आई हेट धुलो , मेयर साप कुछ करो ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आई हेट धुलो , मेयर साप कुछ करो !



दीपक घिमिरे

दाङलाई प्रादेशीक राजधानी बनाउनु पर्छ भनेर जोडजोडले माग राख्ने हामी दंङ्गालीहरु दाङकै मुटु मानिने घोराही बजारमा कसरी हिड्छौ त्यो मैले भन्नू या लेख्नु पर्छ होला र ? पक्कै पनि पर्दैन किनभने दाङको घोराहीको मुख्य समस्या सँग हरेक दंङ्गाली परिचित छ । हो हरेक हिसाबले दाङ प्रदेश नम्बर पाँचको राजधानी उपयुक्त छ तर केही वर्ष अघि देखि अरू केही वर्ष पछि सम्म हामीले खाने धुलो लाई देख्दा लाग्छ कसरी बन्छ त राजधानी ? न बाटो छ , न सरकारी वास्ता । हामी धुलो खादै राजधानीको सपना देख्न बाध्य छौ ।

अस्ति लमही जानको लागि तुल्सिपुर चोक बाट निस्के । बाईकमा सवार मलाई कटुवाखोला सम्म पुग्न आधा प्राण त्यागे जस्तै सकस भयो । अगाडि ट्रक या टिप्पर आईपुग्यो भने उसलाई नजित्दा सम्म सास थुनेर बाईक चलाउनु पर्ने बाध्यता । अनि अलिकति अगाडि पुग्यो कि अर्को बाईक बालाले अझ कुदाएर धुलोबाट आफू बच्छ अनि मलाई चैँ अझ धेरै धुलो ख्वाउछ ।

साँच्चै भन्ने हो भने तुल्सिपुर चोक बाट कटुवाखोला सम्म बाईकमा या पैदल यात्रा गर्नु भनेको काल्पनिक कथामा आधारित नर्कको बाटो हिडनु जस्तै कष्टकर हो । धुलो , कोलाहल अनि हिलो बाट बच्नु त धेरै परको कुरा , सासै तान्न नपायर मरियला भन्ने डर हुन्छ यो बाटोमा । अत्यधिक मात्रामा बढेका सवारी साधन अनि सडक स्तरोन्नतीको नाममा खनेको बाटोलाई पार गर्न तीस सेकेण्ड सास रोक्दै खुल्ला ठाउँ मा फुक्दै हिडनुपर्ने बाध्यताको सामना पक्कै मैले मात्र गरेको छैन होला । किनकि बाटोमा उडेको धुलोलाई स्वाट्ट तानेर यात्रा गर्ने दैबिय शक्ति कसै सँग छैन होला ।

अत्यधिक धुलोकै कारण कुना काप्चाका गल्लीहरु पकडेर सटकट बाटो तताउनेहरुपनी छन् तर धेरैलाई त्यस्ता गल्ली थाहा हुँदैन अनि कटुवा खोला बाट तुल्सिपुर चोक सम्म छिरेको मान्छे घरकै मान्छेले नचिन्ने भएर निस्कन्छ । चुनाव ताका उमेद्वारहरुले घोराहीलाई स्मार्ट सिटिको रूपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वच्छ सफा अनि हराभरा घोराहीको परिकल्पना गरे । जनताले स्मार्ट सिटिको सपना दिउसै देख्न थाले । नबुझ्नेहरु चिया पसलमा समेत सोध्न थाले , आखिर के रैछ यो स्मार्ट सिटि भन्या ?

चुनाव सकियो , जनताले पत्याएका नेता मेयर बने तर स्मार्ट सिटि बन्ने सपना कता तुहियो कता । हो मेयरको फु मन्तरले स्मार्ट सिटि बन्ने पक्कै होइन तर हुने बिरुवाको चिल्लो पात भने झैँ स्मार्ट सिटि बन्ने लक्षण आज सम्म देखा परेन । मेयरको एउटा ठाडो आदेशले घोराही बासी या नव(आगन्तुक घोराहीको धुलो पीडित बन्ने थिएन तर आदेश दिने मेयर आफै कागजका खोस्टा उठाउदै सरसफाइ अभियानमा सामेल हुन्छन् तर एक कल फोन घुमायर ठेकेदारलाई ठाडो आदेश दिदैनन । उनको एक कलले कमसेकम ठेकेदार आतिन्थ्यो या धुलो मार्न पानी चार्ने टेक्टर तैनाथ हुन्थे ।

