हुम्लामा महामारी: ५ को मृत्यु, गाउँका सबै बिरामी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हुम्लामा महामारी: ५ को मृत्यु, गाउँका सबै बिरामी



काठमाडौं- हुम्लामा हिमपातका कारण चिसो बढ्दा ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले बिरामी हुने क्रम बढेको छ। मौसमी रुघाखोकीले गत पुस २७ देखि शुक्रबारसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।

सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको मौसमी रुघाखोकीले मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले जानकारी दिए। चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले बताइन्।

शाहीका अनुसार चिसोका कारण मौसमी रुघाखोकीले दम तथा अन्य दीर्घ रोग भएकाहरु बिरामीहरु बढी संक्रमित भएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

मासिधारामा मृत्यु हुने सबैमा दम र अन्य दीर्घ रोगका बिरामी रहेको शाहीले बताइन्। मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस भएर मृत्यु हुने लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन्। उनापानी गाउँमा गाउँपालिकाबाट दिएको औषधिसमेत सकिएको छ। गाउँभरि नै बिरामी थला परेका छन्।

समयमा यसको उपचार गर्न नसके यसले झन् ठूलो रुप लिने भएकाले समयमै उपचारमा सहयोग यससंग सरोकार राख्ने गाउापालिका सहित सरोकारवाला सम्पूर्ण निकायको समयमा ध्यान जानु पर्ने स्थानीयले आग्रह गरेका छन्।

‘बिरामी बढ्दैछन् उपचारका लागि स्वास्थ्य संस्थामा न औषधि छ न त स्वास्थ्यकर्मी नै। औषधि खरिदका लागि रकम बिनियोजित गरिन्छ तर औषधि आउदैन। समयमा औषधि ल्याएको भए यो समस्या आउदैन थियो,’ सर्केगाड–२ का गुरु कार्कीले भने।