‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ ! « Himal Post | Online News Revolution
Logo

‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ !



हेमन्त गिरी

देश वा विदेश जहाँ रहेर पनि देशलाई मुटुमा राखेर श्रम गरिरहेक़ा हरेक युवापूस्ता प्रति मेरो गहिरो सम्मान छ ।

प्रसङ्ग १ : एक जना भाइले लेखे, “आजकल खुब देशको चिन्ता गरे जस्तो गरी लेख्नुहुन्छ । नेपाल हुँदा चाहिँ के गर्नु भएको थियो र देशको लागि ?” (उनको भाषा अलि असभ्य र अमर्यादित थियो,यहाँ उनको आशय मेरा शब्दमा बयान छन्)

प्रसङ्ग २ : केही दिन अघि ‘प्रचण्डको मृत्युको कामना गरौँ’ शीर्षकमा himalpost.com मा मेरो लेख प्रकाशित भयो । थुप्रै प्रतिक्रियाहरु आए, राम्रा/नराम्रा । अधिकांशले लेख पुरै नपढी प्रतिक्रिया दिए, अझ भनौं गाली नै गरे । कुनै गालीको लेभल यति सम्म थियो कि स्वयम् उनीहरूकै परिवारले ती गाली पढ़न सक्दैनन ।

प्रसङ्ग ३ : एउटा निश्चित अनलाइन पत्रिकाको लागि लेखेको उक्त मेरो लेख अर्को अनलाइनले बिना अनुमति प्रकाशित गर्‍यो । यति सम्म कि आधिकारिक अनलाइनले डिज़ाइन गरेको ग्राफ़िक सम्म चोर्न हिच्किचाएनन ।

यी तीन प्रसङ्ग अघिल्लो मेरो लेख सँग जोडिएका छन् । देख्दा सामान्य लागे पनि यी प्रसङ्ग सामान्य छैनन् । त्यसैले केही प्रष्टोक्ती लेख्न जरुरी देखेँ ।

प्रष्टोक्ती १ :

मेरो देश प्रतिको चिन्तामा कटाक्ष गर्ने प्यारो भाइ, सर्वप्रथम त मैले तिमीलाई बौद्धिक युवा हौ भनेर दिएको सम्बोधन फिर्ता लिन चाहन्छु । मैले तिमीलाई भनेको कुरो- बन्द नगर,तोड़फोड़ र आगज़नी नगर भन्ने मात्र थियो,विरोध नगर भन्ने छँदै थिएन । तर तिमीले जसरी बुझ्यौ अब मैले तिमीलाई बौद्धिक युवा मानिरहन जरुरी ठान्दिन । रह्यो, देशमा हुँदा तिमीले के नाप्यौ भन्ने तिम्रो प्रश्न । मैले केही गरिन,बिल्कुल केही गरिन । म कुनै दिन बन्द गर्न भनी घरबाट सड़कमा निस्किन,सार्वजनिक सम्पत्तिको तोड़फोड़ गरिन,सडकमा टायर कैलै बालिन,कुनै एक दलको झंडा बोकेर छिमेकी वा साथी भाइ सँग कैलै लडिन,निश्चित जात वा सम्प्रदायको आडमा कसैको मानमर्दन गरिन,पैसा कमाउनको लागि जे पनि गरिन,प्लट्टिंग गरिन,दलाली गरिन,बिचौलिया बनिन,पार्टीको आडमा जागिर खान हिंडिन,खाली समयमा बरु घरमै तरकारी लगाएँ,गमलामा फुल रोपें,छोरीहरू सँग लुकामारी खेलें,तर चोकमा निस्केर कैलै गफ लाइन । साँच्चै भन्ने हो भने भाइ,मैले देशमा हुँदा केही पनि गरिन । जहाँ सम्म पेट पाल्ने कुरा छ, तिमीले गर्ने जस्तो जागिर मैले १० वर्ष गरेँ, धेरै ठाउँ डुलें,कता गएर के गर्न सकिंछ भनेर देशका कुना कुना चहारें । तर त्याहाँ नसक्ने देखे पछि ऋणधन गरेर यहाँ आएको हुँ ।

