हिमाचलको अविस्मरणीय यात्रा र देवभूमी पुजारीहरुको अवस्था - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हिमाचलको अविस्मरणीय यात्रा र देवभूमी पुजारीहरुको अवस्था



धनवीर पुन मगर

हिमाचल भन्ने बित्तिकै शिमला, कुल्लु–मानाली, धर्मशाला एवं विभिन्न मनमोहक दृश्य र स्याउको सम्झना आउँछ । साहेद मानिसहरू हिमाचललाई त्यसरी नै चिन्दछन् होला । तर मैले हिमाचललाई अलिक घोत्लिएर हेर्ने कोसिस गरेँ । दिल्ली तीरबाट हिमाचल जाँदा कालका र परवाणु दुई प्रदेशको सिमाना मानिंदो रहेछ । कालकाबाट परवाणु प्रवेश गर्दा बित्तिकै “देव भूमि पर आप सभी का स्वागत करते हैं” भनेर लेखिएको ठुला–ठुला अक्षरहरुबाट अंकित होडिवोर्डले सबैको ध्यानाकर्षित गर्दछ । देव भूमिको अर्थ देवताहरुको जमिन हुन्छ होला वा देवता सरह पुज्न योग्य जमिन पनि भनिन्छ अवश्य नै । तर त्यो पुज्न योग्य जमिनको आज जुन वाह वाहई छ, त्यस बारे भने अत्यन्तै थोरै मानिसहरूको ध्यान गयो होला । मैले यो मेरो सानो लेखमा त्यो भूमिलाई पुज्न योग्य जमिन वा त्यहाँकै भनाइलाई सापटी लिँदै “देव भूमि” कसले बनाए ? त्यसबारे कोट्याउने कोसिस गर्ने छु ।

उत्तरमा जम्मु कश्मिर, पश्चिममा पञ्जाब, दक्षिणमा हरियाणा, उत्तर प्रदेश, उत्तराखण्ड र पूर्वमा चीनले छोएको यो प्रदेशलाई नियाल्दा यसको प्रमुख आयश्रोतको माध्यम पर्याटक र कृषि मानिन्छ । यस प्रदेशमा चम्बा, लाहौल और स्पीति, कांगडा, कुल्लु, किन्नौर, मंडी, हमिरपुर, उना, विलासपुर, सोलन, शिमला र सिरमोर गरी जम्मा १२ जिल्ला रहेका छन् । सिन्धु घाटी सभ्यता रहेको यो हिमाचलमा मंगोलियन, आर्य, मुगल, गोरखाहरुले समेत राज गरेको इतिहासमा उल्लेख छ । पछि गोरखाहरुबाट अङ्ग्रेजले हात पारेको यो स्थानमा विकासको विजारोपण अंग्रेजहरुले शिमलाबाट गरेको तथ्य रिजमा रहेको अण्डरग्राउण्ड पानी ट्यांकीले खुलाउँछ ।

७ जुलाईका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर नगर समितिद्वारा सञ्चालित कुमार सैंन एरिया समितिको दोस्रो सम्मेलनमा सहभागिताका लागि दिल्लीबाट मेरो यात्रा सुरु भएको थियो । भारतस्थित नेपालीहरूको समाजिक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दिल्लीस्थित केन्द्रीय कार्यालयको एक स्टाफ भनौं या सोही स्थानबाट लगातार प्रकाशित भइरहेको नेपाली समाचार साप्ताहिकको सह–सम्पादकको हैसियतले होला अथवा साथीहरूले ममाथि गर्ने अपार माया कै कारण होला मलाई निकै जोड गर्नुभएको थियो ।

‘तपाईँ जसरी पनि हिमाचल आउनु पर्छ’ । चिन्त बहादुर पुनले त लगातार फोन सम्पर्कबाट गरी आउन पर्छ है भनिरहनु भएको थियो । साँझ ९ बजेर ४० मिनेटमा दिल्ली रेल्वेस्टेशनबाट छुटने भनिएको रेल कुनै कारणले करिब एक घण्टा पछि मात्रै छुट्यो । रेलमा दिल्ली लगायत उत्तर प्रदेश तथा हरियाणाका विभिन्न स्थानहरुबाट हिमाचल घुम्न जानेहरुको सङ्ख्या पनि धेरै नै हुँदो रहेछ । यसै पनि गर्मीको दिन भएकाले पनि हुन सक्छ, चिसो ठाउँमा घुम्ने समय मिलाएका होलान् । घुम्न जानेहरुमा धेरै जसो युवा यवतीहरु नै हुँदा रहेछन्, त्यसमा पनि अधिक मात्रामा युगल ।

बिहान करिब ६ बजेतिर रेल कालका स्टेसनमा पुग्यो, सबै उत्रीए, आ–आफ्नो गन्तव्य तर्फ लागे म पनि वेशुरै अगाडि बढें । हिड्नु पूर्व समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले कालका पुगेर नेत्र गुरुङलाई सम्पर्क गर्न भन्नु भएको थियो, तर मसँग वहाँको सम्पर्क नम्बर नभएकोले केही बेर अलपत्र परें । दुर्गा जीलाई फोन सम्पर्क गर्दा कालका मै रहनु हुने रोल्पा माडीचौरका प्रेम पुनको मोबाइल नम्बर पाएँ । त्यसपछि प्रेम पुनलाई सम्पर्क गरेँ, वहाँ ड्यूटी गईसक्नु भएको रहेछ ।

