‘मेरा संघर्षको आफ्नै एउटा कहानी छ’ -निर्देशक तुलसी घिमिरे « Himal Post | Online News Revolution
Logo

‘मेरा संघर्षको आफ्नै एउटा कहानी छ’ -निर्देशक तुलसी घिमिरे



दार्जिलिङको कालिम्पुङमा जन्मेको एउटा सानो केटो आफ्ना आमा बाबाबाट आर्शिवादमा पाउने राजाले चिन्ने र प्रजाले मान्ने मान्छे हुनु भन्ने शब्दलाई आफ्नै मनले तर्क बितर्क गर्दै कलाकारिता क्षेत्र रोज्छ । सानो छँदा नबुझेरै मन पराएको यो क्षेत्र किशोरावस्थाबाट युवा बन्दै गर्दा अझ झन् गहिरो छाप बनेर मनमा बसेपछि कलाकारिता क्षेत्रमा अध्यनको आवस्यकता महशुस र मोहले बम्बई पुर्याउँछ ।

एउटा नौलो र बिशाल भिडमा आफ्नो लक्ष्य खोज्न निस्केको ठिटोले बम्बईका गल्लीहरुमा आफैं आफ्नो भविश्य खोज्दै गर्दा भोगेका संर्घशका कथाहरु उनले बनाउने चलचित्र भन्दा कम छैन । अल्लारे उमेर, घर परिवारबाट टाढा, नौलो परिबेश यी सबै कुरा अप्ठ्यारा हुँदा पनि कलाकारिताको मोहले आफैं परिपक्क बनाईदियो उनलाई र सिक्न थाले कलाकारिताका बिबिध बिधाहरु उनि अर्थात निर्देशक, कलाकार तुलसी घिमीरे ।

चलचित्र बाँसुरीका लागि नेपाल आएका तुलसी घिमिरेका बैंशका दिन थिए ति तर उनलाई नै पत्तो नदिई ढल्कदैं गए बैंस आज जिन्दगीका भोगाईहरु समयको दपर्णमा नियालीरहेछन् घिमिरे । तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रको यस्तो नाम हो जुन यो क्षेत्रको पर्यायवाची नाम बनेको छ ।

पहिलो चलचित्र बाँसुरीबाट सुरु भएको उनको निर्देशकिय यात्रा कुशुमे रुमाल, लाहुरे, चिनो, दक्षिणा, दर्पणछायाँ आदि हहुँदै दर्पणछायाँ २ सम्म आईपुग्दा घिमिरेले गरेको संर्घस उनले नियालीरहेको नेपाली चलचित्र क्षेत्र र उनका जीवन भोगाई र बिचारहरुमा बसेर हिमालपोष्टकर्मीले गरेको कुराकानी

 

  • दिन कस्तो बित्दै छ ?

सामान्य नै छ । मेरो पछिल्लो चलचित्र दपर्ण छाँया २ को प्रतिकृयाहरु, चलचित्रकर्मीहरु साथीहरु संग भेटघाट आदिमै बितीहरेको छ ।

  • कुन कुराले तानेर चलचित्र क्षेत्रमा प्रवेश गर्नु भएको थियो ?

म सानो छदाँ आमा बाबाले आर्शिवाद दिंदा राजाले चिन्ने र प्रजाले मान्ने मान्छे हुनु भन्नु हुन्थ्यो । यो कुरा मेरो मनमा गडेरै बस्यो, राजाले चिन्ने र प्रजाले मान्ने के चाहिँ हुन्छ त भनेर सोच्नै थालें । कल्पनामा अनेक पेसा ल्याउने र त्यसलाई राजा र प्रजा जोड्ने एउटा कम नै जस्तो भयो मेरो । डक्टर बने राजा प्रजाले मान्ने र चिन्ने हो कि ? ईन्जीनियरलाई पो चिन्छ कि ? यस्ता धेरै पेसा मनमा आए । । सोच्दै थिएं, त्यो बेला बलिउडमा चर्चा पाएका राजकपुरलाई रसियामा पनि भयङकर मान्छ अरे भन्ने सुनें । य कलाकारलाई पो चिन्ने रहेछ सबैले राजकपुर बन्नु पर्दो रहेछ भन्ने भयो मलाई र ल अब म पनि सिनेमामै काम गर्छु भन्ने निर्णयमा पुगें ।

