आईजीपी नियुक्ति विवाद पूर्ण इजलासमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आईजीपी नियुक्ति विवाद पूर्ण इजलासमा



काठमाडौँ, चैत ४ गते ।

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम सुनुवाइ हुने भएको छ ।  संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको त्यस मुद्दाको गम्भीरतालाई ध्यानमा राखी पूर्ण इजलासमा प्रस्तुत गर्न आदेश भएको हो ।  अब त्यसको सुनुवाइ कम्तीमा तीनजना न्यायाधीश सम्मिलित इजलासमा हुनेछ ।

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्राविधिक प्रश्न उठाएपछि बिहीबारदेखि सुरु हुने भनिएको अन्तिम सुनुवाइ भने भएन ।  तर, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको हो ।  इजलासले आईजीपी बढुवाको मिसिल २४ घण्टाभित्र अदालतमा पेस गर्न पनि आदेश गरेको छ ।

सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले मुद्दाको सुनुवाइ अब पूर्ण इजलासबाट हुने बताउनुभयो ।  पौडेलले भन्नुभयो, “विषयको गम्भीरतालाई ध्यानमा राखी मुद्दालाई पूर्ण इजलासमा पेस गर्ने आदेश भएको छ, मुद्दालाई अग्राधिकार दिएर आउँदो चैत ६ गतेका लागि पेसी तोकिएको छ । ”सुनुवाइ प्रक्रियामा ढिलाइ भएसँगै प्रहरीको आईजीपीको टुङ्गो लाग्न अझै कम्तीमा एक साता लाग्ने भएको छ ।  सर्वोच्चले मुद्दालाई अग्राधिकार दिँदै आगामी पेसी आउँदो ६ गतेका लागि तोकेको छ ।

गत फागुन १ गते सरकारले आईजीपीमा डीआईजी जयबहादुर चन्दलाई सिफारिस गरेको थियो ।  सरकारले सिफारिस गरेको दुई घण्टा बित्न नपाउँदै सर्वोच्च अदालतले सिफारिश निर्णय यथास्थितिमा
राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

चन्दको सिफारिस रोक्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले दायर गर्नुभएको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

निर्णय कार्यान्वयन यथास्थितिमा राख्न आदेश जारी भएकै दिन वरीयतामा तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपीमा सिफारिस गरेको भन्दै अर्का प्रत्यासी डीआईजी नवराज सिलवालले पनि सोही दिन सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।  सर्वोच्चले दुवै रिटलाई एकैसाथ राखी सुनुवाइ गरेको हो ।