यहाँ १२ घण्टा उभिएर काम गर्छु, त्याहाँ हुँदा घुम्ने कुर्सीमा बसेर काम गर्ने पोस्टमा पनि पुगेकै हुँ । त्याहाँ हुँदा भन्दा अलिकति बढ़ी पैसा कमाउँछु,खाने मुख र महँगी दुवै बढेका छन् नि त भाइ,त्यसैले । त्यो घुम्ने कुर्सीको सुख,त्यो परिवार सँग सँगै हुँदाको सुख,अनि त्यो आफ्नो माटोमा तरकारी फलाएर खाँदाको सुख जति नै कमाइले पनि यहाँ किन्न सक्दैन भाइ,त्यो सुख त्यहीँ छ । म देशमै बसेर मात्र देशभक्त भइन्छ भन्ने खोक्रो राष्ट्रवाद भन्दा धेरै माथि उठेर सोंच्छु । किनकि म भावनाका उमेर पार गरेर आवश्यकताको चरणमा प्रवेश गरेको स्वभिमानी मान्छे हुँ । देशको माटोमा रहनु र देशलाई मुटुमा राख्नुमा मैले कुनै भिन्नता देख्दिन । सिमानाका रेखाहरु मान्छे द्वारा पछि खिचिएका हुन,मान्छे र मान्छेको चेतना पहिला आएको हो । ज्यानमा तागत रहँदै देशबिदेश भोग्नु देख्नु र सिक्नु नराम्रो कुरो होइन ।

मैले त केवल यहाँबाट सिक्दैछु । यहाँ बन्द,हड़ताल,तोड़फोड़ हुँदैन । त्यसैले यहाँका अग्ला भवनका सिसा फुटेका छैनन्,यहाँका चिल्ला सडक टायरले पोलिएका छैनन्,यहाँ रेल गाड़ी बिना अवरोध सरर दौडिरहेक़ा छन् । अनि जब हामी तिनै संरचनाको अगाड़ी उभिएर दुई चार तस्बिर खिचेर सञ्जालमा हाल्छौं,तिमी भनीहाल्छौ-विदेश गएर सान देखायो । जब हामी यहाँका सिस्टम र सभ्य नागरिकबाट प्रभावित भएर आफ्नो देश त्यस्तै बनोस भन्ने कामना गर्छौँ,तिमीले लेख्छौ-देशमा हुँदा के नापेको थिइस र विदेश गएर भुक्छ्स भनेर । भगवानले नसुनुन भाइ, कुनै बाध्यतामा परेर तिमीलाई पनि बिदेशिनु नपरोस, तिमी यहाँ आए पनि गर्ने त्यही नै हो जुन हामीले गरिरहेक़ा छौँ । त्यति बेला तिम्रो भाइले तिमीलाई यस्तै भन्नेछ जे तिमी भनिरहेछौ, किनकि तिमीले त्यही सिकाइरहेक़ा छौ । घर नछोड़ी संसार देखिन्न भाइ र संसार घर बसेर हेर्ने जस्तो पनि छैन ठयाक्कै ।

देशको लागि कसैले केही गर्नु पर्दैन भाइ, सबले आफ्नो परिवार मात्र पाले पुग्छ । तर देशलाई नलुटेर,देशलाई नबिगारेर,देशलाई नपोलेर,देशलाई नडढाएर,देशलाई कंगाल नबनाएर । यहाँ साहूलाई रिझाएर, प्रचलित नियम अनुसार आय कर बुझाएर,आफू पालिएर बंचेको पैसा देश पठाउँछु,देशले रेमिट बापतको लाभांश लिन्छ,महँगो शिक्षा र स्वास्थ्यमा पसिनाको कमाई कता सकिन्छ पत्तै हुँदैन, के तिमीले आय कर तिर्छौ त ? अझ मलाई सोध्छौ, देशको लागि के गरेको छस भनेर ? सोंचलाई जति फराकिलो बनाउँछौ त्यति नै तिम्रो स्तर पनि उकासिन्छ भाइ । तिम्रो पुस्ता नै हैन ? जो,खाडी पस्न लागेको साथीको एक महिनाको तलब बराबरको पार्टी खाइदिने,अनि खाडी पुगे पछि अर्को महिनाको तलब बराबरको मोबाइलको माग पनि गर्ने, अनि देशको बारेमा नभुक पनि भन्ने अनि फेरि त्यही साथी स्वदेश फर्के पछि रातदिन उसकै पार्टीमा मोज गर्ने ? कुरा सिधा छ भाइ, देशको लागि तिमीले र मैले ठुला कुरा गर्नै पर्दैन,आ-आफ्नो काम गरे पुग्छ । आफ्नो अधिकार मागिरहँदा अर्काको अधिकार खोस्न पाइंदैन । तिम्रो र मेरो देश प्रतिको माया र अधिकार दुवै बराबरीको हो । रह्यो कुरा के नाप्यौ र भन्ने, मैले त चुपचाप तिमी जस्ता ढोँगी युवाको बौद्धिकता नापिरहेको छु । अनि त्यो बौद्धिकताले डोहोर्याइरहेको देशको दयनीय अवस्था देखिरहेको छु ।

