जारी आइपिएलमा पहिलो सुपर ओभर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जारी आइपिएलमा पहिलो सुपर ओभर



एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पहिलो सुपर ओभरको खेल भएको छ । आइतबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा जितको लागि ८ रन बनाउनु पर्ने दिल्लीले अन्तिम बलमा पूरा गर्दै विजयी भएको थियो । सुपर ओभरमा दिल्लीका शिखर धवन र ऋषभ पन्तले ब्याटिङ गरेका थिए । हैदराबादको बलिङ राशिद खानले गरेका थिए । पन्तले पहिलो बलमा एक रन बटुले ।

राशिद खानले दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा पन्तले चौका प्रहार गरेपछि दिल्लीको जित सहज बनेको थियो । चौथो बल डट भयो । पाँचौ बलमा एक रन लिए । अन्तिम बलमा रन बटुल्दै दिल्ली सुपर ओभरमा विजय भएको थियो ।

सुपर ओभरमा हैदराबादको केन विलियम्सन र डेविड वार्नर ब्याटिङमा आएका थिए । अक्षर पटेलले पहिलो बल डट राखेका थिए । दोस्रो बलमा डेविड वार्नरले एक रन जोडे । तेस्रो बलमा विलियम्सनले चौका प्रहार गरे । चौथो बल डट हुन पुग्यो । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा २ रन बटुलेपनि सट रनको कारण एक रन मात्र पाएको थियो । कुल सुपर ओभरमा हैदराबादले ७ रन बनायो ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएपछि सुपर ओभरमा पुगेको थियो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । पहिलो बल कागिसो रबाडाले वाइड फाल्दा अर्को बलमा विलियम्सनले चौका प्रहार गरे । तेस्रो बलमा लेग वाईको रुपमा रन बटुले । चौथो बलमा डेब्यू खेल खेलेका जगदिश सुचिथले छक्का प्रहार गरेपछि खेल रोमाञ्चक बनेको थियो । चौथो र पाँचौं बलमा एक एक रन बटुले । अन्तिम बलमा जितको लागि २ रन चाहिँएको थियो । तर सुचिथले एक रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

हैदराबादका केन विलियम्सले संयमित ब्याटिङका साथ ५१ बलमा ८ चौका सहित ६६ रनमा अविजित रहँदै सुपर ओभरमा पुर्याए । डेब्यू खेल खेलेका युवा अलराउन्डर जगदिश सुचिथ ६ बलमा २ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । ओपनर जोनी बेयरस्टो १८ बलमा ३ चौका र ४ छक्का सहित ३८ रनमा आउट भए । अक्षर पटेलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । अमित मिश्राको नाममा १ विकेट रह्यो ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । दिल्लीका स्टिभ स्मिथ २५ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा अविजित रहे । ओपनर पृथ्वी शाले ३९ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५३ रन बनाए । शिखर धवनले २६ बलमा ३ चौका सहित २८ रन बनाए ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले शिखर धवनलाई बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । १२ औं ओभरको तेस्रो बलमा शा रन आउट हुन पुगेका थिए ।

कप्तान ऋषभ पन्त २७ बलमा ४ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए । कप्तान ऋषभ पन्त र स्टिभ स्मिथले तेस्रो विकेटका लागि ४२ बलमा ५८ रनको साझेदारी गरेका थिए । शिम्रन हेटमायर १ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस २ रनमा अविजित रहे । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । सिद्धार्थ कौलले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । पन्जाब पाँचौं र राजस्थान रोयल्स छैटौं स्थानमा छन् । राजस्थान र पन्जाब दुबैको ४-४ अंक छ । समान २ अंकका साथ सनराइजर्स हैदराबाद सातौं र कोलकाता नाइट राइडर्स पुछारमा छन् । हैदराबादले बुधबार चेन्नईसँग खेल्ने छ । दिल्लीले मंगलबार बेंगलोरसँग खेल्ने छ ।