बिहानको समयमा चिया पिउने मेरो बानी । पसेलेकोमा चिया पिउँदै गर्दा एक जना नेपालीले आफू रेलमा लुटीएको बताए । उनी धर्मपुरमा बस्ने बताउँदै थिए । तर त्यहाँबाट पैदल जान कति समय लाग्छ भनी सोध्दै पनि थिए । मैले सोधेँ तपाईँ लुटिनु भएकै हो त ? त्यस पछि उनले अलिक फरकप्रकारले कुरा गर्ने कोसिस गरे तर मैले फेरी प्रश्न त्यर्साएँ, तपाईँ कहाँबाट आउँदै ? टिकट छ ? उनलाई मैले आफू पत्रकार हुनुका साथसाथै एकता समाजको कार्यकर्ता पनि भएको र दिल्लीबाट आएको बताएँ । त्यसका साथै उनलाई एकता समाजको परवाणु नगर समितिमा पुगेर सहयोगको लागि निवेदन दिन समेत सुझाएँ । तर उनी मबाट परपर सर्दै र मलाई जानुस् तपाईँ म जाँदैन भन्दै टाढिंदै गए । मैले पसलेलाई चियाको पैसा दिंदासम्म उनी त्यहाँबाट गइसकेका थिए ।

मलाई त्यस पछि मात्रै लाग्यो कि साहेद यस्तै यस्तै विभिन्न प्रकारका बहाना बनाएर सोझा नेपालीहरुसँग मैत्रिकता जोडिन्छ होला, विश्वासीलो प्रभाव जमाएर नै लुटिन्छ होला । आए दिन हिमाचलबाट नेपाल जाने कैयौँ नेपालीहरू विभिन्न बहानाले बसमा यात्राका दौरान लुटिएका र वेहोस् अवस्थामा फेलापरेका घटनाहरू आइरहेका छन् । हुन सक्छ, त्यस्तै प्रकारका बहाना बनाएर वा सोझा इमान्दारहरुलाई लुटिन्छ होला ।

दुर्गा जीले दिएको लोकेशन अनुसार पुरानो पेट्रोल पम्पमा पुगेमा प्रेम पुनलाई भेटन सकिने थाहा पाए पछि पुरानो पेट्रोल पम्पको खोजीमा हिंडे । खोज्दै जाँदा रोडको किनारैमा रहेछ पुरानो पेट्रोल पम्प । साँच्चै नै पुरानो रहेछ, त्यो पनि बन्द । त्यहाँबाट पुन: प्रेम पुनलाई फोन लगाएको वहाँको छोरीले उठाइन्, ‘बाबा काममा गइसक्नु भयो तपाईँ ……. स्कुलमा आउनुस् ।’ स्कुलको खोजी गर्दै त्यतै लागें, केही बेर मैं फेला पारें पनि । संचविसंच वेलिविस्तार पश्चात् नास्ता खाएर म पुन: सोलन तर्फ लागें ।

मध्य पहाडमा अवस्थित परवाणु, धर्मपुर र पहाडको टाकुरीमा अवस्थित कुमार हैट्टी लगायतका विभिन्न स्थानहरूको मनमोहक, दृश्यहरुलाई मेरो क्यामेरामा कैद गर्दै म बिहान करिब ११ बजे सोलन बस अड्डामा पुगें । सोलनसम्म त म यो भन्दा पहिला पनि दुई पटक पुगिसकेको थिएँ । पहिलाको तुलनामा रोड निकै ठुलो बनाइएका रहेछन् । परवाणुबाट माथि पहाडको टाकुरीमा पुग्न केवलकारको व्यवस्था गरिएको रहेछ । बाटो बनाउने, नाला खन्ने काममा कैयौँ नेपाली मजदुरहरूको सक्रियता रहेको पनि देखियो । सोलन बस अड्डाबाट हिमाचल राज्य समितिका अध्यक्ष शोभाखर पन्थलाई फोन सम्पर्क गरे पश्चात् केही समयमै बाइक लिएर आउनु भयो ।

