ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको अध्यक्ष बनाइँदै: यस्तो छ उनको विवाद शृंखला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको अध्यक्ष बनाइँदै: यस्तो छ उनको विवाद शृंखला



काठमाडौं- पटक-पटक विवादित नियुक्ति र आलोचनाको केन्द्रमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइराला देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त हुने भएका छन् ।

कोइराला रक्षामन्त्री पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ । यसअघि उनी मन्त्री स्तरको निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त भएका छन्।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिले नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो ।

यसअघि पनि हरेक नियुक्तिमा विवादमा फसेका कोइराला कार्यसम्पादनमा पनि निकै कमजोर छन् । उनले गरेका धेरैजसो कामहरू विवादीत नै छन् । २०५१ सालबाट उनले अनेक ठाउँमा नियुक्ति पाएका छन् । सम्धी पोखरेलकै कारण सधै लाभको पद लिइरहेका कोइराला २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भए, त्यसपछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाए ।

कहिले खाली बस्नु नपरेका कोइराला आफ्ना सम्धी पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । त्यसबेला त उनी झन् विवादित भएका थिए ।

पछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो ।

विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो । बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा कुनै व्यक्तिलाई लैजानु उपयुक्त नहुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।