आफ्नो मनले पक्का नै गरिसकेको कुरा एकजना गुरुलाई सुनाएं, म त सिनेमामा काम गर्ने हो । उहाँले सोध्नु भयो तैंले सिरियस्ली भनेको ? अं मैले सिरियस्ली भनेको म त फिल्ममै काम गर्ने होे । मेरो मनले यो निणर्य बदल्लेबाला छैन भन्ने थाहा पाएपछि गुरुले भन्नुभयो तैंले के बुझेर यो क्षेत्र रोजीस कुन्नी राम्रो कुरा सोचेको होस् तर अध्ययन नै गर्नुपर्छ । यति सुनेपछि म यो बिषयमा अध्यन गर्छु भनेर बम्बई गएं ।
त्यतिबेला आज जस्तो सजीलो थिएन । माला सिन्हा, डेनी सर, गुरुङजी, गोपाल भुटानी, गोपीकृष्ण जी मात्र हुनुहुन्थ्यो नेपाली भाषी कलाकार । अलि पछि प्रकाश थापा दाईहरु जानु भयो । धेरै संर्घस गरें, त्यो संर्घषको आफ्नै एउटा कहानी छ । त्यहाँ एउटा ठाउँ बनाएं, पछि यता आएं, आज सम्म काम गरिरहेको छु ।

एकपटक सरकारबाट अर्वाड पाउँदाखेरी मलाई चिनेर दुईचार जनाले मेरो बारेमा बोल्नु भयो । दर्शकले त आफ््नो मनमा राख्नु भएकै छ मलाई संधै । त्यो रात मैले आमालाई फोन गरेर भनें आमा मलाई राजाले पनि चिने नि । बाबा त हुनुहुन्न अहिले मेरो । जीवनमा बाबा आमाको आर्शिवाद पनि ठुलो कुरा रहेछ जस्तो लाग्छ ।

  •  नेपाल प्रबेश कसरी भयो ?

प्रकाश थापा दाई सिन्दुर फिल्को गीतको कामको लागि बम्बई जानु भएको थियो । त्यो बेलाको प्रबृधिमा ईपी र सिपि भन्ने हुन्थ्योे । अहिलेको पुस्तालाई त्यो प्रविधि थाहा छैन । ईपीलाई काट्नु पथ्र्याे सानो सानो रेकर्ड बनाउनको लागि । त्यो कामको लागि जान ुभएको प्रकास थापा दाईसंग मेरो भेट भयो । भावनात्मक भेट थियो । प्रकाश दाई र म कुरा गरिहेका थियौं, संगै मेरो गुरु हुनुहुन्थ्यो । हाम्रो नेपाली भाषमा भएको कुराकानी सुनेर गुरुले सोध्नुभयो, तँ कुन भाषामा कुरा गरिरहेको ? मैले उत्तर दिए नेपाली भाषामा ।

फेरी सोध्नुभयो गुरुले नेपाली भाषामा कतिवटा फिल्म बनेको छ ? जवाफमा मैले ‘अहिले सम्म सात आठ बन्यो’ भनें । सिन्दुर सम्म आईपुग्दा बनेको नेपाली फिल्म त्यति नै थियो । फेरी गुरुले मलाई सोध्नु भयो – तेरो देश नेपाल हो ?

