सीमा समस्या समाधान गर्ने नेपाल र भारतबीच नयाँ सहमति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सीमा समस्या समाधान गर्ने नेपाल र भारतबीच नयाँ सहमति



काठमाडौं- सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल फर्किएको छ ।

गृह मन्त्रालयस्तरीय बैठकमा सीमामा हुने नक्कली नोट, हतियार तस्करी, लागुऔषध तथा मानव बेचबिखनलगायत सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा सिमानामा निर्माण भइरहेका पूर्वाधार परियोजनाहरू चाँडो पूरा गर्नुपर्नेमा जोड दिन प्रभावकारी समन्वय र सूचना आदनप्रदान गर्ने सहमति भएको नेपाली राजदूतावास नयाँ दिल्लीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल नेतृत्वको टोली दिल्ली पुगेको थियो । भारतका तर्फबाट गृह मन्त्रालयका सहसचिव आशिष कुमारको नेतृत्वमा टोलीले वार्ता गरेको थियो ।
यस्तै, बैठकमा हराएको सीमा स्तम्भको विषयमा पनि छलफल भएको छ ।

“दुवै पक्षबिच नो–म्यान्स ल्यान्डमा जग्गा अतिक्रमण हटाउन र हराएको र क्षतिग्रस्त सीमा स्तम्भको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न सहमति भएको छ,” विज्ञप्तिमा लेखिएको छ, “त्यसैगरी सीमापार सवारी साधनको आवागमन, विपद् व्यवस्थापनमा सहयोग, सीमानाका नजिक बनेका बाँध, सडकलगायत पूर्वाधारका कारण उत्पन्न हुने डुबान समस्यालगायत विषयमा छलफल भयो ।”

यस्तै, बैठकले २०१५ मा पोखरामा भएको ११औँ बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको समीक्षा पनि गरेको थियो । साथै, अर्को बैठक एक वर्षभित्र नेपालमा बस्ने निर्णय पनि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।