शोभाखर जीको वर्कसपमा पुग्दा भुवन केसी जीसँग हाई हल्लो गरियो र चिया पिउनलाई पसल तर्फ लागियो । त्यो वेलामा समग्र हिमाचलमा गुडिया सामूहिक बलात्कार र हत्याको चर्चाको विषय बनिरहेको चिया पसलमा चिया गफाडीहरुबाट सुन्न पाएको थिए । उनीहरूले आपसी कुराकानीमा २ जनालाई हिंजो (७ जुलाई)का दिन गिरफ्तार गरेको बताएका थिए । तर त्यसबारे मैले त्यति मसिनरी बुझ्ने तर्फ लागेन । त्यस्तै प्रकारका घटना दिल्ली, रोहतक लगायत भारतका विभिन्न सहरहरूमा विभत्स रूपमा घटेका समाचार लगातार अध्ययन गरिएको थियो । साहेद हिमाचलको गुडिया सामूहिक बलात्कार पछि हत्याको केस मेरो चासोको विषय भएन होला । तर जब उक्त केशमा निर्दोष नेपालीहरूलाई मुछाएर पुलिस कस्टडी मै हत्या गरियो, त्यसले भने मलाई निकै आहात पुर्‍यायो । त्यो भन्दा पनि घटनाका असली दोषीहरुलाई पुलिस प्रशासनकै आडमा भगाउने र निर्दोष नेपाली तथा मजदुरहरूलाई फसाएर हत्या गर्ने जुन खबर दिल्ली पुगिसके पछि पाइयो, त्यसले जो कसैलाई पनि आहत पुर्‍याउनु स्वभाविक नै हुन्छ होला । पछि त्यो केश स्थानीय विभिन्न सङ्घ संस्थाहरू सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दबाब पश्चात् सिविआईले छानबिन गरिरहेको छ ।

जनजाति केन्द्रीय विभागका सदस्य रामबहादुर पुन, मूल प्रवाह केन्द्रीय समितिका सल्लाहकार तिलक पौडेल, नेत्र गुरुङ लगायतकासाथीहरू पनि आइपुग्नु भयो । सबै जनाले निकै आत्मीयता साथ अभिवादन साटा साट गरिसके पछि चिया पिएर हामी शोभाखरको गाडी लिएर कुमारसैंनका लागि लाग्यौं । काण्डाघाट पुगेर सबै जनाले खाना खाइयो । यात्राको दौरानमा साथीहरूले विभिन्न विषयमा छलफल पनि गरिरहनु भएको थियो भने, मैले त्यहाँको भौगोलिक बनावट र प्राकृतिक सम्पदाको बारेमा शोभार जीसँग जानकारी लिँदै अगाडि बढिरहेको थिएँ । काण्डाघाट, बकनाघाट, सोघी, तारादेवी हुँदै शिमला पुगियो । शोभाखर जीले दिएको जानकारी अनुसार जाखू पहाडी, रिज, लक्कर बाजार, सेंट माइकल कैथेड्रल, राज्य संग्रहालय नै शिमलाको खास मानिंदो रहेछ । त्यसका साथै राज्यको राजधानी सहर पनि शिमला रहेकोले त्यसको छुट्टै प्रकारको प्रभाव छर्न सफल भएको रहेछ शिमला । हिमाचल प्रदेशमा चंबा, कांगडा, रोहतांग पास, शिमला, कुल्लु, मनाली, डलहौजी र सोलन प्रमुख सहर मानिंदो रहेछ ।

सोघीबाट माथि लागे पछि देवदारका वृक्षहरु प्रसस्तै पाइंदो रहेछ । जसलाई हिमाचलको राजकीय वृक्ष पनि मानिंदो रहेछ । हेर्दा सामान्यत: धुपी सल्लो जस्तै देखिने त्यो वृक्षबाट बनेको काठ सबैभन्दा महँगो काठ मानिंदो रहेछ । मैले त्यसको खासियत बुझ्दा त्यो काठ अत्यन्तै बढी तेल हुने हुनाले त्यसलाई कुनै पनि प्रकारका किराहरुले नखाने भएकोले नै महँगो रहेको थाह पाइयो । सोघीबाट अगाडि लाग्दा सांगला, चिटकुल, रिकंगपीओ, काल्पासम्म नै त्यो वृक्ष प्रसस्तै पाइंदो रहेछ । तारादेवी देखि माथि पुग्दा नपुग्दै चिसो अनुभूति हुँदो रहेछ । शिमला पुग्दा त तल गर्मीबाट गएका जोसुकैलाई मुटु नै छिचोल्दो रहेछ चिसोले ।

नेपालमा सानो छँदा सुन्ने गरेको थिएँ ‘शिमला पहाड, काला पहाड गए पछि मान्छे फर्किएर आउँदैन ।’ त्यहाँको भौगोलिक बनावटलाई हेर्दा साँच्चै जस्तो लाग्यो । कैयौँ अनकन्टार पहाड र जंगलहरु देखियो त कतै चौंरी पनि देखिए । नेपालका पहाडमा बाटो घाटो वा पुलपुलेसो होस् वा सामान्य घोरेटो या त भनौं गोरेटो नै निर्माण गर्दा किन नहोस् जमिन खन्दा बित्तिकै छिपछिप पानी रसाउने गरेको देखेका मेरा दुई नयनले हिमाचलको यति ठुला–ठुला पहाडहरु काटीएका देख्यो तर देखेन पानी । मैले शोभाखर जीलाई सोधेँ– “यी पहाडहरुका बिचमा कैयौँ खोला खोल्सीहरु त देखियो तर ती खोल्सीहरुमा पानी त देखिँदैन त ? यहाँका मानिसहरूले पिउने पानी कहाँबाट आपूर्ति भएको छ ?” वहाँले एकै पटकमा जवाफ फर्काउनु भयो– “सोलनलाई व्याँसबाट र शिमलालाई सतलुजबाट ।” पछिबाट विभिन्न माध्यमहरुबाट थाहा लाग्यो रावी, ब्यास, चिनाब, सतलुज, यमुना गरी पाँच नदिहरु हिमाचलमा बग्दा रहेछन् ।

