इमरान खान : क्रिकेट मैदानबाट उदाएका उम्दा नेता « Himal Post | Online News Revolution
Logo

इमरान खान : क्रिकेट मैदानबाट उदाएका उम्दा नेता



~कुमुद अधिकारी~

इमरान अहमद खान नियाजी पाकिस्तानी राजनीतिज्ञ र पाकिस्तानका वर्तमान तथा २२औँ प्रधानमन्त्री हुन्। उनी ‘पाकिस्तान तहरिक-ए-इन्साफ’का संस्थापक अध्यक्ष हुन्। राजनीतिमा आउनुभन्दा अघि उनी प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र समाजसेवी थिए।

खानको जन्म उच्च-मध्यम वर्गीय पश्तुन परिवारमा लाहोरमा १९५२ मा भएको थियो। उनले लाहोरको अट्चिसन कलेज, वर्सेस्टरको रोयल ग्रामर स्कुल र पछि किबल कलेज अक्सफोर्डमा अध्ययन गरे। उनले १३ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न सुरु गरेका थिए र १८ वर्षको उमेरमा पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका लागि १९७१ मा टेस्ट सिरिजका लागि डेब्यु गरेका थिए। अक्सफोर्डबाट स्नातक गरेपछि उनले १९७६मा गृह डेब्यु गरे र १९९२ सम्म खेले। उनले १९८२ र १९९२ का बीचमा बेलाबेलामा पाकिस्तानी क्रिकेट टोलीको क्याप्टेन भएर नेतृत्व समेत गरे। उनकै नेतृत्वमा १९९२ मा पाकिस्तानले क्रिकेट विश्वकप जित्यो, यो नै क्रिकेट विश्वकपमा पाकिस्तानको अहिलेसम्मको पहिलो र एकमात्र जित हो।

पाकिस्तानको सबैभन्दा शक्तिशाली खेलाडीमध्ये एकका रूपमा खानले १९९२ मा क्रिकेटबाट अवकाश लिए। उनले आफ्नो टेस्ट क्रिकेटको जीवनमा ३६२ विकेट लिए र कुल ३,८०७ रन बनाए। २००३ मा उनी पाकिस्तानको घरेलु क्रिकेटका कोच बने। २०१० मा उनलाई ‘आइसिसि क्रिकेट हल अफ फेम’मा लिइयो।

१९९१ मा उनले आमाको स्मृतिमा क्यान्सर अस्पताल बनाउनका लागि कोष सङ्कलन कार्य सुरु गरे। यस कार्यमा उनले २५ मिलियन डलरको राशि जम्मा पारे र १९९४ मा अस्पताल स्थापित गरे। २०१५ मा पेशावरमा उनले दोस्रो अस्पताल बनाए। खान प्रतिष्ठित समाजसेवक र उद्घोषक(कमेन्टेटर) रहेका छन्।  उनले शौकत खानम मेमोरियल क्यान्सर अस्पताललाई अनुसन्धान केन्द्रमा विस्तार गरे। २००८ मा उनले नमल कलेज पनि स्थापना गरे। खान २००५ देखि २०१४ सम्म ब्राडफोर्ड विश्वविद्यालयका कुलपति(चान्सलर)समेत भएका थिए। उनले २०१२ मा रोयल कलेज अफ फिजिसियन्सबाट मानार्थ फेलोसिप पनि पाएका थिए।

१९९६ मा खानले पाकिस्तान तहरिक-ए-इन्साफ (न्यायका लागि पाकिस्तानी आन्दोलन) नामको मध्यमार्गी राजनैतिक पार्टी स्थापना गरे र पार्टीको राष्ट्रिय नेता बने। अक्टोबर २००२ को संसदीय चुनावमा राष्ट्रिय संसदको सिट प्राप्त गर्नका निमित्त उनले चुनाव लडे र २००७ सम्म मियाँवालीबाट निर्वाचित प्रतिपक्षी दलका सदस्यका रूपमा रहे। २०१३ को निर्वाचनमा उनको पार्टी देशको दोस्रो ठूलो पार्टीका रूपमा देखा पऱ्यो। २०१३ देखि २०१८ सम्म संसदीय नेताको रूपमा सेवा गरे। उनको नेतृत्वमा उत्तरपूर्वी प्रदेश खाइबर पखतुङ्ख्वामा मिलीजुली सरकार बनेको थियो। २०१८ को चुनावमा भने उनको पार्टीले सबैभन्दा बढी सिट जित्यो र खानलाई प्रधानमन्त्रीको पदमा पुऱ्यायो।

