अब छिटो चल्नेछ इन्टरनेट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब छिटो चल्नेछ इन्टरनेट



काठमाडौं- टिकटकले नेपालमै आफ्नो क्यास सर्भर राखेपछि एक महिनादेखि सिर्जित ब्यान्डविथको समस्या समाधान भएको छ । टिकटकले आफ्नो प्रोटोकल परिवर्तन गरेसँगै टिकटक प्रयोग गर्दा हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत १० गुणा बढेको थियो । नेपाल भित्रिने कुल ब्यान्डविथमध्ये २५ प्रतिशत टिकटकमा मात्रै खपत हुन थालेपछि पिक आवरमा यसको गुणस्तर घटाउन थालिएको थियो ।

नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स) ले सञ्चालन गरिरहेको स्थानीय सर्भरको क्षमता अभिवृद्धि गरी ब्यान्डविथ समस्या समाधान भएको सञ्चालक समिति सदस्य समित जन थिङले जानकारी दिए ।

टिकटकले ७० जीबीपीएस क्षमताको सर्भरको परीक्षण गरिरहेको छ । अहिले टिकटकको ट्राफिक माग धान्न अकुमाईको कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) प्रयोग भइरहेको उनले बताए । अकुमाईको सीडीएनको क्षमता एक सय जीबीपीएसबाट २ सय ४० जीबीपीएस पुर्‍याइएको उनले जानकारी दिए ।

एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटकले क्यास सर्भर राख्न अकुमाईको सीडीएन प्रयोग गरिरहेको छ । तर नेपालमा रहेको अकुमाईको सीडीएम लकडाउनअघिदेखि नै पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले यसलाई प्रयोग गर्न नसकिने अवस्थामा थियो । टिकटकले २८ जुलाईदेखि आफ्नो प्रोटोकल एटीटीपीबाट एचटीटीपीएस बनाएपछि सेवा प्रदायक थप समस्यामा परेको नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) अध्यक्ष भोजराज भट्टले बताए ।

एचटीटीपीएस प्रोटोकल कम्प्युटर नेटवर्कमा हुने सञ्चारलाई सुरक्षित पार्न प्रयोग गरिन्छ । एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटक प्रयोग गर्दा स्वतः अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग भएपछि ब्यान्डविथ खपत बढेको हो । ‘एचटीटीपीएस प्रोटोकलमा गएपछि क्यास सर्भर राख्न सम्भव हुन्न,’ उनले भने, ‘यसले गर्दा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमा चाप गर्न गएको हो ।’

इन्टरनेटमा भएको कन्टेन्ट स्थानीय रूपमा भण्डारण गर्ने सर्भरलाई क्यास सर्भर भनिन्छ । ब्यान्डविथको चाप घटाउन र इन्टरनेटको गति बढाउन क्यास सर्भरलाई प्रयोग गरिन्छ । छोटो भिडियो सेयरिङ गर्ने चिनियाँ एप केही महिनायता चर्चामा छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारतले यो एपलाई प्रतिबन्ध लगाइसकेको छ ।

अमेरिकाले पनि आफ्नो देशमा हुने कारोबार अमेरिकी कम्पनीलाई बिक्री नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । केही सातायता समयमा टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको थियो ।

यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले औसत १३ जीबीपीएस मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने सेवा प्रदायकहरूको तथ्यांक छ । कोभिड–१९ का कारण लकडाउन गर्नुअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो भने लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो ।

त्यसअघि ५ सय जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्रिने गरेकोमा कोभिड–१९ का कारण गरिएको लकडाउनको समयमा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक भएपछि सेवा प्रदायकहरूले बढी ब्यान्डविथ भित्र्याउन थालेका हुन् । भारत र अमेरिकाले प्रतिबन्ध लगाएसँगै संसारभर टिकटकबारे चर्चा भएपछि प्रयोगकर्ताले उत्सुकता मेटाउन पनि यसलाई प्रयोग गर्न थालेको हुन सक्ने सेवा प्रदायकहरूको विश्लेषण छ । टिकटकले खपत गर्ने ब्यान्डविथ गुगल र फेसबुक प्रयोगका लागि नेपालभित्र खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथभन्दा बढी हो । कान्तिपुर दैनिकमा खबर छ ।