म त ईन्डियन नै हो तर नेपाल मेरो आमाको देश हो । म संग नेपालका धेरै कुरा जोडिएका छन् भनें । प्रश्न भाषा चाहिँ तेरो के हो ? जवाफमा मैले भनें नेपाली । गुरुले भनिहाल्नु भयो त्यसो भए त्यो भाषामा १० वटा फिल्म बना तँ ।

गुरुलाई सुनाएं, मसँग पैंशा छैन, प्रोडयुसर छैन, केहि कुरा छैन कहाँ बाट बनाउनु मैले ? हुन पनि त्यतिबेला भर्खर फूल फ्लेजिट एडिटर भएको थिए, श्रद्धाञ्जली एडिट गर्दै थिए । गुरुलाई म गर्न सक्दिन चाँही भन्नु भएन, गुरुले राम्रो कामका लागि दिएको आज्ञा जस्तो थियो त्यो । मेरो लागि गुरु दक्षिणा थियो त्यो बाक्य ।

आफुसग पैशा थिएन, एकदिन गुरुकहाँ गएर राम्ररी बसेर सम्झाउनु पर्ला भनेर सोच्दै थिए, एक हप्तामा गुरुको निधन भयो । गुरुको आज्ञा मनमै थियो, चारैतिर संघर्ष गर्न थाले पैंशा जुटाउन ।

१९८१ मा पहिलो सिनेमा बाँसुरी बनाए । एकजना बंगाली साथी हुनुहुन्थ्यो, मोहन बेनर्जी । उहाँले लगानी गरिदिनु भयो बाँसुरीलाई । त्यसपछि हामीले कुसुमे रुमाल बनायौं । लगातार सिनेमा बनाउँदै गएं । गुरुले १० वटा आफ्नो भाषाको चलचित्र बना भन्नु भएको थियो, दशौं चलचित्र दक्षिणा बनाए । गुरुको नाममा दक्षिणा थियो त्यो ।

त्यसपछि बम्बई फर्किने तयारीमा थिए । गुरुको आज्ञा पुरा गरेको थिएं, १० वटा चलचित्र बनाएर । यो दशवटा सिनेमा निर्माण गर्ने शिलशिलामा नेपालमा धेरै साथिहरुसँग नजिक भईसकेको थिए । प्रकाश थापा दाई, रबी शाह जि, निर शाह जि, जितेन्द्र महत अबिलाशी धेरै साथिहरु हुनुहुन्थ्यो । म फर्कन्छु भनेपछि उहाँहरु सबैले भन्नुभयो, तिम्रो सोसाईटी नै यहि भै सक्यो । नेपाली चलचित्र क्षेत्रको तिमी एउटा दरिलो खम्बा पनि भईसकेका छौं । नेपाली दर्शकले तिमिलाई मनमा पनि राखि सकेका छन् । अनि तिमी के का लागि बम्बई जाने ? कामै गर्नु छ भने यहि बसेर गर न, नेपाली चलचित्रको लागि ।

उहाँले यति भनेपछि सोचे, लौ त एउटा जिन्दगी कहाँ कहाँ घिसार्नु । यहि बस्ने निधो गरें । कहिले काहि सम्झन्छु तुलसी तिमी नेपाल बस्नु पर्छ भन्ने प्रकाश थापा दाई, जितेन्द्र दाई धर्ति छोडेर गए, म बसिरहेको छु ।

 

  • आर्थिक हिसावले त बम्बई नै राम्रो थियो होला नि ?

पक्कै पनि म बम्बई बसेको भए आर्थिक हिसावले धेरै माथि पुग्ने थिएँ । तर एउटा कुरा चाँहि यो हो कि कमाईका हिसावले म सँग करोडौ हुन्थ्यो होला तर अरबौंको माया मैले बम्बईमा पाउने थिईन, जुन चाँही मैले नेपालमा पाएको छु ।

 

  • सुदूरपश्चिमका बिकट गाउँ बस्तीका कथाहरुमाथी सिनेमा बनाउने सोच आएन ?

