एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको छ :खाँण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको छ :खाँण



काठमाडौं/कात्तिक १९ 

नेपाली कांग्रेस निर्वाचन परिचालन मुल समितिका केन्द्रिय संयोजक बालकृष्ण खाँणले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीका शीर्ष नेताहरुले ७ वटै प्रदेशमा चुनावी सम्बोधन गर्नेगरि छिट्टै कार्यतालिका सार्वजनिक गर्ने जनाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै संयोजक खाँणले पार्टी सभापतिदेखि लिएर शीर्ष नेताहरु सबैजना एकै ठाउँमा चुनावी सम्बोधनको लागि जानेगरि छिट्टै कार्यतालिका सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘७ वटै प्रदेशका मुख्य मुख्य केन्द्रहरुमा हाम्रा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुन्छ, हामीले त्यही अनुसार कार्यतालिका बनाएका छौं, चाँडै कार्यतालिका सार्वजनिक गर्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका नेता खाँणले ठूला नेताहरुले एकैचोटी ठूला सभाहरुमा सम्बोधन गर्ने र मझौला नेताहरुले त्यही अनुसार प्रदेशका विभिन्न केन्द्रहरुमा सम्बोधन गर्ने, जिल्लाका प्रभावशाली नेता तथा अहिले उम्मेद्धवार नबनेकाहरुलेपनि त्यही अनुसार चुनावी प्रचारप्रसार गर्ने तयारी भैरहेको जनाए । उनले भने,‘हम्रा सबै नेताहरुले एकै बोली, एकै स्वर, संकल्प र विचार लिएर आउनुहुन्छ, जनताले हामीलाई मत किन हाल्नेबारे हामी बुझाउँछौं।’

त्यस्तै उनले यो चुनावमा आफूहरुले प्रचारप्रसार समितिमा पत्रकारलाई सह–संयोजक बनाउने निर्णय गरेको बताउँदै भने,‘पत्रकारहरुलाई हामीले सहभागिता गराएका छौं, पत्रकारको भूमिका वृद्धि गरेका छौं, यो प्रचारप्रसारको आयाममा नयाँ प्रयोग हो, यसले हामी सफल हुन्छौं, जनतामा हाम्रा कुराहरुलाई पुर्याउन यसले ठूलो मद्दत पुग्छ।’

त्यस्तै उनले बागी उम्मेद्धवारहरुले उम्मेद्धवारी फिर्ता नलिए स्वतः पार्टीको विधानले नै कारवाही गर्ने जनाए । उनले भने,‘हामीले कारबाही गर्न जरुरी छैन, विधानमा नै बडो स्पष्टसँग लेखिएको छ, यसरी उम्मेद्धवारी दिने हाम्रा नेता तथा कार्यकर्ताहरुले उम्मेद्धवारी फिर्ता नलिईकन चुनावी प्रचारमा हिँड्नुभयो भने उनीहरुलाई स्वतः कारबाही हुन्छ। साधारण सदस्य नै खारेज हुन्छ, प्रस्तावक र समर्थकपनि साधारण सदस्य नै नरहनेगरि कारबाही गर्छौं।’ यद्धपी उनले आजैमात्रपनि धेरै बागीहरुले आफ्नो उम्मेद्धवारी फिर्ता लिएको जानकारी दिए ।

उनले बागी फिर्ता नलिएकाहरुले पनि प्राविधिक रुपमा केही समस्या भएपनि आफ्नो पार्टीका उम्मेद्धवार र लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउनतिर लाग्नुपर्नेमा जोड दिए । उनले थपे,‘अहिलेको चुनाव लोकतन्त्र रक्षाको लागि महत्वपूर्ण कसी हो, हुन त यो पटक धेरै योग्य र सक्षम साथीहरु छुट्नुभएको छ, तर हामी सबैलाई उचित मौका दिन्छौं, हिजो स्थानीय चुनावमा टिकट नपाएकाहरुलाई अहिले दिईएको छ, भोलि पनि आज छुटेका साथीहरुले उचित स्थान पाउनुहुनेछ।’ उनले पत्रकार ऋषि धमलालाईपनि अर्कोपटक अवसर दिईने बताउँदै टिकट नपाएका नेता तथा कार्यकर्ताहरुलाई धैर्यता राख्न आग्रह गरे ।

उनले अब हुन गैरहेको चुनावलाई केबल चुनावको रुपमा मात्रै नभईकन लोकतन्त्र रक्षाको लागि जनमतसंग्रहको रुपमा लिईनुपर्ने बताए ।

खाँणले एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको भन्दै राष्ट्रवादी आवरणमा एमाले अध्यक्ष ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको समेत आरोप लगाए । उनले थपे,‘मधेशीहरुलाई गाली गर्दा उग्रवादीहरुलाई मद्दत पुग्छ, तराईको मुद्दापनि राष्ट्रय मुद्दा हो, यदि समयमै सम्बोधन गरेनौं भने विखण्डनको विउ रोपिन्छ।’ उनले हिमाल, तराई र पहाडमा बस्ने सबै नेपालीहरु नै भएकोले सबैले आ–आफ्नो भुगोलको रक्षा गरेको भन्दै सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘अहिलेको समय भनेको सबैलाई एकताको सूत्रमा बाँध्नुपर्छ, लोकतान्त्रिक शक्तिहरुलाई विजयी गराउनुपर्छ, किनकी यो मुलुकमा एकदलीय शासन कहिल्यैपनि आउनै सक्दैन्।’