त्यसरी चाहे त्यो कुमार हट्टीको टाकुरो होस् वा मध्य भागमा अवस्थित सोलन या त भनौं माथि लेकको टुप्पोमा बसेको शिमला पहाड सबै अत्यन्तै विकट तर समृद्ध बनाइएका रहेछन् । शिमलालाई पानी ३५ कि.मी. तल रहेको सतलुज नदीबाट आएको यथार्थता बारे अझै मसिनो गरी जान्ने कोसिस गर्दा रामपुरमा हाइड्रो पावरको ठेकेदारी गर्नु हुने आर.के. राईले दिनुभयो । वहाँको जानकारी अनुसार सन १९४७ भन्दा पहिले नै अंग्रेजहरुद्वारा शिमलाको रिजमा ठुलो अण्डर ग्राउण्ड ट्यांकी बनाएका रहेछन् । त्यस ट्यांकीमा तल सतलुज नदीबाट मोटर लगाई पानी तानेर भरिए पछि शिमला शहरभरी आपूर्ति गरिंदो रहेछ । हालका दिनमा सतलुजबाट तानेको त्यो पानीले अपुग भएकाले रामपुरस्थित झांक्रीदेखि पारीपट्टी रहेको एउटा नालाको पानी पनि तानेर शिमलाको सोही ट्यांकीमा पुर्‍याइएको रहेछ । वेला वेलामा विभिन्न पत्रपत्रिका तथा मिडीयाहरुले रिजमा रहेको सो पानी ट्यांकी फुटेमा शिमला नरहने चर्चा पनि गर्दा रहेछन् ।

सानो रेल स्टेसन, रेल पनि सानै । पहाड त्यो पनि ढुंगै ढुङ्गाको तिनै ढुंगाहरुलाई कोपेर बाटो त निर्माण गरिएको रहेछ, त्यसका साथै धेरै जसो घरहरू पनि । प्रसस्तै मात्रामा नेपालीहरू स्टकोट र ढाका टोपीमा ठाँटीएर हिंडेको देख्दा कतै आफ्नै देश नेपालमा त छैन झ् भन्ने भान पर्दो रहेछ । तर नेपाली राष्ट्रियताको पहिचान बोकेको ढाका टोपी र स्टकोट इमान्दारीताको ‘लोगो’को रूपमा उपयोग भएको महसुस गरेँ मैले । ढाका टोपी र स्टकोट लगाउने मान्छे नेपाली हुन्, उनीहरू इमान्दार हुन्छन् र प्रसस्तै काम पाइन्छ भन्ने सोंचका साथ नेपाली राष्ट्रिय पहिचानको धज्जीया उडाएको पनि बुझियो । त्यो वृत्तान्तले मलाई निकै आत्म गलानी भयो । श्रम बेच्नको लागि राष्ट्रिय पहिचानको नै च्याँखे थाप्नु पर्ने ? नेपाली श्रमिक र नेपाली राष्ट्रिय पहिचानलाई त्यो अवस्थामा पुर्‍याउने श्रेय नेपालका सत्तामा आसिन व्यक्तिहरूलाई नै जान्छ । त्यो सँग १८१६ को सुगौली सन्धी र १९५० को नेपाल–भारत मैत्रीपूर्ण सन्धीको पनि कहीँ न कहीँ भूमिका रह्यो ।

शिमलाबाट अगाडि लागेपछि कुफरी भन्ने ठाउँमा पुगिंदो रहेछ । कुफरीमा धेरै मानिसहरूले चौरीलाई आयको श्रोत बनाएका रहेछन् । त्यसो त चौरी माथि शिमलामा पनि बाटा किनार तिर देखिन्थ्यो तर कुफरीमा प्रसस्तै । मैले जब तारादेवीदेखि कुफरीसम्म पुग्दा मनमनै नेपालका पटक पटक सत्तामा पुग्ने तर नेपाल र नेपालीहरूको भन्दा पनि निहित स्वार्थ मै तल्लिन शासकहरुलाई गाली गर्दै गएँ । जो सुकै देशभक्त नेपालीले हिमाचलको त्यो दृश्यलाई देखेर नेपाली शासकहरुलाई श्रापछ होला । हिमाचल डुङ्गामाथि बसेको छ, जसलाई भारतको राज्य व्यवस्थाले नेपाली श्रम, पसिना र नेपाली कै रगतको उपयोग गरेर अत्यन्तै लोभलाग्दो सुन्दर बनाएको छ, जो सुकैलाई पनि लोभ्याउँछ । नेपाल आफैमा सुन्दर छ, त्यसलाई केवल जलप लगाई चम्काउनु पर्ने आवश्यक छ ताकि जो सुकैलाई आफूतिर आक्रसित गरोस् ।