सोचेको हो, त्यहाँका गाउँ बस्तीका बिषय बस्तुहरु माथि अध्ययन पनि गरेका थियौं । नेपालका थुप्रै यस्ता ठाउँहरु छन् जो राजधानी बस्नेहरुले कल्पना गर्न सक्दैनन् । तर ति ठाउँहरुका कथाबस्तु ल्याउन हामीलाई गाह्रो छ । दुख गरेर ल्यायो एउटा अत्यन्त सस्तो, बिना मेहनतको चलचित्रलाई पनि त्यही क्याटागोरीमा हालि दिन्छ, उताका कथाहरुलाई जति मिहेनत गरेर ल्याएपनि त्यही क्याटागोरीमा राखिदिन्छ । यस्तो भएपछि त्यत्रो खर्च र समय किन लगाउने त ?

सरकारले सर्पोट गर्नुपर्छ यस्ता चलचित्रहरुलाई । अनि पो चलचित्र बनाउने तरिकामा ति स्थानका कथाहरु पर्छन, ठाउँमा पनि आँखा पर्छ । तर सरकारले यहाँका कलाकार र टेक्निसीयनलाई के सम्झन्छ कुन्नी ढटवारे, तमासे सम्झन्छ कि के सम्झन्छ हामीले देशको लागि पुर्याएको योगदान देख्दैन । यति सम्बेदनशिल ठाउँलाई, कत्तिको सिरियस लिने, यस्ता मौलिक भेष भुषा, परिवश यथार्थ बिषयमाथि बनेका चलचित्रलाई कति बजेट छुट्याउने भन्ने एउटा नियम बन्नु पर्ने हो तर केहि भएको छैन ।

 

  • कलकारका नाममा खुलेका संघसंस्थाले सरकारलाई दवाब लिनु पर्ने होईन र ?

गर्नु पर्ने त हो नि त र खोई गरेको ? कलाकारहरुको चुनाव पनि ठुलो राजनितीक दलको चुनाव जस्तो देख्छु । त्यहिँ भित्र बसेर एक अर्कोको कामको आलोचना र टिका टिप्पणी गरेको सुन्छु । यी संघ संस्थाको कामको बारेमा मलाई हुनुपर्ने जति ज्ञान नभएको हो की तर मैले देखेको कुरा यहि हो जति हुनुपर्ने हो त्यती भै रहेको छैन ।

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा स्थापीत गर्ने हो भने धेरै काम गर्नु पर्छ । अहिले नेपाली क्षेत्रमा आउनु भएका नयाँ पुस्ताले नै यो काम गर्नुपर्छ । हामी त एक प्रकारले अवकास लिंदै गरेका जस्ता भै सकेउँ । हामी थोरै मात्र बाँकी छौं अहिले सम्म काम गरिरहेको । कति पुराना पुस्ताले रिटार्यड लाईफन बिताईरहनु भएको छ । कलाकारको हित र नेपाली चलचित्र क्षेत्रको बिकास र प्रर्वद्धन गर्ने काम नयाँ पुस्तालको नै हो । हामीले आवस्यक ठाउँमा सल्लाह सुझाव दिन सक्छौं ।

 

  • सरकारले तपाँईहरुलाई नागरिकता दिन नसक्नु तपाँईहरुको योगदान चिन्न नसक्नु हो ?

खै के भन्नु चिन्न नसकेको भनुं भनें सबै नेताहरुले भेट्दाखेरी तुलसी जी तपाँईले साह्र्रै राम्रो गर्नुभएको छ ठुलो योगदान छ तपाँईको भन्दै स्वाबासी दिनुहुन्छ । चिनेकै त होला ।