खाँणले अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै विजयी प्राप्त गर्ने दाबी गरे । उनले भने,‘मुलुकको विकास र, लोकतान्त्रिक मुल्य र मान्यताको रक्षार्थपनि लोकतान्त्रिक शक्तिहरुले विजय प्राप्त गर्नेछन्।’ उनले एमाले–माओवादी केन्द्रवीच बनेको वाम गठबन्धनले मुलुकमा कम्युनिष्ट निरंकुशता थापर्ने भनेर उद्धघोष गरेकोले यो कुराबाट कांग्रेस गम्भिर बनेको स्पष्ट पारे ।

उनले थपे,‘गठबन्धन बनाउनु नौलो कुरा होईन, यो स्वभाविक नै हो, तर संविधान नै बदल्छौं, राजकीय व्यवस्था नै बदल्छौं, संसदीय व्यवस्था नै समाप्त पारेर एकदलीय शासन लागु गर्छु भनेर अभिव्यक्ति आएका छन्, यो कुरामा हाम्रो पार्टीको गम्भिर ध्यानाकार्षण भएको छ।’

उनले यो देशमा राणा र पञ्चायतलेपनि प्रजातन्त्र सिध्याउने प्रयास गरेपनि त्यो सफल हुन नसकेको उदाहरण पेश गर्दै भने,‘बरु जनताले नै पञ्चायत सिध्याईदिए, त्यतिवेला राजा ज्ञोन्द्रले पनि संविधानलाई उल्लंघन गरेर दलहरुलाई प्रहार गरे, दलहरुलाई अतिक्रमण गरेर सत्ता कब्जा गरेर राजा आँफै प्रधानमन्त्री बन्न खोज्दा उनी एक वर्षपनि टिकेनन्, जनताले उनलाई देखाईदिए, फलतः नेपालबाट राजतन्त्र नै समाप्त भयो।’

मुलुकमा यतिवेला दलहरुवीच मेलमिलाप र एकताको खाँचो भएको भन्दै यही मान्यतालाई स्थापित गर्न साझा दायित्व बोकेर नेपाली कांग्रेस अघि बढिरहेको उनको भनाई थियो । उनले भने,‘यही विषयमा केन्द्रित रहेर हामीले हाम्रो घोषणापत्रमा पनि उल्लेख गरेका छौं।’ २००५ सालमा जननायक विपीले निर्वाचनको माध्यमबाट जनप्रतिनिधिले संविधानसभाबाट संविधान जारी गर्ने भनेर देखेको सपना ०६४ सालमा आएर पूरा भएको उल्लेख गर्दै खाँणले अब मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउनुपर्ने बेला आएको बताए । सोही अनुसार नै आफूहरुले मुलुकको सर्वाङिण विकासको लागि योजनाहरु सार्वजनिक गरेको पनि उनको भनाई थियो ।

उनले भने,‘अहिले हामी स्थानीय तहको निर्वाचन सम्पन्न भएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने चरणमा छौं, अबको हाम्रो ध्यान भनेको नै मुलुकको विकास हो, समृद्धि हो, नेपाली जनतालाई अधिकारसम्पन्न बनाउनको लागि पार्टीको स्थापनाकालदेखि नै कांग्रेसले ठूलो भूमिका खेल्दै आएको छ।।’

उनले हालै पार्टीले जारी गरेको चुनावी घोषणापत्रमा समेत सबैखाले सामाजिक सद्भाव कायम गर्नको लागि जातीय, भाषीक, धार्मिक सद्भावलाई एकताको सूत्रमा बाँध्ने अठोट लिएको सुनाए । त्यस्तै उनले आफ्नो पार्टी धार्मिक स्वतन्त्रताको पक्षमा रहेकोले सबै धर्मलाई उतिकै सम्मान गर्ने समेत घोषणापत्रमा उल्लेख भएको स्पष्ट पारे । उनले थपे,‘मान्छेको धर्मप्रतिको आस्थालाई सम्मान गर्नुपर्छ।’ त्यस्तै उनले घोषणापत्रमा नेपालका प्राकृतिक स्रोतलाई अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएको समेत जनाए ।

त्यस्तै उर्जाको विकासमा उल्लेखनीय फड्को मार्ने र विद्युत निर्यात गर्नेगरि योजनाहरु समेटिएको समेत उनले जानकारी दिए । त्यस्तै पर्यटन क्षेत्रको विकासको लागि प्रति वर्ष ३२ लाख पर्यकटहरु नेपाल भित्र्याउने पनि घोषणापत्रमा समेटिएको बताए । मुलुकको विकासको लागि उदार अर्थ नीतिपनि आफूहरुले लिएको उनको भनाई थियो ।

कृषि, उर्जा, पर्यटन, सामाजिक सुरक्षा, स्वरोजगार सबै क्षेत्रको विकासको लागि पार्टीले उचित कार्यक्रमहरु लिएको उनले जनाए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले क्लबले चुनाव सम्पन्न गर्नको लागि देशव्यापी चुनावी अभियान सुरु गरेको भन्दै स्वच्छ, भयरहित, स्वतन्त्र र निश्पक्ष वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

रिपोर्टर्सनेपालबाट