सामाजिक सञ्जालमा निकै सक्रिय पूर्वयुवराज्ञी हिमानी र छोरी पूर्णिका - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सामाजिक सञ्जालमा निकै सक्रिय पूर्वयुवराज्ञी हिमानी र छोरी पूर्णिका



काठमाडौं । गणतन्त्रका शासकप्रति जनविश्वास कम भइरहेका बेला पूर्वदरवारीया शक्ति सक्रिय बनेको छ । पूर्वराजपरिवारका सदस्यहरु सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालमा निकै सक्रिय बन्न थालेका छन् ।

पछिल्लो समय पूर्वराजपरिवारका तीन सदस्य निकै सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह र पारसपुत्री पुर्णिका । राजनीतिक इस्यूमा कुनै पनि प्रतिक्रिया नजनाउने उनीहरु सामाजिक इस्यूमा भने बारम्वार प्रतिक्रिया दिइरहेका छन् ।

पूर्वराजाले धार्मिक भ्रमणका नाममा तराई क्षेत्रमा आफ्नो शक्ति आँकलन गरे । त्यसपछि राजसंस्था फर्किनेमा उनीहरु आशाबादी पनि भए । धार्मिक भ्रमणपछि पूर्वराजाले विदेशतिर मात्र यात्रा गरिरहेका छन् । एक महिनाका लागि उनी थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् ।

यता पूर्वयुवराज्ञी हिमानी शाह र छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन् । आफ्ना मनका कुरादेखि सामाजिक बिषयबस्तुमा उनीहरुले भावना पोखिरहेका छन् । हिमानी शाहले बाढी पीडितदेखि पशुपतिमा जलिरहेका मुर्दासम्मको बयान सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेकी छिन् ।

‘जल्नेहरु शान्त छन्, जलाउनेहरु यहाँ रोइरहेका छन्’ केही हप्ता अघि उनले एउटा मार्मिक स्ट्याट्स सामाजिक सञ्जालमा राखेकी थिइन । त्यसपछि उनले प्रेमलाई पनि परिभाषित गरेकी छिन् । ‘हरेक सम्बन्धमा प्रेम, हरेक प्रेम सम्बन्धमा माया हुन्छ भन्ने छैन’ उनले प्रेमका बारेमा आफ्नो धारणा राखेकी छिन् । पछिल्लो समय पति पारस शाहको माया पाउन नसकेकी हिमानीले प्रेमलाई गहिरोरुपमा अर्थयाउन खोजेकी छिन् ।

हिमानीभन्दा छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आमा र बाबुभन्दा हजुरबाका बारेमा धेरै स्ट्याटसहरु राख्ने गर्दछिन् । हिमानी र पूर्णिका फेसबुक, ट्वीटर र इन्स्ट्राग्राममा सक्रिय छन् ।