बास्तवमा जीवनको सबैभन्दा उर्जाशिल समय उताका कलाकारले नेपालमा बिताएका हौं र निरन्तर यहिँ बसेर काम गर्यौं यो पेसाले मात्र होईन मायाले पनि हो । योगदानकै हिसावले पनि सम्मानित नागरिकता दिनु पर्ने हो । हामिले मलाई चाहिन्छ दिनै पर्छ भन्न मिल्दैन ।
मेरो आफ्नो कुरा गर्दा मैले नागरिकताकै बिषयलाई लिएर एकदमै ठुलो चित्त दुखाएको पनि छैन । म यहि सम्झन्छु सायद यसका लागि चाहिने प्रकृया सम्म मेरो योगदान पुगेको छैन होला । नागरिक भएको प्रमाण नै चाहिन्छ, पेपरनै बोक्नुपर्छ भन्ने छैन । काम गर्न पाईरहेकै छु, एउटा सकरात्मक स्थान पाएको छु । सबै भन्दा ठुलो कुरा नेपाली मन मुटुमा ठाउँ पाएको छु म यसमै सन्तुष्ट छु ।

 

  • हिजो र आजमा आएको परिवर्तन र राम्रा नराम्रा पक्ष के हुन् ?

हिजो हामीले जुन प्रबिधिमा काम गर्यौं आजको पुस्ताले त त्यो कल्पना पनि गर्न सक्दैन । टेक्नोलोजीको हिसावले एकदमै परिवर्तन र बिकास भएको हो तर बिषयबस्तु र मौलिकता हिसावले त्यति अगाडि बढ्न सकेन । मैले नबुझेको एउटा कुरा आजभोली नयाँ शैली नयाँ शैली भन्छन् यो नयाँ शैली केलाई भन्ने हो ? चलेकोलाई नयाँ शैलि भन्ने हो की, चल्न त धेरै किशिमका चलचित्र चले ।

हामीले यात्रा सुरु गर्दा जीम्मेवारी महसुस हुन्थ्यो । हाम्रो चलचित्र भनेको देशको अनुहार झल्कने हुनुपर्छ, समाजलाई सकारात्मक सन्देश दिने हुनुपर्छ भन्ने थियो । अर्को कुरा नेपाली चलचित्रलाई उद्योगको रुपमा परिणत गराउने उद्देश्य थियो हाम्रो । जुन किशिमले हामिले सोचेका थियौं, जुन किशिमले नेपाली चलचित्रले अन्तराष्ट्रिय बजार लिनु पथ्र्यो त्यो हुन सकेन ।

बिचमा केहि भाईबहिनीहरु आउनु भयो, उहाँहरुले एकदमै राम्रो चलचित्रहरु पनि बनाउनु भयो तर धेरै जसो सिनेमाहरु अपरिपक्क मानिसहरुले बनाए । हेरी नसक्नुका सिनेमा बने, यस्ता उच्र्छिङखल चलचित्र बनेकी आमाबुबा भाईबैनी संगै बसेर हेर्न मिल्छकी मिल्दैन भनेर पहिले परिवारको एकजना सदस्यलाई हेर्न पठाउने उसले हेरेपछि , आमा बहिनीहरुले हेर्न मिल्छकी मिल्दैन भन्ने । नयाँ शैलिको नाममा यो हुुनु पटक्कै जरुरि थिएन ।

जति नै हामीले समाज अगाडि बढिसक्यो भनेपनि अस्लिलतालाई सहजै पचाउन सक्ने समाज बनेको छैन हाम्रो । नेपाली संस्कारमा नै नभएको कुरा हो यो भने कसरी हेर्ने दर्शकले । होला केहि आजका युवा बर्गले यसलाई रमाईलो मान्ला पचाउला तर समग्रमा हेर्दा नेपाली दर्शकले खोजेको चलचित्र पारिवारिक नै हो । गाउँ गाउँमा जाने भने अझै पनि एउटा घरमा टिभि हेर्न गाउँभरिका मान्छे जान्छन् । त्यो घरमा फिल्म हेर्न जाने बुढा बा आमा देखी बच्चा सम्म हुन्छन् । कसरी हेर्ने एकै ठाउँमा बसेर हेर्नै नमिल्ले सिनेमा ?