खान लोकप्रिय सार्वजानिक व्यक्तित्वका साथै, ‘पाकिस्तान: अ पर्सनल हिस्टरी’ सहित अन्य पुस्तकहरूका लेखक पनि हुन्।

प्रारम्भिक जीवन र परिवार

इमरान खानको जन्म ५ अक्टोबर १९५२ मा भएको थियो। केही रिपोर्टहरूले उनी २५ नोभेम्बर १९५२ मा जन्मेका हुन् भनेका छन्। तर पछि गएर उनको जन्ममिति पाकिस्तानी क्रिकेट बोर्डका अधिकारीहरूले पासपोर्टमा २५ नोभेम्बर भनी गलत उल्लेख गरेको पाइयो। उनी इक्रामुल्लाह खान नियाजीका एकमात्र छोरा हुन्। उनका बाबु सिभिल इन्जिनियर थिए। उनकी आमा शौकत खानम हुन् र उनका चार दिदीबहिनीहरू छन्। उनीहरू उत्तरपश्चिमी पञ्जाबमा बस्ने पश्तुन जातिका र नियाजी जनजातिका थिए।उनका पुर्खामध्येका एक हैबर खान नियाजी सोह्रौँ शताब्दीमा शेर सिंह सुरीका प्रमुख जनरलमध्ये एक र पञ्जाबका राज्यपाल पनि थिए। उनकी आमा पठान जनजाति  बुर्कीकी सन्तान थिइन्, जसले जाबेद बुर्की र मजिद खानसहितजस्ता नामुद क्रिकेटरहरू जन्माइसकेको छ। उनको आमापट्टिका पुर्ख्यौली सुफी युद्ध-कवि र पाश्तो वर्णमालाका सर्जक पिर रोशन थिए।

बालापनमा खान लजालू स्वभावका थिए र दिदीबहिनीहरूबीच हुर्के। उनको परिवार उच्चम मध्मयवर्गको थियो र उनले सुविधायुक्त शिक्षा पाएका थिए। उनले लाहोरको एट्चिसन कलेज र क्याथेड्रल स्कुलमा शिक्षा पाएका थिए र त्यसपछि इङ्ग्ल्यान्ड वर्सेस्टरको रोयल ग्रामर स्कुलमा अध्ययन गरे जहाँ उनको क्रिकेट रुचि र कुशलता ह्वात्तै झाङ्गिएर गयो। त्यसपछि अक्सफोर्डको किबल कलेजबाट दर्शन, राजनीति र अर्थशास्त्रमा स्नातक गरे।

क्रिकेटको जीवन

खानले आफ्नो पहिलो-श्रेणीको क्रिकेटको डेब्यु १६ वर्षको उमेरमा लाहोरमा गरेका थिए। १९७० को सुरुमा उनी लाहोरको घलेलु टोलीका लागि खेल्थे। वर्सेस्टरसायरमा क्रिकेट टोलीको सदस्य हुँदा उनलाई मध्यम-गतिको बाउलर मानिन्थ्यो। यसबेला खानले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका लागि खेले। १९८३ देखि १९८८ सम्म उनले ससेक्सका लागि खेले।

खानको टेस्ट क्रिकेटको डेब्यु जुन १९७१ मा इङ्ल्यान्डविरुद्ध थियो। त्यसको तीन वर्षपछि १९७४ मा उनले एक दिवसीय क्रिकेट म्याच(वान डे इन्टरनेसनल)मा ट्रेन्ट ब्रिजविरुद्ध खेल्दा डेब्यु गरे। अक्सफोर्डबाट स्नातक गरिसकेपछि र वर्सेस्टरसायरको कार्यकाल सकेपछि उनी १९७६ मा पाकिस्तान फर्किए र राष्ट्रिय टोलीमा सहभागी भए।