नेपाली श्रमले बालुवा माथि बसेको दुबई, साउदी, कतार, कुवेत, बहराइन लगायतका खाडीका देशहरूलाई हरियाली बनायो । त्यस्तै समुन्द्रको टापुमा अवस्थित मलेसियालाई उत्पादन केन्द्रमा नै परिणत गरिसक्यो । ढुङ्गाको खानीमा ‘आकाशको फल आँखातरी मर’ अवस्थामा रहेको हिमाचल, उत्तराखण्ड, जम्मु एण्ड कश्मीर नै किन नहोस् या त भनौं पूर्वोत्तर भारतका कैयौँ राज्यहरुलाई सुन्दर रमणीय पर्याटक स्थलको रूपमा विकास गर्न नेपाली श्रमिकहरूको नै महत्त्वपूर्ण भूमिका रह्यो । तर दु:खको कुरा नेपाली श्रमिकहरूले पठाएको रेमिटेन्स समेत राज्यले सदुपयोग गर्न नसक्दा दिन दोगुना रात चौगुना हुँदै देश भयावहको अवस्थामा पुर्‍याइँदै छ । यस्ता शासकहरुलाई श्रापनु स्वभाविक नै हुन्छ ।

हामी कुफरीबाट ठियोग, मतियाना हुँदै हिन्दुस्थान–तिबत मार्गको वरपर नियाल्दै नारकण्डा तर्फ लाग्यौं । ठियोग भन्ने ठाउँबाट नै स्याउ खेती देख्न पाइँदो रहेछ । स्याउ खेतीमा काम गर्ने मजदुरहरू पनि नेपाली नै हुँदा रहेछन् । ठियोगमा सामान्य चिया पानी गरेर अगाडि बढ्यौं । नारकण्डाका साथीहरूले भेटी घाटी कार्यक्रम आयोजना गर्नुभएको रहेछ, त्यहाँका साथीहरूसँग मिठो भेटघाट र चिया, नास्ता गरियो । साथीहरूले सङ्गठनका बारेमा विभिन्न प्रकारका जिज्ञासाहरु राख्नु भएको थियो । वहाँहरुका जिज्ञासा बारे केन्द्रीय सल्लाहकार तिलक पौडेल जीले स्पष्ट पार्नु भयो । त्यसपछि साथीहरूसँग विदाभई हामी कुमारसैंन तर्फ लाग्यौं । राती करिब ९ बजेतिर हामी सिताराम बुढाजीको सम्पर्कमा पुगेयौं । त्यहाँ साथीहरू जुटी सक्नु भएको रहेछ । कसैले खानाको तयारी त कसैले रुमको व्यवस्थापन बारे चहलपहल गर्दै हुनुहुन्थ्यो । भावनगरका विरु श्रेष्ठ, मुकेश घर्ती, गिर्मी तामाङ लगायतका साथीहरू पनि पग्नु भयो । त्यस्तै ज्यूरी रामपुरबाट आउनु भएका विमला शाही, कर्ण बहादुर तमाङ, आर.के. राई, शिमलाबाट आउनु भएको दुर्गा तमाङ लगायतका साथीहरूसँग नारकण्डा मै भेट भएको थियो ।

राती करिब १ बजेतिरबाट बन्द सत्रको औपचारिक कार्यक्रम सुरु गरी करिब २:४५ तिर समापन गरियो । बन्दशत्रका सन्दर्भमा सङ्गठन त्यस स्थानमा सम्पूर्ण पक्षमा राम्रो अनुशासित हुँदाहुँदै पनि व्यवस्थापन र व्यवहारिक पक्षलाई सुधार गर्नु पर्ने महसुस गरी नयाँ समितिलाई सुझाव समेत दिएको थिएँ । त्यो वेलासम्म कालका–परवाणु, सोलन लगायतबाट कलाकारहरू पुगी सक्नु भएको रहेछ ।

अर्को दिन घोषणा सभाको कार्यक्रम थियो । बिहान रामबहादुर पुन जी, तिलक जी र म घुम्न भनी हिंडेयौं । सामान्य ५ मिनेटभित्र छिचोलिने बजार रहेछ कुमारसैंन । एउटा घरबाट अर्को घरको दुरी निकै टाढा रहेको । मनमनै सोंचे यति सानो बजारमा कहाँबाट नेपालीहरू आउलान र घोषणा सभा होला भन्ने मेरो सोंचलाई घोषणा सभापूर्व शुरुभएको जुलुसले चकनाचुर पारिदियो । निकै टाढटाढाबाट नेपाली श्रमजिवीहरु कार्यक्रममा सहभागिता जनाउँदा रहेछन् । एक प्रकारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सभा सम्मेलनलाई हिमाचलस्थित नेपालीहरूले पर्वकै रूपमा मनाउँदा रहेछन् ।