जस्तो भारतमै पनि मराठी, गुजराती आदि चलचित्र बनिरहेको छ र राम्रो बजार पनि लिएको छ । उनिहरुले अस्लिलतालाई ल्याएका छैनन् । यसको लागि त ईङलिस फिल्म , हिन्दी फिल्म छदैं नी । एक त हाम्रो बजेट नै सानो छ त्यसमा पनि हाम्रो समाजलाई अपाच्य हुने खालका सिनेमा बनिदिंदा समाजमा चलचित्र क्षेत्रको नकरात्मक सन्देस जान्छ ।

नेपाली चलचित्रमा क्याटागोराईज नहुँदा भद्रगोल जस्तो भयो । चलचित्रको बिषयबस्तु हेरेर ए. बि. सि.भनेर ग्रेडीङ गरिदिए दर्शकलाई पनि कती सजिलो हुन्थ्यो, हामी फिल्म बनाउनेहरुको पनि एक प्रकारको सहि मुल्याङकन हुन्थ्यो । दर्शक आफैंले कुन ग्र्रेडको सिनेमा हेर्ने छान्न सजिलो हुन्थ्यो । नेपाली सिनेमामा ग्रेडिङको जरुरी छ तर निस्पक्ष ग्रेडिङ हुनुपर्यो ।

बिचमा हामी पुराना निर्देशकलार्ई यो पनि भनियो तपाँईहरुका फिल्ममा ज्यादा उपदेश भयो । म स्वयंलाई नै यो पनि महशुस भयो साँच्चै हामी धेरै नै उपदेश पो दिईरहेका पो छौ की ?सबै भन्दा सजिलो कुरा त उपदेश दिनु नै हो । त्यता पनि हामीले केहि कुरा छुटाईरहेका पो छौं की ? कती मैले नै गरेका फिल्म पनि फल्प भए । सायद यसमा हाम्रै कमजोरी थिए, हामीले दर्शकलाई बाँध्न सकेनौं । कुनै चलचित्र हिट हुन्छ कुनै फल्प तर फल्प भयो भन्दैमा आत्तीहाल्नु हुँदैन यात्रा रोक्नु भन्दा कमजोरी सुधार्नु पर्छ ।

  • चलचित्र चल्नको लागि डिस्ट्रब्युसनको कत्तीको हात हुन्छ ?

एक दमै ठुलो हात हुन्छ डिस्ट्रब्युसनको । जति बनाउनेको हात हुन्छ त्यतिनै महत्वपुर्ण हुँदो रहेछ बेच्नेको हात पनि । हामी सपनाका ब्यापारी हौं हामीले सपना बेच्ने हो जव हामीले सपनालाई मुर्त रुप दिईसकेपछि त्यसलाई बेच्नेपनि त्यत्तीकै ट्यालेन्ट हुनुपर्छ । मलाई यो एकदमै महसुस भयो पछिल्लो समय ।

सिनेमा बनाईसकेपछि त्यसको प्र्रचार प्र्रसारले पनि स्रोता दर्शक सम्म जाने रहेछ । होला आफुलाई मन परेको निर्देशक, कलाकारले काम गरेको चलचित्र खोजेरै हेर्ने दर्शकपनि हुनुहुन्छ, तर समय यति परिवर्तन भै सकेछकी प्रचारको आधारमा फिल्म चलिदिंदो रहेछ ।
बल्ल बल्ल बजेट जुटाएर सिनेमा बनायो, अव मार्केटिङ गर्नेले लिन्छ कि लिंदैन भन्ने हुन्छ । अर्को नमिठो पक्ष तपाँईको फिल्म पुरानो शैलीको भयो भनेर हलवाले हलदिन आनाकानी गर्छन् । चलचित्र दपर्ण छायाँ भन्दा अगाडी फाईटका सिनहरु भएका सिनेमा चलिरहेका थिए । दपर्ण छायाँ लिएर जाँदा एक दुई जना डिस्ट्रब्युटरबाट तपाँईको फिल्ममा फाईट भएन भनेर गुनासो पनि आयो ।

