देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने



काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आज देशभरका इन्टरनेट तथा केबल टेलिभिजनका तारहरु काट्‍ने बताएको हो ।

विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि पोलमा तार टाङ‍्ने र अप्टिकल फाइबर बिछ्‍याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने बताउँदै सेवा बन्द गर्ने समन्वय समितिले जनाएको छ ।

प्राधिकरणले एकलौटी रुपमा वृद्धि गरेको भाडा दर पुनरावलोकन गर्न इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले प्रधानमन्त्रीदेखि उर्जा, अर्थ र सञ्‍चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि तार काट्‍न बाध्य भएको जनाएको छ । समितिले टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले तय गरेको नयाँ भाडा दरमा सम्झौता गर्ने विद्युत प्राधिकरणलाई सात दिनको समयसीमा तोकेको थियो ।

उक्त कम्पनीहरुले तार काटेसँगै देशभरका सम्पूर्ण इन्टरनेट सेवा तथा सञ्‍चारमाध्यमहरु प्रभावित हुने भएका छन् ।

कम्पनीले तोकेको नयाँ दररेट अनुसार नगरपालिकाका पोलहरुमा इन्टरनेट र टेलिभिजको तार टांगेको प्रति किलोमिटर प्रतिवर्ष पाँच हजार ५० तिर्दै आएकोमा प्राधिकरणले जारी गरेको नयाँ दररेट अनुसार १४ हजार चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसैगरी गाउँपालिकाहरुमा प्रतिवर्ष प्रति किलोमिटर १२ सय ५० तिर्दै आएकोमा १४ हजार चार सय तिर्नुपर्ने हुन्छ । त्यसैगरी अप्टिकल फाइबर केबल विछ्याएको नयाँ दररेट अनुसार प्रति किलोमिटर प्रति कोर प्रति वर्ष १४ हजार चार सय भएकोमा ७२ हजार तिर्नुपर्ने हुन्छ ।

नयाँ दररेट नै पालना गरे इन्टरनेट तथा टीभी सेवा प्रदायकलाई थप ७५ करोड रुपैयाँ व्ययभार बढ्छ । यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्छ ।

समन्वय समितिमा नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड छन् ।