भारतको आधा भन्दा बढी जनसंख्या संक्रमित हुनसक्ने विज्ञको दाबी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतको आधा भन्दा बढी जनसंख्या संक्रमित हुनसक्ने विज्ञको दाबी



एजेन्सी- भारतको नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेज (एनआईएमएचएएनएस) का न्युरोभिरोलोजी प्रमुख डाक्टर भी रविले आगामी डिसेम्बरसम्म भारतमा आधाभन्दा बढी जनसंख्या कोरोना संक्रमित हुनसक्ने प्रक्षेपण गरेका छन् । भारतको जनसंख्या अहिले १ अर्ब ३८ करोड छ ।

भारतमा चौथो चरणको लकडाउन ३१ मेइमा समाप्त भएको छ र डाक्टर रविले मेइको अन्तिम साता गरेको दाबी पत्याउने हो भने अब बल्ल संक्रमितको दर बढ्नेछ । कोभिड–१९ का लागि कर्नाटक हेल्थ टास्क फोर्सका नोडाल अफिसर समेत रहेका डाक्टर रविले मेइको अन्त्यमा भनेका छन्,‘अझै देशमा कोरोना भाइरस संक्रमितको संख्या आकाशिएको छैन । जुनदेखि यो संख्या अति तिव्र हुनेछ र सामुदायमा फैलनेछ ।’

डिसेम्बरको अन्त्यसम्म भारतको आधा जनसंख्यामा भाइरसको संक्रमण देखिनसक्छ । तर सुखद खबर ९० प्रतिशतलाई आफु संक्रमित छु भन्ने पनि पत्तो हुँदैन,’ उनले थपे, ‘अक्सिजनको उच्च फ्लोबाट उपचार गर्नुपर्ने केस ५ देखि १० प्रतिशत हुनेछन् र केवल ५ प्रतिशतलाई मात्रै भेन्टिलेटरको सहयोग आवश्यक पर्नसक्छ ।’

राज्य सरकारले बढ्दो संक्रमण, विशेषगरी इन्टेन्सिभ मेडिकल केयर र उपचारको जरुरी भएकाहरुको व्यवस्थापनका लागि पर्याप्त रुपमा स्वास्थ पूर्वाधारको जोहो गर्नुपर्ने उनले बताएका छन् । राज्यहरुलाई बढ्दो संक्रमितको व्यवस्थापनमा तयार गराउने लक्ष्यका साथ इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनअनुसार कम्तिमा प्रत्येक जिल्लामा दुईवटा कोभिड–१९ परीक्षण ल्याब बनाउन भनेको छ । कर्नाटक राज्य ६० वटा ल्याबको लक्ष्य पुरा गर्ने पहिलो राज्य बनेको छ । ‘बैंगालुरुस्थित खेम्पेगोडा इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको कोभीड–१९ परीक्षण ल्याबलाई हामीले स्विकृति दिएसँगै राज्यमा परीक्षण ल्याबको संख्या ६० पुगेको छ,’ उनले भने । यस राज्यमा ३० वटा जिल्ला रहेका छन् ।

रविकाअनुसार १५ अप्रिलमा जतिबेला ६० वटा ल्याब बनाउनुपर्ने लक्ष्य दिइयो, त्यतिबेला राज्यमा केवल १५ वटा परीक्षण ल्याब थिए ‘राज्य सरकारले गरेको सहयोगका लागि म धन्यवाद् दिन चाहन्छु । मेरो सपना १५ जुनभित्र कर्नाटकमा ७५ वटा परीक्षण ल्याब बनाउने हो,’ डाक्टर रविले भनेका छन्, ‘भ्याक्सिनका लागि हामीले कम्तिमा आगामी वर्षको मार्चसम्म कुर्नुपर्छ । मानिसहरुले सबै आवश्यक सतर्कता र रोकथामका उपायसहित कोभिड–१९ सँगै बाँच्न सिक्नेछन् । नोबेल कोरोना भाइरस इबोला, मार्स र सार्सजस्तो प्राणघातक होइन ।’

पछिल्लो आँकडाअनुसार भारतमा संक्रमित संख्या २ लाख २७ हजार २ सय ७३ पुगेको छ । संक्रमित संख्याका आधारमा भारत विश्वको सातौं स्थानमा छ । मृतक संख्याका आधारमा भने भारत १२ औं स्थानमा छ । अहिलेसम्म ६ लाख ३ सय ६७ जनाले यहाँ ज्यान गुमाएका छन् । भारतमा प्रति १० लाखमध्ये केवल ५ जनाले मात्रै ज्यान गुमाएका छन् ।