झन् बेहाल बन्दै भारतको अवस्था: बढी प्रभावित मध्ये नवौं स्थानमा उक्लियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

झन् बेहाल बन्दै भारतको अवस्था: बढी प्रभावित मध्ये नवौं स्थानमा उक्लियो



काठमाडौं- भारतमा लकडाउन खुकुलो पारेसंगै संक्रमण एकाएक बढ्न थालेको छ । हाल भारत कोरोना भाइरसबाट प्रभावित देशहरू मध्ये नवौं स्थानमा छ ।

भारतमा कोरोना संक्रमणदर झन् बढ्दै गएको छ। विश्वभर उच्च संक्रमण देखिएका देशको सूचीमा भारत नवौं स्थानमा आइपुगेको छ।

भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ६५ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ४ हजार ७ सय ११ पुगेको छ। त्यहाँ ७० हजार ९ सय २० जना संक्रमणमुक्त भएका छन्।

विश्वभर ५८ लाख ३ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १७ लाख २० हजार ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ३८ हजार २ सय ३८, रुसमा ३ लाख ७९ हजार ५१, बेलायतमा २ लाख ७० हजार ५ सय ७, स्पेनमा २ लाख ३७ हजार ९ सय ६, इटालीमा २ लाख ३१ हजार ७ सय ३२ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ५९ हजार ७ सय ९१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। शुक्रबार बिहानसम्म त्यहाँ १ लाख १ हजार ५ सय ७३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३७ हजार ९ सय १९, इटालीमा ३३ हजार १ सय ४२, फ्रान्समा २८ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २४ लाख १३ हजार ५ सय ७६ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेहरुमा अमेरिकामा सर्वाधिक ३ लाख ९९ हजार ९ सय ९१ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, ब्राजिलमा १ लाख ७७ हजार ६ सय ४, जर्मनीमा १ लाख ६३ हजार ३ सय ६०, रुसमा १ लाख ५० हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमितको संख्या १ हजार ४२ पुगेकोछ। शुक्रबार बिहानसम्म ५१ जिल्लामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १ सय ८७ जना संक्रमणमुक्त भएका छन्।