अमेरिका र युरोपमा भेटियो खतरनाक र रहस्यमय हेपाटाइसिस - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

अमेरिका र युरोपमा भेटियो खतरनाक र रहस्यमय हेपाटाइसिस



एजेन्सी- स्वास्थ्य अधिकारीहरूले अहिले आफूहरूले युरोपेली मुलुकहरूसहित अमेरिकामा बालबालिकाहरूमा देखापरेका रहस्यमय हेपटाइसिसबारे अनुसन्धान गरिरहेको बताएका छन् । हेपाटाइसिस अथवा कलेजो पोल्ने समस्या डेनमार्क, आयरल्यान्ड, नेडरल्यान्डस, स्पेन र अमेरिकामा देखापरेको बताइएको छ ।

गत साता बेलायतका स्वास्थ्य निकायले बालबालिकाहरूमा अस्वाभाविक तरिकाले संक्रमणमा वृद्धि भएको जानकारी दिएका थिए । तर, संक्रमणका कारण भने अझैसम्म थाहा हुन सकेको छैन ।

रोग नियन्त्रणका लागि युरोपेली केन्द्र (ईसीडीसी) चारवटा युरोपेली मुलुकमा कतिमा संक्रमण देखियो भन्नेबारे केही खुलाएको छैन ।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार आयरल्यान्डमा पाँचभन्दा कम र स्पेनमा तीनवटा केस फेला परेको जनाएको छ । तर, डब्ल्यूएचओले आगामी दिनहरूमा संक्रमण बढ्ने सम्भावना रहेको जनाएको छ । ईसीडीसीकाअनुसार संक्रमण देखिएका सम्पूर्ण युरोपेली मुलुकमा अनुसन्धान सुरु भइसकेको छ ।

त्यसैगरी अमेरिकाको अलावामाको जनस्वास्थ्य विभागले पनि एकदेखि छ वर्ष उमेरका ९ जना बालबालिकामा संक्रमण देखापरेको र दुईजनाको कलेजो नै प्रत्यारोपण गर्नुपरेको जनाएको छ । साथै विभागले अन्य राज्यहरूमा पनि यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बेलायतमा भने सबैभन्दा बढी अर्थात् ७४ जना बालबालिकामा संक्रमण भएको पाइएको छ । गत साता बेलायती स्वास्थ्य सुरक्षा निकायले संक्रमित बालबालिकामा हेपाटाइसिस ‘ए’ देखि ‘ई’ सम्ममा पाइने स्वावाभिक भाइरस भने नभेटिएको जनाएको थियो । अनुसन्धानकर्ताहरूले यसको साझा कारण एडोनोभाइरस हुनुपर्ने बताएका छन् ।

एडोनोभाइरसले रुघाखोकी, वान्ता र पखाला जस्ता समस्या ल्याउँछ । अनुसन्धानकर्ताहरूले संक्रमणको कारण कोभिड १९ समेत हुनसक्ने बताएका छन् । -बीबीसी