न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिजा देखाएर पासपोर्ट र पैसा चट : उजुरी गरे 'लाइफ ड्यामेज' गरिदिने धम्की - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिजा देखाएर पासपोर्ट र पैसा चट : उजुरी गरे ‘लाइफ ड्यामेज’ गरिदिने धम्की



न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिसा देखाएर दुबई बस्ने प्रदीप ठकुरीले विदेश जान चाहने ४ जनाको करीब ५ लाख र पासपोर्ट गायब बनाएका छन् ।

ठकुरीले सुनसरीका मुरारी तिमिल्सिना, सिन्धुपाल्चोकका राजन आचार्य, माधव राज न्यौपाने र सुजन आचार्यसँग न्यूजिल्याण्ड र युक्रेन पठाइदिन्छु भन्दै ४ लाख ८० हजार र पासपोर्ट गायब बनाइदिएका छन् । प्रहरी प्रशासनमा गएर उजुरी गरे ‘लाइफ ड्यामेज’ गरिदिने धम्कीसमेत ठकुरीले दिने गरेको पीडितको गुनासो छ ।

बर्दियाका ठकुरीले पहिला न्यूजिल्याण्डको नक्कली भिजा बनाएर त्यसपछि पीडितहरूसँग पैसा असुलेका थिए । दुबईमै रहेका ठकुरीले नेपालटारमा मासुपसल गर्ने वसिम खानमार्फत पैसा लिएका हुन् ।

युक्रेनको नक्कली भिसा

भिजा नक्कली रहेको आशंकापछि पीडितहरूले अनलाइनबाट आफ्नो भिजा चेक गरेका थिए । त्यसपछि त्यो नक्कली रहेको पुष्टि भएको थियो ।

पैसा उठाउन खानलाई प्रयोग गरेका ठकुरीले पासपोर्ट भने गायक खेमराज तिवारीलाई लिन लगाएका थिए । तिवारीले गत गात्तिक ९ गते चारैजना पीडितको पासपोर्ट लिएर गए ।

‘प्रदीपले फलानोलाई पासपोर्ट दिनुस भनेपछि हामीले खेमराजलाई दियौं । तर त्यसपछि तिवारी सम्पर्कमा छैनन्,’ तिमिल्सिनाले हिमालपोस्टसँग भने ।

न्यूजिल्याण्डको नक्कली डकुमेन्ट

भिजा नक्कली भएको थाहा नपाएका तिमिल्सिना र अन्य पीडितले गत असारमा खानलाई पैसा दिएर २ लाख ७० हजार बराबरको चेकसमेत लिएका थिए । तर भिजा नक्कली भएको थाहा पाएपछि पटक-पटक ताकेता गर्दा पनि बैंकमा पैसा आएन । अहिले पीडितहरू चेक बाउन्स गरेर बैंकिङ कसूरसम्बन्धी मुद्दामा जाने तयारी गरेका छन् ।

पीडितहरूले पासपोर्ट उठाएका तिवारी भने सम्पर्कमा छैनन् । आफ्नो पासपोर्ट चाहियो भनेर पटक-पटक ठकुरीलाई म्यासेज गर्ने गरेका छन् तर ठकुरीले कि पैसा कि पासपोर्ट दिने, प्रशासनमा गए लाइफ ड्यामेज गरिदिने धम्की दिएका छन् ।

ठकुरीले पहिला तीन महिनाभित्र न्यूजिल्याण्ड जान पाउने भन्दै खानमार्फत पैसा असुलेका थिए । तर भिजा नै नक्कली भएपछि जान पाउने कुरै भएन । त्यसपछि ठकुरीले युक्रेनमा सेटिङ मिलेको भन्दै नयाँ डकुमेन्ट पठाए ।

पीडकहरू

उक्त डकुमेन्ट भेरिफाइ गर्न अध्यागमन पुगेका पीडितलाई भारतमार्फत काम हुने भएकाले त्यहीं बुझ्न पठाइयो । भारतस्थित युक्रेनी दूतावासमा इमेलमार्फत सम्पर्क गर्ने कोशिस गरेपनि पीडितहरूले जवाफ पाएनन् ।

पीडक ठकुरी मानवतस्करी र हुण्डी कारोवारमा पनि मुछिएका व्यक्ति रहेको पीडितहरूले बताएका छन् ।