेसको सहयोगमा उम्मेदवार बने ।

जन्मथलो गोरखाबाट चुनावी मैदानमा उत्रेका श्रेष्ठ गोरखा २ नम्बर क्षेत्रलाई प्रतिष्ठाकै विषय बनाएर मैदानमा उत्रिए । गोरखावासी भट्टराई र श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका छन् ।कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राणासँग वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटा मैदानमा उत्रिएका छन् । वाम गठबन्धनपछि कांग्रेसले पनि साना दलसँग तालमेल गरी राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । विगतमा काठमाडौंबाट चुनाव लडेका भट्टराई यसपटक भने गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको हो । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० गते र बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदै छ ।

माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्ति बस्नेतले वाम गठबन्धनका तर्फबाट जाजरकोटमा उम्मेदवारी दर्ता गरेका छन् । राप्रपाबाट एमाले प्रवेश गरेका गोविन्दविक्रम शाहले बस्नेतविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए पनि शाहलाई फिर्ता गराउन प्रयास भइरहेको एमालेले जनाएको छ । बस्नेतविरुद्ध कांग्रेसका निवर्तमान सांसद राजीवविक्रम शाहीले मनोनयन दर्ता गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा कांग्रेसका तर्फबाट ‘हेबीवेट’ मानिएका पूर्वअर्थमन्त्री डा.रामशरण महत र पूर्वमन्त्री अर्जुननरसिंह केसीले नुवाकोट १ र २ मा उम्मेदवारी दिएका छन् । नुवाकोटमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले मिलेर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । महत विरुद्ध माओवादीका हितबहादुर तामाङ र केसीविरुद्ध एमालेका नारायणप्रसाद खतिवडाले उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता बलबहादुर केसीले सोलुबाट उम्मेदवारी दिएका छन् भने कांग्रेसका निवर्तमान प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गोरखा-१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । वाम गठबन्धनमा सक्रिय भूमिका खेलेका माओवादी केन्द्रका नेता एवं निवर्तमान गृहमन्त्री जनार्दन शर्मा (रुकुम पश्चिम) बाट उम्मेदवार बनेका छन् ।

पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दिएका छन् । सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहन बस्नेतले सिन्धुपाल्चोक १ बाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट एमालेका निवर्तमान सांसद शेरबहादुर तामाङ उम्मेदवार बनेका छन् ।

यसैगरी, पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटबाट उम्मेदवारी दिएका छन् । कांग्रेसका दिलबहादुर घर्ती लमजुङ र भीष्मराज आङदम्बे पाँचथरबाट उम्मेदवार बनेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

लम्जुङमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता देव गुरुङले उम्मेदवारी दिएका छन् । एमालेले निवर्तमान सांसद यज्ञराज सुनुवार ओखलढुंगा, पार्वत गुरुङ दोलखा, जनार्दन ढकाल रसुवा, विशाल भट्टराई खोटाङ, दामोदर भण्डारी वैतडी र गणेश ठगुन्नालाई दार्चुलाबाट पुनः उम्मेदवार बनाएको छ । कांग्रेसका युवा नेता रामहरि खतिवडा ओखलढुंगा र भूपेन्द्र शाही कालिकोटबाट उम्मेदवार बनेका छन् । अन्नपूर्णपोष्टमा खबर छ ।