हामी काम परे मात्र कटुवा खोला या तुल्सिपुर चोक गर्नेहरु त धुलोले आधा प्राण खायो भन्दै कराउछौ , झन् त्यही रोडमा बसोबास गर्नेहरुको हालत के होला ? उनीहरू प्रतिदिन कति ग्राम धुलो खायर बसेका होलान् ? कस्लाई सराप्दै दिन चर्या गुजार्दैछन होला ? मेयर साँपले यता तिरपनि ध्यान दिन जरुरी ठान्दछु ।

मैले बुझे अनुसार हैसियतमा बसेकाहरुले आफै कुटो कोदालो बोकेर सस्तो लोकप्रीयताको लागि काममा खटीने होइन , उनीहरूले त आदेश दिने हो । आदेशको पालना नगर्नेलाई कडा कारबाहीको सिफारिस गर्ने हो । हप्तामा एक दिन सडक बढारेर सस्तो लोकप्रीयता कमाउनु भन्दा द्रुत गतिमा काम अगाडि बढाउन ठाडो आदेश दिइयो भने मेयर सापको महत्त्व अझ बढी बुझिन्थ्यो ।

कटुवाखोलामा बाटो खनेर तुल्सिपुरचोकमा नाला खन्ने अनि सहिदगेटमा बाटो कोतरेर बिपि चोकमा माटो सम्याउने कार्यले गर्दा पनि सडक स्तरोन्नती मा ढिलाइ भएको हो । एक ठाउँ बाट काम सुरु गरेर उतै बाट सम्पन्न गर्दै आएको भए सायद एउटै ठाउँले बर्षौ धुलो र हिलोको पीडा भोग्ने थिएन जस्तो मलाई लाग्दछ । सडक निर्माणमा ठेकेदारको लापरवाही घोराही बासीले बुझेका छन् । कैयौ पटक सर्वसाधारण बाटै गुनासो आएका छन् ।

अस्ति भर्खरै एक जना ठेकेदार जनकारवाही मा पनि परेकै हुन । तर पनि ठेकेदारको लापरवाही भैरहनु भनेको अटेरी अवस्था नै हो । स्मार्ट सिटिको सपना देखाएका मेयर साँपलाई ठेकेदारले सम्म टेरेनन भनेर हामी ले सजिलै बुझेका छौ । होइन भने घोराहीलाई यस्तो बनाउछु र उस्तो बनाउछु भन्दै जनताको मत र मन जितेका मेयरले आफू हिडने बाटोको अवस्था किन देखे पनि नदेखे जस्तो गर्छन् ? किन आफै एक्सनमा उत्रन्नन ? किन कटुवाखोला देखि तुल्सिपुर चोक सम्म दैनिक पानी चारेर भएनी धुलो मार्ने आदेश दिदैनन ? मलाई लाग्छ , आदेश त दिन्छन तर ठेकेदारले टेर्दैनन ।

धुलो र हिलोको पिडामा छटपटिएका घोराही बासी लाई राजधानीको सपना देखाउन सजिलो छ । तर राजधानी बन्न चाहिने भौतिक पूर्वाधार निर्माणमा किन कसैले चासो दिदैन ? दुई दिन काम गरे जस्तो गरेर तीन दिन घरै बस्ने ठेकेदारलाई समय सीमा तोकेर काम सम्पन्न गर्न अन्यथा कारबाहीको दायरामा ल्याउने काम कसको हो ? कहिले अराजक अनि कहिले उग्र वामपन्थी भन्दै हेपिने दलिय कार्यकर्ताले कालोमोसो दलेका ठेकेदार लाई कि काम गर , कि घर जाऊ भनेर भन्ने अधिकार मेयर साँप सँग मात्र छ । तर पनि किन बोल्दैनन ? किन जनताको स्वास्थ्य सँग खेलवाड गर्छन् ठेकेदारहरू अनि किन मौन बस्छन जनप्रतिनिधीहरु ? सडक स्तरोन्नतीको नाममा घोराही बजारलाई कुरुप बनायर जनताको स्वास्थ्य सँग खेलवाड गर्ने अधिकार सम्पन्न ठेकेदारलाई कि काम गर्न धम्की देऊ , कि झोली कुम्ला बोकायर घर पठाईदेउ मेयर साँप । किनकि आइ हेट धुलो , कुछ तो करो !