अस्ट्रेलियन सिरिज सकिएपछि उनले वेस्ट इन्डिजको यात्रा गरे जहाँ उनको भेट टोनी ग्रेगसँग भयो जसले उनलाई केरी प्याकर्स वर्ल्ड सिरिज क्रिकेटका लागि अनुबन्धित गरे। सबैभन्दा तीव्र बाउलरको उनको विशेषता १९७८मा पर्थमा भएको बाउलिङ प्रतियोगितामा देखियो जसमा १३९.७ किमी/घण्टाको गतिमा उनी तेस्रा भएका थिए। यसमा उनी जेफ थमसन र माइकल होल्डिङ पछि भएका थिए तर डेनिस लिली, गार्थ ले रक्स र एन्डी रोबर्ट्सभन्दा अघि थिए। उनले आफ्नो बाउलिङ शैली पछि वसिम अक्रम र वकार युनिसलाई सिकाए।

१९८२ मा तीस वर्षे खानले पाकिस्तानी क्रिकेट टोलीको कप्तानी सम्हाले। क्याप्टेनका रूपमा उनले ४८ वटा टेस्ट म्याचहरू खेले। यसमध्ये १४ वटा पाकिस्तानले जित्यो, ८ वटामा हाऱ्यो र २६ वटा बराबरीमा टुङ्गियो। उनले १३९ वटा एक दिवसीय म्याच पनि खेले जसमा ७७ मा विजय, ५७ मा हार र एउटामा बराबरी व्यहोर्नुपऱ्यो।

१९८७ मा भारत र पाकिस्तानले क्रिकेट वर्ल्ड कपको आयोजना गरेका थिए तर दुवै सेमिफाइनलभन्दा पर्तिर जान सकेनन्। १९८८ मा उनलाई पाकिस्तानी राष्ट्रपति जनरल जिया-उल हकले पुन पाकिस्तान टोलीको कप्तान हुन आह्वान गरे र जनवरी १८ मा उनले फेरि पाकिस्तानी क्रिकेटको कप्तानी सम्हाले।  १९८८ मा वेस्ट इन्डिजविरुद्ध खेल्दा उनलाई म्यान अफ सिरिज घोषणा गरियो जब उनले तीनवटा टेस्ट म्याचमा २३ विकेट लिए। खानकै कप्तानीमा पाकिस्तानी क्रिकेट टोली खारिँदै गयो र पाकिस्तानले १९९२ को क्रिकेट वर्ल्ड कप जित्यो।

क्रिकेटबाट अवकाश लिएपछि उनले विभिन्न बेलायती र एसियाली समाचारपत्रहरूमा क्रिकेटका बारेमा लेखहरू लेखे, जो विशेषगरी पाकिस्तानी क्रिकेट टोलीसँग सम्बन्धित हुन्थे। भारतका आउटलुक, गार्जियन, इन्डिपेन्डेन्ट र टेलिग्राफमा पनि उनका लेखहरू प्रकाशित भएका छन्। उनी क्रिकेट उद्घोषकका रूपमा पनि देखा परेका छन्, विशेषगरी बीबीसी उर्दू र स्टार टिभी नेटवर्कमा। २००४ मा भारतीय क्रिकेट टोलीले १४ वर्षपछि पाकिस्तानको भ्रमण गर्दा, उनी टेन स्पोर्ट्स लाइभ सोका विशेष उद्घोषक थिए।

२३ नभेम्बर २००५ का दिन उनलाई ब्राडफोर्ड विश्वविद्यालयको कुलपति नियुक्त गरियो। २६ फेब्रुअरी २०१४ का दिन ब्राडफोर्ड विश्विद्यालय युनियनले खानलाई यस पदबाट हटाउनका लागि प्रस्ताव अगाडि बढायो किनकि २०१० देखि पछिका कुनै पनि दीक्षान्त समारोहमा उनी उपस्थित भएका थिएनन्। यद्यपि, ३० नोभेम्बर २०१४ का दिन खानले आफ्ना “बढ्दा राजनैतिक प्रतिबद्धता”का कारण पद छोड्ने घोषणा गरे। विश्वविद्यालयका उपकुलपति ब्रायन क्यान्टरले खानलाई “हाम्रा विद्यार्थीहरूका लागि उत्कृष्ठ रोल मोडल” भनी प्रशंसा गरेका थिए।