नेपाली समुदायमा अझै पनि सामन्तवादी संस्कारको जड टुटेको छैन । त्यसैको प्रभाव होला सभा, सम्मेलनमा जाँदा कतिपय नेपालीहरूले अझै पनि मध्यपान, धूम्रपान गर्ने चलन छुटेको छैन । समाज सङ्गठनमा लागेकाहरुमा त त्यो सुस्त सुस्त समाप्त हुँदै गइसकेको छ भने आम मानिसहरूमा त्यसप्रकारको संस्कार भनौं या संस्कृति प्रसस्तै मात्रामा पाइन्छ । घोषणा सभामा टन्नै नेपाली जनसमुदायको उपस्थिति रहेको थियो । कतिपयले मध्यपानको सेवन गरी आएका रहेछन्, आपसमा हानाहानको अवस्था पनि भएको थियो । त्यसले कार्यक्रमलाई सामान्य खलल पुर्‍याए पनि स्थानीयहरुको बिचमा हामी नेपालीहरूको सभ्यतालाई व्याङ्ग्य गर्‍यो । तर पनि कुमारसैनमा स्थानीय वासिन्दाहरुको पनि राम्रो सहभागिता रहेको थियो । कैयौँले नेपाली सांस्कृतिक कार्यक्रम आफैमा अत्यन्तै राम्रो रहेको समेत बताए । कैयौँ सिआइडीहरु पत्रकारका भेशमा त कैयौँ पत्रकारहरु पनि लुकीछिपी समाचार लिएको पाइयो । अर्को दिन हिन्दी पत्रिकामा “कुमारसैन में मनाया नेपाली एकता समाजका सम्मेलन” हेडिङमा समाचार सम्प्रेषण भएको थियो ।

त्यो कार्यक्रममा मैले धेरै नेपालीहरुसँग एक आपसमा चिन्ने जान्ने र वास्तव मै हिमाचलका नेपालीहरूका समस्या के छन् ? केलाउन खोजें । मसिनरी जान्ने कोसिस गर्दा, हिमाचलमा रहेने करिब ५५ प्रतिशत नेपालीहरू नेपाली नागरिकता बिनाका छन् । उनीहरूसँग नेपाली संस्कृति, रिवाज, चालचलन, भाषा सबै छ तर नागरिकता छैन । उनीहरूसँग बुझ्दा आफ्नो दुई–तीन पुस्ता पहिले नै हिमाचलमा आएर बसेको नेपालमा कुन ठाउँ हो भन्ने समेत थाहा छैन । उनीहरू समग्रमा भन्नु पर्दा देश विहिन छन् । भारतमा नेपाली भएकै कारण उनीहरूलाई भारतको आधार कार्ड, भोटिङ कार्ड, राशन कार्ड पाउँदैनन्, नेपालमा आफ्नो पुर्खौली जन्मथलो कहाँ हो त्यो पनि थाहा छैन । यसरी हिमाचललाई हिमाचलको रूपमा वा देव भूमिको रूपमा स्थापित गर्ने नेपालीहरूको भयावह अवस्था रहेको पाइयो ।

कार्यक्रमको समाप्त पश्चात् विरु श्रेष्ठ जी र भाइ मुकेश घर्तीको आत्मीयता साथ गरिएको अनुरोध भनौं या अपार मायाँकै कारण म भावनगर तर्फ लागें । वहाँहरुसँगको यात्रा अत्यन्तै फलदायीक रह्यो । वहाँहरुसँग नगएको भए मैले झाँक्री हाइड्रो पावर पलान्ट देख्न पाउने थिएन, नत २७ किलोमिटर टाढा रहेको नागपा ड्याम नै । त्यस्तै वास्पा, रौरा लगायतका हाइड्रो पावर । अनि सांगलाको मनमोहक स्याउ बगान, रिकंगपिओ, काल्पा र काल्पाबाट देखि नजिकै देखिने हिमाल अनि बालिका आश्रम बारे जान्न पाउने थिएन । नत डेढरल्लीमा गिटी कुट्ने सिन्धुपालचौकका दुई बाबु छोरालाई नै भेटन पाउने थिएँ ।

विरु श्रेष्ठ जीको वोल्यरो गाडीमा म, मुकेश घर्ती र गिर्मी तमाङ । विमला शाही, करण बहादुर तमाङ, आर.के. राई अरू एक जना भाइ राज कुमार क्षेत्री लगायतका साथीहरू रामपुर हुँदै भावनगर सुंग्रासम्मको यात्रा सुरु भयो । कुमारसैनदेखि केही तल पुगेर चिया नास्ता गर्‍यौँ । रामपुरको बोर भन्ने ठाउँमा राज कुमारलाई छाडेर हामी अगाडि बढ्यौं । ज्यूरीमा करण बहादुर तमाङ, आर.के. राई र विमला शाही लगायतका साथीहरूलाई बिदा गरी हामी भावनगर सुंग्राका लागि हिड्यौं । भावनगर हामी करिब ११ बजे राती पुग्यौं । विरु श्रेष्ठजीको घरमा रात काटीयो ।

