ईश्वरले सत्र पटक सोधेको प्रश्नमा दुई वाक्यको जवाफ आएपछि गलल्ल हाँसे सांसद - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ईश्वरले सत्र पटक सोधेको प्रश्नमा दुई वाक्यको जवाफ आएपछि गलल्ल हाँसे सांसद



काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठक निकै रोचक बनेको छ । निकै गम्भीर विषयमा छलफल गर्न बसेको बैठक रोचक बनेको थियो ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे छलफल कार्यक्रम राखेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुजाता कोइराला लगायतको उपस्थिति थियो ।

गम्भीर विषय भएकाले पनि शुक्रबारको बैठकमा समितिका अधिकांश सदस्यहरु पनि उपस्थित थिए । कर्यक्रममा पालैपालो बोल्ने क्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्षसमेत रहेका पूर्वउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानसेनापति प्रभुराम शर्मालाई इङ्गित गर्दै एउटै प्रश्न सत्र पटक सोधेका थिए । उनले पटकपटक सोधेको प्रश्नको जवाफ शर्माले दुई वाक्यमा दिएपछि हल नै हाँसोमय बनेको थियो ।

प्रधानसेनापति क्षत्रीले पठाएको पत्रमा सबै चीज प्रिन्टेड छ, मिति हस्तलिखित किन ?

त्यसपछि समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्रमन्त्रीलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनका लागि समय दिन खोजे ।

तर पोखरेलले भने फेरि समय मागे उनले राख्छु भनेर फेरि समय मागेर बोले । माफ गर्नुहोला दुईटा कुरा त्यहाँ छ । एउटा कन्टेन्ट । अर्को बडो कलात्मक ढंगले हातले मिति २७ अक्टुबर पारिएको छ किन ? अरु सबै टाइपमा छ ।’

उनले पटक-पटक हातले मिति लखेको किन ? भनेर प्रश्न गरे । अर्थात, उनले हातले मिति लेखिनुका पछाडि अनेकन षडायन्त्र भएको हुन सक्ने आशंकाको भावमा प्रश्न गरे ।उनले अझै थपे, ‘हातले मिति लेखिनुमा धेरै कुराहरु गाँसिएका हुन सक्छन् ।’

एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा पत्र पठाउँदा स्वीकृति दिने आधिकारिक सरकारको नेतृत्व (प्रधानमन्त्री र रक्षामन्त्री) को हो ? पत्र पठाउने बेलामा रहेको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली कि त्यसभन्दा अगाडिका प्रधानमन्त्री सुशील कोइराला ? उनको तर्क छ, ‘भर्खरै आएको सरकार भन्दा एसपीपी अगाडि बढाउन नेपाली सेनालाई सकारात्मक जवाफ दिने कोइराला नेतृत्वको सरकार बढ्ता जिम्मेवार हुन्छ ।’

सबैको पालो सकिएपछि बैठकको अन्तिममा समिति सभापति खरेलले प्रधानसेनापति प्रभुराम शर्मालाई समितिमा उठेका प्रश्नहरुको जवाफ दिन समय दिए ।

प्रधानसेनापति शर्माले अन्य सांसदको जवाफ नदिई पोखेरलले सत्र पटक सोधेको प्रश्नको जवाफमा लागे । उनी सिधै पोखरेलले हस्तलिखित मितिको जवाफमा आए ।

उनले भने, ‘टाइप नगरिकन हातले किन मिति लेखेको भन्नुभयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै हुँदैन । मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले मिति लेख्ने चलन छ हजुर ।’

शर्माले जवाफ दिएपछि समितिमा रहेका सांसदहरु गलल्ल हाँसे । हल नै हाँसोमय भयो तर इश्वर पोखरेल भने हाँस्न पनि सकेनन् ।