नेकपाभित्र खतराको सङ्केत: ईश्वर पोखरेलले दिए काउन्टर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेकपाभित्र खतराको सङ्केत: ईश्वर पोखरेलले दिए काउन्टर



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी संविधान संशोधन तयारीको मुद्दाले पार्टीभित्र खतराको सङ्केत देखाएको छ ।

अनौपचारिक रूपमा शनिबारको सचिवालय बैठकले गठन गरेको कार्यदल भताभुङ्ग भइसक्दा पनि नेकपाभित्र यसको तरङ्ग लामै समय चल्ने देखिएको छ ।

विभिन्न नेताहरूले यसमा खरो उत्रिरहेकै बेला पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले यसलाई ढाँट–छलको संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् आपत्ति प्रकट गरेका छन् ।

संविधान संशोधनका सन्दर्भमा नेकपाले लामो समयदेखि आवश्यकता र औचित्यको रटान लगाइरहेको छ । आवश्यक ठानिए र औचित्य देखिए संशोधन गर्छौं भन्ने तर मुद्दाबाट जहिल्यै पन्छने रवैया देखाएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी असन्तुष्ट भइरहेका छन् । यही बेलामा राष्ट्रियसभा सदस्य पनि गरी संविधान संशोधन गर्न लागेपछि पार्टीभित्रै असन्तुष्टि भुसको आगो बनेको हो ।

रक्षामन्त्रीसमेत रहेका पोखरेलले ट्विट गर्दै भनेका छन्, “अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाभित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ । मानिसहरू उदेक मान्दैछन् !”

“केका लागि संशोधन !,” भनेर आश्चर्य प्रकट गर्दै उनले ठाडठाडै प्रश्न गरेका छन्, “खराखरी बहस गर्नेबेला आएजस्तो छ ! कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ?”

उनले ‘राजनीति गरिन्छ तर जुवा खेलिन्न’ भन्दै चोरबाटोबाट पसेर प्रधानमन्त्री बन्ने मनोकामना पूरा हुन नदिनेतर्फ सङ्केत गरेका छन् ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले संविधान संशोधन गर्न माधव नेपाल संयोजक, सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको थियो ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संशोधन प्रक्रिया अघि बढाउने हो भने कार्यदलमा नबस्ने भनेर नेम्वाङ र देवकोटाले आपत्ति जनाएपछि कार्यदल भत्किइसकेको छ ।