पत्रकारिता हुँदै होटेल व्यवसायमा उदाएका नवराज : ५ करोड लगानीमा १५ जनालाई रोजगार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पत्रकारिता हुँदै होटेल व्यवसायमा उदाएका नवराज : ५ करोड लगानीमा १५ जनालाई रोजगार



उदाउँदो औद्योगिक केन्द्र बनेको सुन्दर नगरी बुटवलबाट पश्चिम जाँदै गर्दा १२ किलोमिटरको दूरीमा ‘होटेल द केभ’ नामको होटेल देखिन्छ । मूलतः भारतीय र त्यसपछि आन्तरिक पर्यटकलाई लक्षित गरेर खोलिएको होटेल ‘होटेल द केभ ’ संचालन गर्ने नवराज पन्थीका आफ्ना कथाहरू त छँदै छन् तर नाम ‘होटेल द केभ’  हुनुको पछाडि पनि रोचक तथ्य छ ।

इन्डोनेसियामा ‘द केभ’कै नामबाट संचालित पाँचतारे होटेलको भव्यतालाई मध्यनजर गर्दै त्यस्तै बनाउने सपनासहित पन्थीले यो होटेल शुरुवात गरेका हुन् । यद्यपि गत साउनमा शुरू गरिएको होटेल शिशु अवस्थामै छ तर भव्य होटेलको मालिक बन्ने नवराजका सपना भने परिपक्क हुँदै गएका छन् ।

कोभिड १९ को संक्रमणले होटेल व्यवसायको क्षेत्रमा निम्त्याएको भयङ्कर ‘विनाश’ देख्नुको वाबजुद पनि यसअघिको व्यवसायबाट कमाएको पैसा जोडेर होटेल व्यवसायमा खन्याएका पन्थीलाई राज्यको सहयोग भए अब यो क्षेत्र उकासिने आशा छ । उनले होटेल निर्माण र यसको डेकोरेसनमा ५ करोड जति खर्च गरेका छन् ।

करीब ३ रोपनीमा फैलिएको होटेलमा अहिले १६ वटा रूम रनिङमा छन् । ‘तारे होटेलको दर्जामा पुर्याउन कोशिस गरिरहेको छु,’ पन्थीले भने, ‘त्यसका लागि केही मापदण्ड पुर्याउनु पर्छ । स्विमिङ पूल बन्दैछ । रूमको संख्या पनि थप्ने प्लानमा छु ।‘

उनीसँग अहिले ४ वटा विशेष स्वीट रूम छन् । स्वीट रूममा बाथटब, मिनी बार, एसी लगायत भीआइपीलाई चाहिने सबै सुविधा रहेको पन्थीको दाबी छ । होटेलमा ४ वटा डिलक्स रूम छन् भने बाँकी ८ वटा स्ट्यान्डर्ड रूम छन् । सबै रूमलाई उनले तारे होटेलसँग तुलना गर्न मिल्ने बनाएका छन् ।

बुटवलदेखि १२ किलोमिटर पश्चिमको ब्रम्हाचोकमा रहेको होटेल सैनामैना नगरपालिकाको वडा नम्बर १ मा पर्छ । मनग्य पार्किङ स्पेस रहेको उनको होटेलमा पिकअप र ड्रपको सुविधा पनि राखेका छन् । ५ करोडको एकल लगानीमा खोलिएको होटेल होटेल द केभ मा पन्थीको एकल लगानी रहेको छ ।

पन्थीले लुम्बिनी आउने पर्यटकलाई मात्र लक्षित गरेर त्यत्रो विधि लगानी गरेका होइनन । लुम्बिनी यसै नजिक छ, त्यसमाथि सिद्धबाबा दर्शन गर्न आउने पर्यटक पनि उनका लक्षित गेस्ट हुन् । उनको होटेलबाट केही किलोमिटरको दूरीमा रानीकुवा छ । नजिकै शिवपुरी धाम र मुक्तिनाथ धाम पनि छ ।

यी सबै पर्यटकीय क्षेत्र वरिपरी भएकै कारण उनलाई होटेल खोले चल्छ भन्ने लागेको हो । शिशु होटेल भएपनि अहिले पन्थीले राम्रो व्यापार गरिरहेका छन् । होटेलमा उनले १५ जनालाई रोजगारी दिएका छन् ।

पिता माधव प्रसाद पन्थी र माता कमलादेवी पन्थीको कोखबाट अर्घाखाँचीमा जन्मेका पन्थीले आफ्नो व्यवसायीक करीयर पत्रकारिताबाट शुरू गरेका थिए । बि.सं. २०५९ देखि ६२ सम्म उनले पाल्पाको श्रीनगर एफएममा काम गरे । त्यसपछि व्यवसायमा हात हालेका पन्थीले शुरूमा ट्राभल व्यावसाय गर्न थाले । त्यो व्यवसाय छोडेर उनले मोटर पार्ट्स खरिदबिक्री शुरू गरे । अलिअलि पैसा जोडेपछि उनले होटेल व्यवसायमा हात हालेका हुन् ।

भैरहवा एयरपोर्ट संचालनमा आएपछि आफ्नो व्यवसाय अझै बढ्ने आशा पन्थीमा छ । ‘अब नेपालको र विशेष गरी लुम्बिनी वरिपरीको होटेल व्यवसायले पछाडि फर्केर हेर्नुपर्दैन जस्तो लाग्छ,’ पन्थीले भने । पर्यटनको सम्भावनासँगै स्थानीय क्षेत्रमा हुने विवाह, ब्रतबन्ध, जन्मदिन समारोहका लागि पनि उनले करीब २०० जना अट्ने ठाउँ छ ।

होटेलमा पाहुनाका लागि अहिले नै अर्गानिक खाना सर्भ गर्न शुरू गरेका छन् उनले । यससँगै व्यवस्थित रूपमा कृषि फारम खोल्ने योजनासमेत आफूसँग रहेको उनले सुनाए । ‘राज्यले होटेल व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको दिन म पछि हट्नुपर्दैन,’ उनको भनाइ छ ।