प्रधानमन्त्री ओलीले भने: हुल्लडहरुको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री ओलीले भने: हुल्लडहरुको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा मन्त्रिपरिषद्का सदस्यहरूलाई आफ्नो कित्ताकाट गर्न चेतावनी दिएका छन् । आफूले ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेको र मन्त्रीहरुले आफ्नो कित्ता छुट्याउनु पर्ने उनले बताएका छन्।

‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

अत्यन्त आक्रामक मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले पछिल्लो परिस्थितिबारे जानकारी गराउंदै बैठकमा यस्तो कडा धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग सुरुमै ‘ठूलो षडयन्त्र’ भइरहेको भन्दै ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने’ र आफुलाई ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए।

प्रधानमन्त्रीपछि बैठकमा मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल, पार्वत गुरुङ लगायतले बोलेका थिए।पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्।

शनिबार साँझ शितलनिवासमा राष्ट्रपतिसँग भेटेर फर्केपछि मन्त्रीहरूसँग पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।

‘समसामयिक परिस्थितिबारे मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउन प्रधानमन्त्रीले साँझ बैठक बोलाउनु भएको थियो’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए।