हिरासतको मान्छे कसरी असुरक्षित हुन्छ , बोल्दा ख्याल गर्नू पर्दैन :एसपी मल्ल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हिरासतको मान्छे कसरी असुरक्षित हुन्छ , बोल्दा ख्याल गर्नू पर्दैन :एसपी मल्ल



चितवन : चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको जनाएको छ। प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्।

पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक्षित रहेको दावी गरेका थिए। उनले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए। रविको सुरक्षाबारे प्रहरी प्रमुख मल्लले भने ‘हिरासतमा उनी अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा छन्।

उनीमाथि कुनै असुरक्षा र दबाब छैन’, उनले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, कसले के भन्यो? त्यो थाहा छैन, सबैको जवाफ दिइरहनु आवश्यक छैन। तर रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभइ हिरासतका सबै सुरक्षित छन्।’

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको सुरक्षामा जिल्ला प्रहरी कार्यालय अत्यन्त सचेत रहेको मल्लको भनाई छ। ‘प्रहरीको घेरामा रहेका व्यक्ति कसरी असुरक्षीत हुन्छ?’ मल्लले प्रति प्रश्न गर्दै भने, ‘अनुसन्धान भइरहेको छ, सुरक्षाबारे अनेक आशङ्का नगर्न सबैसँग आग्रह गर्दछु।’ उनले अनुसन्धान भइरहेको विषयमा बोल्दा संयमता अपनाउन पनि सबैसँग आग्रह गरे।

रविले प्रहरीले चलाएको कदम आफुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण भएको दावी गरेका थिए। पहिलो पटक थपिएको ५ दिनको म्यादमा आफुले प्रहरीलाई अनुसन्धानमा सहयोग गरे पनि दोस्रो पटक म्याद थपीएपछि उनले आफुले प्रहरीबाटै असुरक्षित महसुस गरेको बताएका थिए।

फेसबुक स्टाटस यस्तो छ

पत्रकार शालिकराम पुडासैनीको घटनाबारे मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्‍याउँछु भनेको थिए। पाँचौ दिनसम्म हिरासतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरेँ पनि। म, र मेरा सहकर्मी युवराज कँडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहीँ कतै संग्लनता नदेखिएको पोइन्टवाइज स्पष्ट भइरहेको बेला फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु।

पाँचौ दिनसम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुस गरेको थिएँ तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुस गरेको छु। बयानका लागि मेरा भनाई समावेश गरिरहँदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु। जब कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडि बढाउनु पर्ने थियो कि थिएन? र, अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन? तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु।

प्रहरीले दुई दिनभित्रै कल डिटेल सजिलै निकाल्न सक्छ। तर मलाई फसाउने नियतसहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुस गरेको हुँ। यो घटनालाई लिएर प्रहरीले मलाई ५ वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संलग्नता छैन भनेर म प्रमाणित गर्न सक्छु। रवि लामिछाने थाह खबरबाट