परोपकार

१९९० को दशकमा खानले खेलकूदका लागि युनिसेफको विशेष प्रतिनिधिको रूपमा सेवा गरेका थिए। यसबेला उनले बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र थाइल्यान्डमा स्वास्थ्य र खोप कार्यक्रमहरूको प्रवर्द्धन गरेका थिए। लन्डनमा हुँदा लर्ड्स ट्राभर्नर्स नामको क्रिकेट परोपकार संस्थासँग आवद्ध थिए। १९९१ मा उनले शौकत खानम मेमोरियल ट्रस्ट स्थापना गरे जुन उनकी आमाका नाममा स्थापित परोपकार संस्था हो। यही ट्रस्टको प्रथम उपक्रम थियो पाकिस्तानकै पहिलो र एकमात्र कान्सर अस्पताल थियो जसलाई खानले विश्वभरिबाट सङ्कलन गरेको २५ मिलियन डलरको कोषबाट बनाएका थिए।

अप्रिल २७, २००८ मा खानले मियाँवाली जिल्लामा नमल कलेज नामको प्राविधिक कलेज स्थापना गरे। यसलाई मियाँवाली विकास ट्रस्टले बनाएको थियो जो २००५ मा ब्राडफोर्ड विश्वविद्यालयको एसोसिएट कलेज बनेको थियो। त्यस्तै उनको अर्को कल्याणकारी योजना इमरान खान फाउन्डेसन हो जसमार्फत, पाकिस्तानका गरिब नागरिकहरूलाई सहयोग गरिन्छ। यसले पाकिस्तानका बाढी पीडितहरूलाई सहयोग गरेको थियो। डेरा गाजी खान, मियाँवाली र डेरा इस्माइल खानका गाउँहरूमा उज्यालो पुऱ्याउनका लागि बक्श फाउन्डेसनले इमरान खान फाउन्डेसनसँग सहकार्य गरेको छ। ‘लाइटिङ अ मिलियन लाइभ्स’ नाम दिइएको यो योजनाले विद्युत नपुग्ने अनेकन् गाउँहरूमा सौर्यऊर्जा चार्जिङ स्टेसनहरूको स्थापना गरेको छ र गाउँलेहरूलाई सौर्य लालटिन प्रदान गरेको छ। ती लालटिनहरूलाई ती स्टेसनहरूमा नियमित चार्ज गर्न सकिन्छ।

राजनैतिक विचारधारा

खानले युवावस्थादेखि पछ्याउँदै आएका कवि दार्शनिक मोहम्मद इकबाल र इरानी लेखक-समाजशास्त्री अलि शरियातीमा उनको आदर्श आधारित भएको मान्दा उनलाई राष्ट्रवादी र लोकवादी(जनवादी) भन्न सकिन्छ। खानका घोषित राजनैतिक मञ्च र घोषणाहरूमा निम्न सामेल छन् – इस्लामी मान्यता, जसमाथि उनले १९९० मा आफूलाई पुनर्समर्पण गरे; आर्थिक स्वतन्त्रता, जसमा अर्थतन्त्रको नियन्त्रण हटाउने र कल्याणकारी राज्य स्थापित गर्ने प्रतिबद्धता हुनेछ; स्वच्छ सरकार निर्माण गर्नका लागि घट्दो कर्मचारीतन्त्र र भ्रष्टाचार-विरोधी कानुनहरूको कार्यान्वयन;  स्वतन्त्र न्यायपालिकाको स्थापना; देशको पुलिस प्रणालीको फेरबदल; र लोकतान्त्रिक पाकिस्तानकको आतङ्कवाद विरोधी दृष्टिकोण।