बिचमा भएको टेक्नोलोजीको परिवर्तनले हामी पुरानाहरुलाई अलमल थियो । मैलाई पनि गाह्रो भयो, टेक्नोलोजी यति छिटो भै सकेको छ कि एउटा सानो काम सिक्दासिक्दै टेक्नोलोजी कति अगाडी बढिसक्दो रहेछ । त्यो दौडमा हामी धेरै पछाडि पर्यौं । यी सबै कुराको अध्ययन गरेर, तालमेल मिलाएर फेरी हिड्ने कोशिश गर्दैछौं ।

  • यो क्षेत्रमा आउन चाहने निर्देशक र कलाकारले सिक्नुपर्ने कुरा के हो ?

यो क्षेत्रमा अध्ययन जरुरी छ, आर्टको बारेमा राम्रो अध्ययन गरेर आउनु पर्छ । जुन निर्देशकले अध्ययन गरेर आएको छ उ त्यो असफल भएको छैन । निर्देशकीय क्षमता भनेको कुनै पनि कथालाई आँखा चिम्म गरेर फिल्म जस्तो हेर्न सक्नुपर्छ । टेक्नीकल कुराहरु त झन् सिक्नै पर्यो, निर्देशकले सिकेरै आउनु पर्छ यसको कुनै उपाय र सर्टकट नै छैन ।

कलाकारको हकमा पनि यहि हो अध्ययन र सिकाई जरुरी छ । अहिले धेरै जना थियटरका कलाकारले सिनेमामा राम्र्रो गरिरहनु भएको छ । पहिले पनि कलाकारहरु नाटकबाटै आएका हुन् तर पहिलेको थियटर आर्टिस्ट र अहिलेकोमा धेरै फरक छ । पहिलेका कलाकारलाई फरक शैलीले सिकाईन्थ्यो ।

जव नाटकमा अनुप बराल, सुनिल पोख्रेल आदि आउनुभयो ड्रामाका कलाकारलाई फिल्ममा पनि सजिलै फिट हुने गरि सिकाईयो । ठुलो योगदान छ उहाँहरुको यो क्षेत्रमा । यो क्षेत्रमा अध्ययन, अनुशासन, धैर्यता र लगनशिलता आवस्यकता छ ।

  • कस्तो छ यतिबेला चलचित्र क्षेत्र ?

जति बेला हामीले काम सुरु गर्यौ त्यो समयनै अर्कै थियो । ५ वटा प्रीन्ट ल्यायो ५ वटा हलमा चलायो । अहिले त कति कती सजीलो नी रिल बोकेर हिड्नु पर्दैन, एकदम फ्रेस प्रीन्ट हेर्न पाईन्छ । ब्यापारिक हिसाबले एकदमै राम्रो छ । पहिले भन्दा अहिले सबै कुरामा राम्रो छ ।
गीत आफैं, लेख्नुहुन्छ, निर्देशक ,कलाकार, स्क्रीप्ट राईटर सबै कुरालाई संगै लैजान कत्तीको गाह्रो छ ?

 

अरु त मलाई त्यति गाह्रो हुँदैन । गीत लेख्न चाहिँ निक्कै गाह्र्रो लाग्छ मलाई । अरु सबै कुरा एकदमै सजिलै गर्न सक्छु म । निर्देशक र कलाकार त भैं हालें, म राम्रो मेकपमेन पनि हुँ, मेकप सिकेरै आएको हुँ मैले । (हाँस्दै) ठिक्कैको क्यामेरामेन पनि हुँ म, रहर र बलिदान चलचित्रमा क्यामेरामेनको रुपमा काम गरें । स्कृप्ट देखी संवाद सम्मकोे सबै काम सजीलै गर्न सक्छु । गीत लेख्न चाहिँ साच्चै गाह्रो लाग्छ ।
दुई चार जना गीतकारहरुको गीत साँच्चै लोभ लाग्छ मलाई । गीतकारहरु संग बसेर यो बिषयमा सुन्न मन लाग्छ, कुरा गर्न मन लाग्छ त्यो पनि भ्याईदैन, सबैको आ आफ्नै ब्यस्तता छ ।