साँझ छुट्टिने वेला बिहान चिया नास्ताको लागि मेरो घरमा आउनु होला भनेर मुकेश भाइले दिएको निमन्त्रणालाई स्वीकार गर्दै बिहान उठेर विरु जी र म त्यतै लाग्यौं । पारीपट्टी हेर्दा ढुङ्गाको पहाड देख्दा बल्ल लाग्यो साँच्चै नै काला पहाड रहेछ । मैले पारी त्यो ढुङ्गाको पहाडको फोटो आफ्नो कैमेरामा कैद गरेँ । मुकेश भाईकोमा चिया नास्ता खाएर हामी घुम्ने हिड्यौं । नाग्पा, वास्पा ड्यामको बारेमा साथीहरूले देखाउँदै र त्यसबारे बताउँदै जानु भयो । नाग्पा, वास्पा, रौरा त ठुला हाइड्रो पावर मानिंदा रहेछन् । तर स–साना नालाहरुबाट पनि विजली उत्पादन गरिएको रहेछ । विरु श्रेष्ठ जीले विजलीका तारहरु टाङग्ने ठेक्का लिनु हुँदो रहेछ भने मुकेशले पहाडहरुलाई सुरुङ खनेर एक ठाउँबाट अर्को ठाउँ पानी पुर्‍याउने ड्यामको ठेका लिने काम गर्नु हुँदो रहेछ । रौरामा मुकेश भाइको नयाँ काम चल्दै रहेछ ।

दिउँसो सांगला पुगियो । सांगलाको हेलीपेड, स्याउ बगान लगायत ठाउहरु हेरी हामी फर्कियौं । सांगलामा थुप्पा खायौं र होटेलबाट बाहिरिंदा नेपाली मजदुरहरूलाई भेटायौं । मैले वहाँहरुको फोटो खिचें, वहाँहरु अलिक रिसाउनु भयो । मैले हिमाचलमा नेपालीहरूको बारेमा एउटा लेख लेख्दै छु, म पत्रकार हुँ भने । विरु जीले वहाँ दिल्लीबाट आउनु भएको पत्रकार हो भने पछि वहाँहरु म प्रति अलिक सकारात्मक हुनु भयो । हामीसँग इन्ट्रोडक्सन गर्नु पर्‍यो नि झ् भन्दै हुनुहुन्थ्यो । नजिकै जाँदा वहाँहरु मध्यका अधिकांशले रक्सी खाएको थाहा लाग्यो । अनि वहाँहरुसँग बिदाइको हात हल्लाएर हामी रिकंङपीयो तर्फ लाग्यौं । सांगला जाने वेला मुटुले नै ठाउँ छाडेको थियो, जाँदा त गईयो फर्किंदा कसरी फर्किने होला भन्ने त्रास थियो । काला पहाडलाई कोपेर एकहोरो सडक बनाइएको त्यो छिटकुलसम्म पुग्ने सडक अत्यन्तै भयावह थियो ।

नाथपा ड्यामबाट फेरी हिन्दुस्थान–तिब्बत सडक हुँदै हामी रिकंपियो तर्फ लाग्यौं । रिकंगपियो पुगियो, त्यस पछि काल्पासम्म पनि पुगौं भनेर हामी काल्पा पुग्यौं । काभ्रे तीरका एक जना थकाली थरीका मानिसले होटेल चलाउँदा रहेछन् । उनको होटेलमा कफि पियौं । त्यस पछि त्यहाँको गुम्बामा पनि गइयो । अनि त्यही गुम्बासँग जोडिएको बालिका आश्रममा पनि छिर्‍यौं । त्यहाँ एक जना नेपाली नानी पनि आश्रित रहिछिन् । उनलाई विरु जीले राम्रासँग चिन्नु हुँदो रहेछ । हामी तीन जनाले त्यो आश्रमलाई पाँच सयप्रति व्यक्ति डोनेशन प्रदान गर्‍यौँ, त्यसका साथै बच्चाहरूलाई केही किनेर दिनको लागि भनेर मुकेश भाइले अरू एक हजार रुपैयाँ दिनु भयो । हामी फेरी रिकंगपियो फर्कियौं र सिन्धुली तीरका एक जना नेपाली व्यापारीसँग भेट भयो, उनले निकै सत्कार गरे । उनको फेन्सी स्टोर रहेछ । फेन्सीबाट केही सामान पनि किनियो ।

हामी भावनगरको लागि फर्किने क्रममा डेढरल्ली भन्ने ठाउँमा सिन्धुपालचौकका गिट्टी कुटने पेम्बा लामा र उनको सालीको छोरा सन्तोष थापालाई भेटायौं । मैले उनीहरूसँग नेपालीमा कुरा गर्दा उनीहरू अलिक लाज माने । मैले काम आफैमा नराम्रो हुँदैन, लाज मान्नु पर्दैन भने पछि खुलेर चिनाजानी गरियो । उनले प्रति बोरा रु. ४०–५० को दरले गिट्टी बेच्दा रहेछन् । दृश्य देख्दा श्रेदय रेम राना जीले लेखेको– “डुल्दै हिंडदा नेपालीको गाथा भेटियो, आँसु रगत पसिनामा जीवन गाथा भेटियो” भन्ने गीतको पात्र साँच्चै नै उनीहरू नै हुन कि जस्तो लाग्यो ।