१९७१ मा पाकिस्तानी सेनाले बङ्गलादेश(तत्कालिन पूर्वी पाकिस्तान)मा गरेको अत्याचारका लागि सार्वजानिक रूपमा क्षमा याचनाको माग गरेका छन्। तथापि बङ्गलादेशमा युद्धबन्दीहरूमाथि गरिएको युद्धअपराध सुनुवाइको विरोध खानले लगातार गरेका छन् र पीडितहरूको पक्ष लिएका छन्। उत्तरपश्चिमी पाकिस्तानमा भएको युद्धमा शान्तिका लागि अडान लिएकामा उनलाई “तालिबान खान” बनेर जिस्क्याइन्छ। उनी तालिबानहरूसँगको संवादमा विश्वास गर्छन् र फेडेरल्ली एडमिनिस्टर्ड ट्राइबल एरियाज(FATA)बाट पाकिस्तानी सेना हटाउनु पर्ने अडान लिन्छन्। उनी अमेरिकी ड्रोन आक्रमणका विरोधी हुन् र आतङ्कवाद विरुद्धको अमेरिकी नेतृत्वको युद्धबाट अलग रहन चाहन्छन्। खानले लगभग सबै सैनिक कार्बाहीहरूको विरोध गरेका छन् जसमा लाल मस्जिदको कब्जा गर्ने कार्बाही पनि सामेल छ।

उनी जबरजस्ती धर्मान्तरणको निन्दा गर्छन् र यसलाई गैर-इस्लामी मान्छन्। सिन्धुका हिन्दु कन्याहरूलाई जबरजस्ती धर्मान्तरण गरिएको कुराको उनले निन्दा गरेका छन्। खानले कश्मीरको मुद्दालाई भारत र पाकिस्तान बीचको क्षेत्रीय मुद्दाका रूपमा नहेरेर मानवतावादी मुद्दाका रूपमा हेर्छन्। उनले यो मुद्दा सल्टाउनका लागि गोपनीय वार्ताको प्रस्ताव गरेका थिए तर स्वार्थी तत्त्वहरूले यो प्रयासलाई सफल हुन नदिएको मान्छन्। उनले यस मुद्दाको सैनिक समाधान ठाडै अस्वीकार गरेका छन् र सो क्षेत्रका लागि चौथो पाकिस्तान भारत युद्धको सम्भावनालाई नकारेका छन्।

राजनैतिक जीवन

खानलाई उनको क्रिकेटको जीवन मै राजनैतिक पद प्रस्ताव गरिएको थियो। १९८७ मा तत्कालीन राष्ट्रपति मोहम्मद जिया-उल-हकले पाकिस्तान मुस्लिम लिगमा उनलाई राजनैतिक पद प्रस्ताव गरेका थिए जुन उनले मानेनन्। उनलाई नवाज सरिफले पनि आफ्नो पार्टीमा आमन्त्रित गरेका थिए।

१९९४ को अन्त्यतिर आइएसआइका भूतपूर्व प्रमुख हमिद गुल र पास्बानका प्रमुख मोहम्मद अलि दुरानीले नेतृत्व गरेको दबाव समूहको सदस्यता उनले लिए जो जमाते-ए-इस्लामी पाकिस्तानबाट छुट्टिएको युवा दस्ता थियो। त्यसै वर्ष उनले राजनीतिमा आउने रुचि देखाएका हुन्।

२५ अप्रिल १९९६ मा उनले पाकिस्तान तहरिक-ए-इन्साफ नामको राजनैतिक पार्टी स्थापना गरे। १९९७ को संसदीय चुनावमा दुई निर्वाचन क्षेत्रबाट उनले उम्मेद्वारी दिए तर दुवै ठाउँमा जित्न सकेनन्।

खानले १९९९ को परवेज मुसर्रफको सैनिक ‘कू’को समर्थन गरेका थिए किनकि उनलाई मुसर्रफले भ्रष्टाचार अन्त्य गर्दै राजनैतिक माफियालाई निर्मूल पार्नेछन् भन्ने विश्वास लागेको थियो। उनलाई मुसर्रफले २००२ मा प्रधानन्त्रीको पद प्रस्ताव गरेका थिए तर उनले मानेनन्। २००२ को आम निर्वाचनमा उनले भाग लिए र मियाँवालीबाट निर्वाचित भए। २००२ को जनमत सङ्ग्रहमा खानले मुसर्रफको समर्थन गरे जबकि अन्य सबै प्रमुख राजनैतिक पार्टीहरूले जनमतसङ्ग्रहलाई असंवैधानिक घोषणा गरेका थिए।

