मध्यमार्गी नेताहरूमाथि ईश्वर पोखरेलको कटाक्ष - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

मध्यमार्गी नेताहरूमाथि ईश्वर पोखरेलको कटाक्ष



काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मध्यमार्गी नेताहरूमाथि कटाक्ष गरेका छन् । उनले भीम रावल र घनश्याम भुसाल लगायतका मध्यमार्गी नेताहरू अगर-मगर गरिरहेको भन्दै त्यसो नगर्न सुझाव दिए।

बिहीवार काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पोखरेलले एकताको कुरा मात्र गरेर नहुने बताए । ‘एकता भन्ने कुरा केवल लबजमा बोलिने प्रिय शब्द मात्र होइन । अगर मगर लगाएर पार्टीको पक्षमा दृढतापूर्वक नउभिने हो भने एकताको कुरा हुन सक्दैन ।

एकताको कुरा गरिरहने साथीहरूका लागि यो चुनौतीपूर्ण अविभारा हो,’ पोखरेलले भने । उनले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, फूट र विभाजनलाई सहयोग गर्ने काम कुनै हालतमा स्वीकार्य नहुने बताए ।

‘पार्टीभित्रको एकतालाई मजबुद बनाउने उद्देश्यका साथ दशबुँदे सुझावलाई पार्टीले यिनै मान्यता यही आशय र स्पिरिटका साथ स्वीकार गरिएको हो । त्यसलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने पार्टीको प्रतिबद्धता छ,’ उनले भने । उनले एमालेलाई जेठ २ गतेमा पुर्याउनु भनेको यान्त्रिक कुरा रहेको टिप्पणी गरे ।

‘पार्टीका संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको यान्त्रिक कुरा मात्र हो,’ पोखरेलले भने, ‘यसलाई पोलिटिकल सेन्समा बुझ्नु जरुरी छ । कानूनी अर्थ र मर्मअनुसार बुझ्नुपर्छ । यो जेठ २ गतेको एमाले यो होइन, यो विकसित एमाले हो । यो एकता प्रक्रिया सहितको एमाले हो भनेर नबुझ्ने हो भने साँचो बुझाइ होइन ।’