प्रष्टोक्ती २

दश जोड़ दुई सम्मको शिक्षाको पहुँच लगभग जताततै पुगिसकेको छ नेपालमा । अधिकांश युवा पुस्ताले अक्षर चिनेका छन् र अक्षरको अर्थ पनि जानेका छन् । अधिकांशको पहुँचमा मोबाइल र इंटरनेट छ । फेरि पनि यो पुस्ता झन् पछि झन् अज्ञानी र ढोटे बन्दैछ । केही दिन अघि himalpost.com मा ‘आऊनोस,प्रचण्डको मृत्युको कामना गरौँ’ शीर्षकमा मेरो लेख प्रकाशित भयो । विभिन्न प्रतिक्रिया हरू आए । ती मध्ये अधिकांश प्रतिक्रिया हेडलाइन हेरेको भरमा मात्र आएका छन् । यो डरलाग्दो सङ्केत हो । एउटा पत्रकारले कति मेहेनत गरेर समाचार तयार पार्छ, एउटा लेखकले कति समय र मगज खर्चेर कुनै लेख तयार पार्छ ।

पाठक,दर्शक ले सही जानकारी पाउन,सही वा गलतमा बिचार-विमर्श गरून भनेर हो । तर यस्तो दस्ता तयार छ सञ्जालमा, जो गाली गर्न मात्र आतुर छ । देशको मूल प्रवाहको घृणाको राजनीतिको असर हो यो । मेरो उक्त लेख पुरै पढ़े पछि गाली गर्नेहरु कम छन्,चित्त नबुझ्नेले सभ्य भाषामा असहमति राखेका छन् । जो जसले हेडलाइन मात्र हेरेका छन्, उनीहरूले या त प्रचण्ड लाई गाली गरेछ भनेर हौसिएर सेयर गरेका छन् या त प्रचण्डलाई किन गाली गर्‍यो भनेर मुखमा आए जतिको गाली बर्साएका छन् । एउटा १५०० शब्दको लेख तयार पार्न झंडै ४/५ घण्टा लाग्छ, त्यही लेख १० मिनेटमा पढेर सकिन्छ । तर जुकरबर्ग लाई धनी बनाउने यो दस्ता सँग फुर्सद छैन,अझ भनौं केही सिकौं भन्ने इच्छा शक्ति नै छैन । छ त केवल गाली,घृणा,रिस,आरिस,अनि असभ्य र जंगली व्यवहार प्रदर्शन गर्न आतुर चंचल र अपरिपक्क मन ।

बुटवलका सडकमा प्रचण्डको टाउको काटेर फुटबल खेल्ने सम्मका नारा लागे । केही राजनीतिक मतभेद र विमतीका बाबजुद हरेक नेताको केही न केही योगदान छ देशप्रति । त्यसैको एउटा पाटो केलाइएको लेख थियो त्यो । तर पढ़न लाग्ने समय गाली लेख्नमा खर्चिएछन बहादुरहरूले । सभ्य विरोधका शैली र पशु तथा बनस्पति सम्मको अधिकारको अभ्यास गरिने आजको सभ्य समाजमा हामी कुन जंगली भाषा र वर्वरताको प्रदर्शन गरिरहेक़ा छौँ ? घृणा र गाली मात्र फैलाउने हाम्रो यो दस्ताबाट आगामी पुस्ताले के सिक्ने हो ? केही समय यता सामाजिक सञ्जालमा देखिएका हामी नेपालीका भाषा,व्यवहार र विरोधका शैलीबाट म हाम्रो समाज झन् पछाड़ी धकेलिएको महसुस गर्देछु । एक त हामी नेपाली सँग फुर्सद धेरै भयो,अनि जे कुरामा पनि रिएक्ट नगरी नहुने बानी ।