अक्टोबर २, २००७ मा ‘अल पार्टीज डेमोक्र्याटिक मुभमेन्ट’का रूपमा, खानले संसदबाट राजीनामा गर्ने ८५ जना सांसदहरूलाई साथ दिए जसले अक्टोबर ६ मा तय गरिएको राष्ट्रपतीय चुनावको प्रतिकारस्वरूप संसदबाट राजीनामा दिएका थिए। विरोधको कारण मुसर्रफले सेना प्रमुखको पदबाट राजीनामा नदिई चुनाव लड्नु थियो। ३ नोभेम्बर २००७ मा मुसर्रफले पाकिस्तानमा सङ्कटकाल घोषणा गरेपछि खानलाई नजरबन्दमा राखियो। पछि उनी उम्किए र भूमिगत भए। पछि १४ नोभेम्बरमा भएको पञ्जाब विश्वविद्यालयमा भएको विद्यार्थीहरूको विरोधमा भाग लिन उनी बाहिरिए र यसैक्रममा उनलाई गिरफ्तार गरी डेरा गाजी खान जेलमा राखियो। केही दिन पछि उनी छुटे।

३० अक्टोबर २०११ मा लाहोरमा उनले एक लाख भन्दा बढी समर्थकहरूलाई सम्बोधन गरे, सरकारका नीतिहरूलाई चुनौती दिए र राजनैतिक दलहरू विरुद्ध परिवर्तनको ‘सुनामी’ ल्याउने घोषणा गरे। त्यसपछि उनको यस्तो सम्बोधन जारी रह्यो र उनको प्रसिद्धि बढ्दै गयो। उनी सत्तासीन पार्टीहरूका लागि खतरा बन्दै गए र पाकिस्तानको भविष्यको सशक्त सम्भावनाका रूपमा देखा परे।

२०१३ को आम निर्वाचनमा खानले नेतृत्व गरेको तहरिक-ए-इन्साफ पञ्जाब र सिन्ध प्रान्तमा प्रमुख प्रतिपक्षी बन्यो। यस निर्वाचनको एक वर्षपछि खानले २०१३ को निर्वाचन सत्तासीन पाकिस्तान मुस्लिम लिग(पिएमएल)का पक्षमा धाँधली गरेको आरोप लगाए। १४ अगस्ट २०१४ का दिन इमरान खानले निर्वाचनमा भएको धाँधलीको अनुसन्धान र प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै इस्लामाबादमा ऱ्यालीको नेतृत्व गरे। बाटोमा पर्ने गुज्रनवालामा पिएमएलका समर्थकहरूले ऱ्यालीमा ढुङ्गा हाने तर कुनै मानवीय क्षति भने भएन। यस्तै घटनाहरू पछि उनले बुलेटप्रुफ गाडीमा यात्रा गर्न बाध्य हुनुपऱ्यो।

इमरान खानले २०१८ को आम निर्वाचनमा पाँचवटा संसदीय क्षेत्रबाट चुनाव लडे र पाँचैवटामा जित हासिल गरे। निर्वाचन आयोगले गरेको अन्तिम मतपरिणाम अनुसार पिटिआइले २७० मध्ये ११६ सिटमा विजय हासिल गरेको थियो। प्रमुख प्रतिपक्षीले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको थियो। तर विदेशी अवलकोनकर्ताहरू र पाकिस्तानी निर्वाचन आयोगले चुनाव सन्तोषजनक भएको रिपोर्ट पेस गरेका थिए।

पाँचवटा निर्वाचन क्षेत्रबाट उठेर र पाँचैवटामा जित हासिल गर्ने काम पाकिस्तानको निर्वाचन इतिहासमा पहिलो पटक भएको थियो। यस अघि १९७० मा जुलफिकर अलि भुट्टो चारवटामा उठेका थिए र तीनवटामा जित हासिल गरेका थिए।

६ अगस्ट २०१८ मा पाकिस्तान तहरिक-ए-इन्साफले इमरान खानलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा नामाङ्कन गऱ्यो। नामाङ्कनका बेलाको भाषणमा उनले आफूलाई सार्वजानिक जबाफदेहिताका लागि हरेक हप्ता एक घण्टाका लागि जनसाधारण सामु उपस्थित भएर प्रश्नहरूको जबाफ दिने घोषणा गरे।