साँझ विरु जीको होटेलमा खाना खाएर मुकेश भाईकोमा रात काटीयो । अर्को दिन बिहान ज्यूरीमा करण बहादुर जीहरुले बोलाउनु भएको थियो । बिहानको खाना ज्यूरी मै गर्ने गरी हिंडीयो । ज्यूरीमा विमला शाही, महेन्द्र शाही, करण बहादुर तमाङ, दावा लामा हेल्मो, आरके राई लगायतका साथीहरूले हामीलाई पर्खि बस्नु भएको रहेछ । हामी पुगे पछि खाना खाइयो । त्यहाँ मुकेश भाइ, विरु श्रेष्ठ जी लगायतका सबै ठेकेदार साथीहरू हुनु हुँदो रहेछ । नेपालमा राष्ट्रिय जनमोर्चाले आफूहरुलाई परिचालन गर्नु पर्नेमा अपेक्षा राख्नु भएको थियो ।

हिन्दुस्थान–तिबत सड्क निर्माण गर्दा ज्यान गुमाउनेहरुको सम्झनामा ज्यूरीमा एउटा स्मारक पार्क बनाइएको रहेछ । त्यो पार्कमा सड्क निर्माण गर्दा ज्यान गुमाउने नेपाली मजदुरहरूको नाम शिला लेखमा राखिएको रहेछ । त्यहाँका दावा लामा, आरके राई, करण बहादुर तमाङ लगायतका साथीहरूसँग बुझ्दा त्यो सड्क बनाउने देखि लिएर त्यसको कल्पना समेत नेपालीको नै रहेको थाहा लाग्यो । एक जना नेपाली मूलका चम्पामा बस्ने राज बहादुरको परिकल्पनामा उक्त सड्क निर्माण भएको रहेछ । जसलाई हाल भारत सरकारले “नेशनल हाइवे २२” नाम दिएको छ । करिब २६० जनाको हाराहारीमा मानिसहरूले ज्यान गुमाएर बनेको त्यो सड्क आज शिमलादेखि तिबतसम्म जोडन र पर्याटक भित्र्याउने प्रमुख माध्यम बनेको छ ।

समग्रमा भन्नु पर्दा प्रसस्तै पर्याटकहरुलाई लोभ्याउने गरी चम्कीएको रहेछ शिमला पहाड भनौं वा हिमचलका काला पहाडहरु । हिमाचलको अर्थतन्त्रलाई हेर्दा स्याउखेतीबाट मात्रै सालाना राज्यलाई ३०० करोड आम्दानी हुने गरेको बताइन्छ । त्यस्तै अन्य फलहरुमा अंजीर, जैतुन, हाँप, नट्स, मशरुम, केशर, खरबुज पनि प्रशस्तै मात्रामा उत्पादन हुने गरेको छ भने कृर्षीमा धान, मकै, गहुँ, जौं उत्पादन हुन्छ । फुलहरू र तरकारीहरुको उत्पादन पनि हिमाचलको अर्को आएको माध्यम मानिन्छ । यसरी हिमाचलमा पर्याटन क्षेत्र, फलफुल उत्पादन, कृर्षि र निर्माण लगायतमा उल्लेख्य भूमिका नेपालीहरूको नै रहेको पाइयो । हिमाचलको अर्थतन्त्रमा टेवा पुर्‍याउने देखि लिएर हिमाचललाई डुङ्गाबाट हिरामा परिणत गर्न नेपाली श्रमिकहरूको योगदान नत कसैले छोपेर छोपिन्छ नत लुकार लुक्छ ।

यो लेखको सुरु मै मैले “देव भूमि” अर्थात् पुज्न योग्य जमिन कसले बनायो ? त्यसलाई कोट्याउने कोसिस गरेको थिएँ । नेपाली श्रम, पसिना र रगतले सिंचिएर नै हिमाचल हिमाचल बनेको छ, “देव भूमि” कहलाउँछ । तर यहाँ देव भूमिका पुजारीहरु (नेपालीहरू)को अवस्था भने अत्यन्तै दयनीय छ । तल्लो दर्जाको नागरिक कै रूपमा लिएको पाइन्छ । त्यहाँका ठुला बडा भनौं या पूँजीपतिहरुबाट ठुलो पैमानामा नेपाली श्रमिकहरूको श्रमको शोषण भएको छ । त्यसका साथसाथै यता न उताका भएका ती नेपाली भाषीहरु देश विहिन छन् ।

रेम राना जी कै शब्द सापटीबाट–
उठ्नु पर्‍यो विदेशमा कुल्ली गर्ने दाइ
उठ्नु पर्‍यो विदेशमा सुरुङ खन्ने दाइ
जुटनु पर्‍यो विदेशमा मजदुर गर्ने भाइ
फ्याक्नै पर्‍यो हाम्लाई दु:ख दिने शासनलाई ।
(लेखक: पत्रकार महासङ्घ भारत शाखाका सदस्य हुन्)