अनि अर्को कुरा अहङ्कार र घृणा बढ़ी भयो हामीमा । यो डरलाग्दो सङ्केत हो । केही मिडियाहरूलाई पाठक,दर्शकको संलग्नताको हिसाबले यो आंकडामा उत्साह लाग्ला, तर समाज गलत बाटो तिर गैरहेको छ । एक जनाले गाली गरे पछि अर्कोले पनि गर्न पर्ने,थप्नै पर्ने संस्कारको विकाश हुँदै गैरहेको छ । मेरै लेख हज़ारौंले सेयर गरून,मलाई खुसी लाग्ने छैन जब कसैले लेखको अन्तरवस्तु बुझ्ने कोसिस नै गर्दैन । म फेरि पनि प्रश्न गर्छु, पढेलेखेको पुस्ता यति जड़ कसरी हुन सक्छ ?

प्रष्टोक्ती ३ :

यो लेख तयार पार्दा पार्दै प्रचण्ड सम्बन्धी लेख बिना अनुमति प्रकाशित गर्ने अनलाइनको प्रतिनिधिको मेसेज आयो । मेरो जातीय सेंटिमेण्टका कुरामा लगेर आफ्नो गलत कामलाई सही प्रमाणित गर्ने कोसिस गरियो । मैले किन अनुमति लिइएन भनेँ । उताबाट मेरो लेख छापिदिएर एहेसान गरिएको आशयको कुरा गरियो,जुन झनै निको लागेन । अनि तुरुन्तै ब्लगबाट हटाएको जानकारी दिइयो । गल्तीको एउटा सामान्य स्वीकारोक्ति सम्म गरिएन । निश्चय नै लेख अझै बढ़ी मानछेको नजरमा पुग्थ्यो होला, तर गलत काम त गलत हो नि । किन यति ग़ैरजिम्मेवार बनेको यो दस्ता ? अर्कै मुकुन्डो धारण गरेर चोरीमा रमाउने बानी परेको छ हाम्रो पुस्तालाई ।

मेहेनत अर्काको, लगानी अर्काको अनि फाइदा जति बिचौलिया लाई । अचम्मको संस्कार विकसित भएको छ नेपाली युवा पुस्तामा । मेहेनत,लगन र परिश्रम लाई चाकड़ि,चोरी र गुण्डा गर्दीले जितेको छ । कोही किन गरोस मेहेनत ? कसैले किन गरोस लगानी ? अर्काको जग्गा जग्गा धनीले थाहै नपाउने गरी अरूलाई देखाएको भरमा करोड़पति बनिएको छ, किसानको पसिनाको सम्म अवमूल्यन गरी तरकारी र अन्नमा एकाधिकार जमाएर ठुलो व्यापारी बनिएको छ, एउटा दक्ष इंजीनियर छैन नेताको सालो वा भान्जो भएको भरमा ठुला ठुला ठेक्का हात पारिएको छ,अनि सर्जकका सृजना चोरी गरेर कलाकार,रङ्गकर्मी,मीडियाकर्मी र मालिक बनिएको छ ,,कठै देश ! युवा पुस्ता मेहेनत गर्न नै चाहाँदैन ।

अनि जब मनले नमानेर केही बोल्नु पर्छ,लेख्नुपर्छ ,तब धुन्धुकारीहरू बाट प्रश्न आउँछ,तैँले के गरिस देशलाई ? जवाफ दिनै पर्ने हुन्छ, मैले केही गर्नै सकिन महाराज । मैले टायर बाल्न सकिन,बन्द रहड़ताल गर्न सकिन,चोरी र दलाली गर्ने आँट आएन, राजनीति गर्ने साहस पलाएन अनि म कायर भागेर विदेश आएँ !!!

[email protected]