१७ अगस्ट २०१८ का दिन संसदमा उनले १७६ मत प्राप्त गरे र पाकिस्तानका २२औँ प्रधानमन्त्री बने। उनका प्रतिद्वन्द्वी सहबाज सरिफले ९६ मत प्राप्त गरे। १८ अगस्टमा उनले प्रधानमन्त्रीको सपथग्रहण गरे। प्रधानमन्त्री बनेपछि खानले उच्च तहको कर्मचारीतन्त्रमा व्यापक फेरबदल गरे। उनको मन्त्रीमण्डलमा मुसर्रफ युग र त्यसपछिका पाकिस्तान पिपल्स पार्टीका मन्त्रीहरू सामेल थिए।

इमरान खानले पाकिस्तानमा व्यापक सुधारको काम सुरु गरेका छन्। यसमध्येको एउटा पहिलेका सरकारहरूले किनेका सयौँ महङ्गा गाडीहरूलाई निलामीमा राखिदिनु हो। यसका लागि उनको चौतर्फी प्रशंसा भएको थियो। छिमेकी राष्ट्रहरूसँगको नीतिमा इमरान खान अत्यन्त सन्तुलित देखिन्छन्। विशेषगरी भारतको आक्रामक व्यवहारको जबाफमा पनि उनी संयमित र धीर देखिएका छन्।

व्यक्तिगत जीवन

अविवाहित जीवनमा उनका असङ्ख्य सम्बन्धहरू रहेका थिए। उनलाई लन्डनका रात्रिकालीन क्लबहरूमा रमाउने भोगवादी र ‘प्लेब्वाय’का रूपमा चिनिन्थ्यो। केही विवाहेत्तर सम्बन्धहरूमा निम्न महिलाहरूसँगको सम्बन्ध सामेल छ: जीनत अमान, एम्मा सर्जन्ट, सुसी-मुरे फिलिपसन, सीता ह्वाइट, सराह क्रले, स्टेफनी बेकम, गोल्डी हन, क्रिस्टिएन बेकर, सुसानाह कन्स्टान्टाइन, म्यारी हेल्भिन, कारोलिन केलेट, लिजा क्याम्पबेल, एनास्टासिया कूक, हन्नाह म्यारी रथ्सचाइल्ड, जेरी हल र लुलु ब्ल्याकर।

क्रिस्टोफर स्यान्डफोर्डले २००९ मा प्रकाशित गरेको पुस्तमा इमरान खान र पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुट्टो बीच सम्बन्ध रहेको चर्चा गरेका छन्। उनीहरू त्यसबेला अक्सफोर्डका विद्यार्थी थिए र बेनजीर २१ वर्षकी थिइन्। यो सम्बन्धलाई नजिकको ठानिएता पनि पछि इमरानले आफूहरू असल साथीहरू मात्र भएको दाबी गर्दै उक्त व्याख्या गलत रहेको स्पष्टोक्ति दिए।

उनको सबैभन्दा चर्चित सम्बन्ध सीता ह्वाइटसँगको रह्यो। सीता बेलायती उद्योगपति गर्डन ह्वाइट, बरोन ह्वाइटकी छोरी र उत्तराधिकारी थिइन्। सीता ह्वाइटका अनुसार १९९१ को भेटमा इमरान बच्चा जन्माउन सहमत भएका थिए। त्यसैले टिरियन जेडको जन्म १५ जुन १९९२ मा भयो। तर ह्वाइटको आरोपअनुसार जेड छोरी भएकाले आफ्नो सन्तान मान्न इमरानले अस्वीकार गरेका थिए। खानले उनलाई गर्भपतन गराउन पनि सुझाएका थिए। पछि १९९७ मा लस एन्जेलसको अदालतले इमरानलाई जेडको बाबु घोषणा गऱ्यो। इमरानकी पूर्व पत्नी रेहम खान अनुसार, इमरानले विवाहेत्तर सम्बन्धबाट जेडलाई मात्र जन्माएका थिएनन्, अन्य चार जना महिलाले पनि उनका सन्तानहरू जन्माएका थिए, जसमध्ये भारतीय पनि थिए। यी सब कुरा खानले नै रेहमलाई भनेका थिए। २००४ मा सीताको मृत्युपछि खानले टिरियनलाई आफ्नो सन्तान स्वीकार्दै आफूसँग बस्न बोलाए।