 

  • पुराना चलचित्रका जस्ता राम्रा गीतहरु किन आउँदैनन अहिले ?

त्यो बेलाका जस्ता गीतहरु आज पनि थुप्रै रेकर्ड भएका छन् । तर टेलिभिजन र एफएमहरुले बजाईदिंदैन । एफएममै बजाउनको लागि पनि हामीले अर्कै चाकडी गर्नु पर्छ । शब्दको गहिराई र संगीतको मुर्छना बोकेका गीतहरु मिडीयाले बजाएकै छैन । रातदिन बजायो भने त जे पनि हिट हुन्छ नि ।

एउटा गीत थियो बिबि अनुरागी जी ले बनाउनु भएको स्वरुपराजको स्वरमा छ त्यो, पुर्णिमाको लागि सजिएकी चर्तुदशीकी तिमी चन्द्र्रमा । दिपचण्डीमा छ यो गीत । मैले सोचेको थिएं कालजयी गीत हुन्छ यो भनेर तर कुनै पनि मिडीयाले यो गीत बजाएन ।

त्यस्तै अर्कौ गीत बनायौं हामीले

संसारको शिरको टोपी सगरमाथा हो
त्यहि टोपीको सेरोफेरो हाम्रो गाथा हो
कहिले ढल्किन्छ, कहिले छड्किन्छ
मेरो टोपी नेपाली

यो गीत पनि खुव राम्रो थियो तर मिडीयाले बजाएन । राम्रा गीतहरुलाई ओझेलमा पारिनु मिडीयाको ठुलो कमजोरी हो भने राम्रा गीत सुन्न चाहनेहरुले सुन्न नपाउनु दुखको कुरा हो । जस्तो ईन्डियाकै गायक गायीकाले नेपाली गीतको बारेमा पनि साह्रै राम्रो प्र्रसंसा गर्ने गर्छन । साधना सरगम सधैं भन्छीन कती मिठो हुन्छ नी नेपाली गीत । तर नेपालमै राम्रा गीतहरुको पहिचान हुन नसक्नु दुभाग्य हो ।

  • अन्तमा आफ्ना दर्शकहरुलाई के भन्नु हुन्छ ?

यति लामो समय मैले नेपाली चलचित्रमा काम गरिरहन पाउनुको श्रेय मेरा दर्शकहरुलाई जान्छ । उहाँहरुको मायाले गर्दा काम गर्न पाईरहेको छु । सधैं यहि मायाको आस गरेको छु मेरा दर्शकहरुबाट । नेपाली चलचित्रमा सक्दो राम्रो गरेको छु मैले आफ्नो तर्फवाट अव तपाँइहरुको आर्शिवाद र माया चाहिएको छ ।

जसरी मेरा चलचित्र मन पराएर आजको तुलसी घिमीरे बनाउनमा सहयोग गर्नु भएको छ यो मायालाई मैले मनमा राखेर दपर्ण छायाँ २ लिएर आएको हु । मेरो दाहित्व पनि बन्छ दर्शकहरुप्रति । राम्रो काम गरें भने न हामीले रोजेको मान्छे सहि रहेछ भन्नु हुन्छ दर्शकहरुले । निरन्तर माया, साथ र सुझावको अपेक्षा गरेको छु दर्शकहरुवाट र मेरो कोशिष संधै रहने छ उहाँहरुलाई राम्रा चलचित्र दिने ।