हिमाचलमा २ हजार नेपाली स्थायी भए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हिमाचलमा २ हजार नेपाली स्थायी भए



धनवीर पुन मगर/असोज २३, मनाली ।

हिमाचल प्रदेशमा रहँदै आएका नेपालीहरू खुसीले एक पटक झुमेका छन् । हिमाचलमा नेपालीहरुमा सो खुसी प्रदेशमा विभिन्न विभागहरुमा कार्यरत करिब २ हजार नेपाली मजदुरहरू स्थायी भए पश्चात् आएको हो । उनै २ हजार नेपाली श्रमिकहरूले मनाली सहरको बिचमा रहेको मालरोड स्थित बस पार्कबाट बाजा गाजा र नृत्य सहित विजय जुलुस प्रदर्शन गरेका थिए । जुलुसको नेतृत्व मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव खगेश्वर शर्माले गर्नु भएको थियो । विजय जुलुस सहरको रामवाग स्थित मनु रङ्गशालामा पुगी आम सभामा परिणत भएको थियो ।

हिमाचल प्रदेशमा विभिन्न विभागहरुमा कार्यरत करिब २ हजार नेपाली मजदुरहरू स्थायी भएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा स्थानीय अदालत, हाईकोर्ट हुँदै भारतको उच्च न्यायलयबाट भएको फैसला पश्चात् उल्लिखित मजदुरहरू स्थायी भएका हुन् । सो अवसरमा एकता समाजका महासचिव खगेश्वर शर्मा, धनवीर पुन मगर, राज्य समितिका अध्यक्ष शोभाखर पन्त, भारतका उच्च न्यायलयका अधिवक्ता आश्विनी कुमार गुप्ता, नगर समितिका अध्यक्ष साइला लामा लगायतलाई श्रमिक नेपालीहरूले सम्मान प्रदान गरेका छन् ।

सो सभालाई सम्बोधन गर्दै महासचिव शर्माले– नेपाल–भारत बिच सम्पन्न १९५० को मैत्रीपूर्ण संधी अनुसार भारतस्थित नेपालीहरूको पक्षमा काम गर्दै आएको र सोही अनुसार आफूहरूले हिमाचल स्थित २ हजार नेपाली श्रमिकहरूलाई न्याय दिलाउन सफल भएको बताउनु भयो ।
वहाँले अगाडि भन्नु भयो– हिमाचलस्थित नेपालीहरूका लागि सङ्गठनले राज्यका स्थानीय प्रशासन र व्यवस्थापिकाको सहयोगमा आधार कार्ड वितरण गर्दै आएको बताउनु भयो । राशन कार्डको लागि पनि आफूहरूले भारतको उच्च न्यायलयको दरवाजा खटखटाईरहेको समेत बताउनु भयो ।

अधिवक्ता आश्विनी कुमार गुप्ताले भारतमा नेपाल–भारत बिच रहेको १९५० को सन्धी तहेत आएका सम्पूर्ण नेपालीहरूलाई सन्धीले दिएको प्रावधान अनुसार व्यवहार हुनु पर्ने बताए । उनले भने– भारतमा नेपालीहरूले उच्च शिक्षा हासिल गरिरहेका छन् तर स्थानी प्रशासनहरुद्वारा गरिने गैरजिम्मेवारना व्यवहारबाट पीडित रहेको बताए । जुन सुकै देशको नागरिक भारतमा २० वर्षसम्म रहेको प्रमाणित भए लगत्तै उसलाई डोमिशाइल, बोनाफाइड लगायतका प्रमाण पत्र प्रदान गर्न कुनै समस्या नरहेको समेत बताए ।

कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष साइला लामाले र कार्यक्रममा सहभागिहरुलाई नगर सचिव पिशल बुढा र कलाकारहरूले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण तुलाराम बुढाले गरेका थिए । कार्यक्रमको बिचमा बिचमा रंगारंग सांस्कृतिक कार्यक्रमम समेत प्रदर्शन गरिएको थियो ।