ईश्वर पोखरेलले उठाए केन्द्रीय कमिटीको मुद्दा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ईश्वर पोखरेलले उठाए केन्द्रीय कमिटीको मुद्दा



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं रक्षामन्त्री ईश्वर पोखरेले पार्टीभित्र देखिएको विवादबारे बोलेका छन् । पार्टीभित्रको विवाद सहमतिभन्दा पनि मुठभेडतर्फ जाने संकेत देखिन थालेको बेला नेता पोखरेलले राष्ट्रिय आवश्यकताबाट निर्देशित भएर पार्टी एकता गरेको स्मरण गराएका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले केन्द्रीय कमिटीले सर्वसम्मतिले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सन आग्रह गरेका हुन् ।

उनले एकता गर्दा पूरा गर्न बाँकी विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकीकृत गर्नका लागि महाधिवेशनको तयारीमा लाग्न उनले नेतृत्वलाई सुझाएका छन् ।

‘राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्‍यौँ । त्यो ऐतिहासिक एकता गर्दा पूरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकीकृत गर्न राष्ट्रिय मञ्च अर्थात् महाधिवेशनको तयारीमा लागौँ,’ उनले भनेका छन्, ‘केन्द्रीय कमिटीले सर्वसम्मतिले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं !’

पछिल्लो समय नेकपाका २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक रूपमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । केही दिनअघि प्रचण्डले नेकपाभित्र गम्भीर संकट देखिएको अभिव्यक्ति दिँदै अर्का अध्यक्ष ओलीकै आग्रह र सक्रियतामा निर्वाचन आयोगमा नयाँ पार्टी एमाले दर्ताका लागि निवेदन परेकाे अभिव्यक्ति दिएका थिए । त्यसअघि भारत र पार्टीभित्रबाट आफूलाई हटाउन लागेको आरोप ओलीले लगाएका थिए ।

दुवै अध्यक्षबीच सहमतिको बाटो खोज्नका लागि पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भोलि बस्दै छ । उक्त बैठकमा जसरी चलाउन मनस्थितिमा प्रचण्ड पक्षको तयारी छ ।

कार्यकारी अध्यक्ष प्रचण्डको निवासमा बसेको शीर्ष नेताको बैठकले भोलि जसरी पनि स्थायी कमिटी चलाउने तयारी गरेको हो । सो बैठकले प्रधानमन्त्री एवं अर्का ओली उपस्थित नभए कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्ने र बहुमतका आधारमा निर्णय लिने तयारी गरेको छ ।