१६ मे १९९५ मा ४३ वर्षको उमेरमा खानले २१ वर्षे जेमिमा गोल्डस्मिथसँग बिहे गरे। जेमिमाले इस्लाम धर्म अपनाइन् र यी जोडीका दुई छोराहरू छन्, सुलेमान इसा र कासिम। २२ जुन २००४ मा नौ बर्से वैवाहिक जीवन अन्त्य गर्दै, यो जोडी छुट्टियो र कारण देखाइयो – जेमिमालाई पाकिस्तानी जीवन अँगाल्न कठिन भएकाले।

जनवरी २०१५ मा इमरान खानले रेहम खानसँग आफ्नो निवास इस्लामावादमा ‘निकाह’ गरेको कुरा बाहिरियो। यद्यपि रेहम खानले आफ्नो आत्मकथामा लेखे अनुसार उनीहरूको बिहे अक्टोबर २०१४ मै भैसकेको थियो तर घोषणा भने पछि गरिएको हो। अक्टोबरमा उनीहरूले सम्बन्ध विच्छेद गर्ने निधो गरे।

हो वा होइनका हल्लाहरूबीच खानले मनिकासँग बिहे गरेको तथ्यको पुष्टि पिटिआइले फेब्रुअरी २०१८ मा गऱ्यो। खानले भने अनुसार मनिकामाथि सुफिज्मको प्रभाव तीन दशकसम्म परेकाले उनी आफ्नी तेस्री पत्नीतिर आकर्षित भएका थिए।

विवादहरू

अगस्ट २०१७ मा आयेशा गुलालाई नाम गरेकी महिला इमरान खानलाई उत्पीडनको आरोप लगाउँदै अगाडि आइन्। अक्टोबर २०१३ देखि आफूले खानबाट अश्लील सन्देशहरू प्राप्त गरिरहेको खुलासा गरेकी थिइन्। इमरानले यो षडयन्त्र पाकिस्तान मुस्लिम लिग(नवाज)को भएको आरोप लगाए। पछि आयेशा गुलालाईले इमरानले माफी मागे माफी दिन तयार रहेको कुरा बताएकी थिइन्।

१९ फेब्रुअरी २०१९ मा जम्मु कश्मीरको पुलवामामा भएको आक्रमणमा मारिएका भारतीय सैनिकहरूप्रति समवेदना प्रदर्शित नगरेकामा भारतीय मेडियाले उनको उछितो काडेता थिए तर शान्तिको पहल गर्दै बन्दी बनाइएका भारतीय वायु सेनाका पाइलटलाई रिहा गरेर उनी चौतर्फी प्रशंसाका पात्र बनेका थिए।

साहित्यिक कार्य

इमरानले प्याट्रिक मर्फीसँग लेखेको आत्मकथा सहित सातवटा गैर-आख्यान लेखेका छन्। उनले पाकिस्तानी र बेलायती समाचारपत्रका लागि नियमित रूपमा क्रिकेट र राजनीति सम्बन्धी लेखहरू लेखेका छन्। उनका पुस्तकहरू निम्न छन् :

  • वेस्ट एन्ड इस्ट (१९७५)
  • इमरान : दि अटोबायोग्राफी अफ इमरान खान (प्याट्रिक मर्फीसँग) (१९८३)
  • इमरान खान्स क्रिकेट स्किल्स (१९८९)
  • इन्डस जर्नी : अ पर्सनल भ्यु अफ पाकिस्तान (१९९१)
  • अल अराउन्ड भ्यु (१९९२)
  • वारियर रेस : अ जर्नी थ्रु द ल्यान्ड अफ दि ट्राइबल पठान्स
  • पाकिस्तान : अ पर्सनल हिस्टरी (२०११)

खेल र परोपकारका लागि उनले दर्जनौँ सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्।