हिमाली जिल्लामा प्रसूति गराउनेको सङ्ख्या बढ्दो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हिमाली जिल्लामा प्रसूति गराउनेको सङ्ख्या बढ्दो



मुस्ताङ, २२ कात्तिक । हिमाली जिल्ला मुस्ताङमा स्वास्थ्य संस्थामै पुगेर प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको छ ।
निःशुल्क प्रसूति सेवा, सुत्केरी भत्ता र न्यानो कपडा पाउन थालेपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो दुई आर्थिक वर्षमा यो सङ्ख्या ह्वात्तै बढेको जिल्ला अस्पताल मुस्ताङकी अनमी अनुसा थकालीले बताउनु भयो ।

जिल्ला अस्पतालमा पछिल्लो समय आमा सुरक्षा कार्यक्रम समेत लागू भएपछि सुत्केरीले यातायात भत्ता समेत पाउने गरेका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार, आव २०७१÷०७२ मा ५५ जनाले स्वास्थ्य सेवामा प्रसूति गराएका थिए भने आव २०७२÷०७३ मा त्यो सङ्ख्या बढेर ६५ पुगेको छ । त्यसका साथै केही वर्ष अघिसम्म स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिई बच्चा जन्माउने भए पनि पछिल्लो समय घरमै स्वास्थ्यकर्मीलाई बोलाएर आफ्नो समस्या बताउने र परामर्श लिने क्रम पनि बढेको छ । नियमित चेकजाँच, आइरन चक्की र टिटी सुई समेत अस्पतालबाट निःशुल्क पाइने भएपछि सर्वसाधारण अस्पतालप्रति आकर्षित भएको अनमी थकालीले बताउनुभयो ।

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएसँगै शिशु मृत्युदर पनि कम हुँदै गएको अस्पतालले जनाएको छ । मुस्ताङमा अहिले जिल्ला अस्पतालसँगै १६ वटा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेका छन् । सबै केन्द्रमा दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान हुने जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । रासस