आइजीपी खनाललाई मन्त्रालयमै बोलाएर मन्त्री र सचिवले थुरेपछी... - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आइजीपी खनाललाई मन्त्रालयमै बोलाएर मन्त्री र सचिवले थुरेपछी…



काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यतिबेला तनावमा परेको खबर बाहिरिएको छ । निर्मला काण्डमा पनि उनले केहि तनाव झेलेका थिए भने अहिले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका कारणले तनावमा छन् ।

रवि लामिछाने हिरासतमा रहेका बेला उनलाई मन्त्रालयको पूर्व स्वीकृति बिना भेट गरेको विषयमा सर्वेन्द्र खनाललाई गृहले स्पष्टिकरण लिएपछि उनी तनावमा परेका छन् ।

गत हप्ता प्रधानमन्त्री कार्यालयको चासोपछि गृहले आईजिपी खनाललाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण सोधेको थियो । स्रोतले जनाएअनुसार उनि अहिले निकै दवावमा परेका छन् । उनले प्रहरको कमाण्ड समालेपछी कुनै न कुनै हिसाबले नेपाल प्रहरी नै बदनाम भैरहेको छ ।

गृह स्रोतका अनुसार सुरक्षा संवेदनशिलता र सुरक्षाकर्मीको मनबोल गिर्न नदिन गृहले आन्तरिक र गुपचुप ढंगले स्पष्टिकरण लिएको थियो । सिंगापुर उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टेली कन्फरेन्स बैठकमा यो बिषयमा चाँसो देखाएको बुझिएको छ ।

प्रधानमन्त्री ले नै चाँसो देखाएपछी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्पष्टिकरण सोध्ने निर्णयमा पुगेको स्रोतको दाबि छ । सुरुमा लिखित स्पष्टिकरण लिने तयारी भएपनि अन्तिममा आएर गृहमन्त्री थापा र गृहसचिव प्रेमकुमार राईबीच छलफल हुँदा उनलाई मन्त्रालयमै बोलाएर मौखिक स्पष्टिकरण सोधिएको थियो ।

मौखिक स्पष्टिकरण लिने क्रममा मन्त्री थापा र सचिव राईले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेटेको हो ? भेट्नुको औचित्य के हो ? त्यसबारे गृहमन्त्रालयबाट पूर्व स्वीकृत लिनुपर्छ कि पर्दैन ? हिरासतमा रहेको व्यक्तिलाई भेट्दा त्यसको कस्तो असर पुग्छ भन्ने ध्यान किन नदिएको ? जस्ता विषयहरुमा प्रश्न सोधेको स्रोतले जनाएको छ ।

सचिव र मन्त्रीले एकाएक प्रश्न तेर्स्याएपछि आईजिपी खनालले आफ्नो बँचाउ गर्दै उनलाई भेट्नु भन्दा पनि रविले प्रहरी हिरासतमै आफु असुरक्षित रहेको बताएपछि माहोल भड्किन नदिन यसो गरेको बताएका थिए ।

जवाफमा खनालले माहोल भड्किने संकेत देखेपछी मैले यो कदम चाल्न बाध्य भएको हुँ भनेको स्रोतले बताएको छ।

यसअघि प्रधानमन्त्री कार्यालयले हिरासतमा रहेका लामिछानेलाई भेटेको समाचारका विषयमा प्रधानमन्त्री कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आईजिपीले लामिछानेलाई भेटे नभेटेको र भेटेको भए गृहबाट स्वीकृती लिए नलिएको तथा कुनै योजना मुतावित हो कि भन्दै चासो लिएको थियो । त्यसपछि मात्रै गृहमन्त्री र सचिवले आईजिपी खनालसँग स्पष्टिकरण लिएका थिए ।

गृहमन्त्रालयलाई जानकारी नै नदिइ नेपाल प्रहरीका प्रमुख खनाल आन्तरिक कामका लागि भन्दै चितवन पुगेर लामिछानेलाई भेटेको समाचार बाहिरिएको थियो । यससंगै प्रहरीमा चेन अफ कमाण्ड बिग्रने समेत चर्चा सुरु भएको थियो । आफ्नो कार्यालय भन्दा बाहिर जाँदा प्रमुखले आफूभन्दा माथिल्लो निकायसँग अनुमति लिनुपर्ने हुन्छ ।तर, आईजिपी स्वयमले यसलाई तोडेर हिरातमा रहेका लामिछानेलाई भेट्नु सुरक्षा र आचार संहिता विपरित काम भएको प्रहरीकै अधिकारीहरूले बताएका छन् ।

यद्यपि आईजिपी खनालले भने आफुलाई मन्त्रालयले स्पष्टीकरण नसोधेको बताएका छन् । यस बिषयमा गृह मन्त्रालयका अधिकारीहरूले भने मुख नै खोल्न चाहेका छैनन् ।