ईश्वर पोखरेलले भने: प्रचण्डले लाज पचाए, प्रमाण ल्याउन दिए चुनौती - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ईश्वर पोखरेलले भने: प्रचण्डले लाज पचाए, प्रमाण ल्याउन दिए चुनौती



काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली कांग्रेसकै नेतृत्वको सरकारको पालामा अघि बढेको दाबी गरेका छन्।

कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धनका नेताहरुले एसपीपी केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढेको टिप्पणी गरिरहेका बेला पोखरेलले कांग्रेसकै पालामा अघि बढेको दाबी गरेका हुन्।

एसपीपीमा एमालेलाई आक्षेप लगाएर आएका कुराहरु तथ्य विपरीत, पूर्वाग्रहीपूर्ण र गठबन्धनले गरेको गल्ती डाकछोप गर्ने दुस्प्रयास उनको टिप्पणी छ।

‘प्रस्ताव आएको २०१५ र २०१७ मा सकारात्मक रुपमा जवाफ दियो। २०१५ मा कसको सरकारको थियो? प्रधानमन्त्री को थियो? रक्षामन्त्री को थियो? पार्टी को थियो?’ उनले प्रश्न गरे, ‘गठबन्धनका नेताहरु झुट बोलिरहेका छन्। एमालेप्रति आक्षेप लगाउने काम गरिरहेका छन्। २०१५ मा सुशील कोइराला र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। रक्षा मन्त्रालय कसले चलाएको थियो, देउवाजीलाई थाहै होला। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरु अहिले एमालेलाई आक्षेप लगाउने?’

पोखरेलले ओली नेतृत्वको सरकारकै पालामा एसपीपी सम्झौता कार्यान्वयनमा आएको भन्ने अभिव्यक्तिमा पनि आपत्ति जनाए। ‘केपी ओलीको पालामा भयो भनेर गठबन्धनका एक नेताले भन्नुभयो। यदि त्यसबेला एसपीपीमा पठाइएका सकारात्मक कुरा, लिखत माइन्युटहरु केही छन् भने संसदमा ल्याइयोस्। हामी पूर्ण रुपमा जिम्मेवारी लिन तयार छौं,’ उनले भने।

एमाले असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको उनले बताए। ‘हामीले रक्षा मन्त्री हुँदा एसपीपी के हो भनेर छानविन समिति बनाएर अगाडि बढाउनुहुँदैन भनेर निष्कर्ष निकालेको हो,’ उनले भने, ‘लाज पचाएर अहिले जुन कुरा अगाडि सारिँदैछ त्यसप्रति हामी खेद प्रकट गर्छौं।’

पोखरेलले राष्ट्रिय नीतिमा आँच पुग्ने हिसाबले एमालेले केही पनि नगरेको स्पष्ट पारे। ‘नेपाली सेनाले द्वीक्षीय तालिम लिने कुरा चीन, भारत, बेलायत लगायतसँग चलिरहेको छ। यो शान्ति सेनामा नेपाली सेनाको क्षमता बलियो बनाउन प्रयास गरेको हो। तर यसको अर्थ सैन्य गठबन्धनमा जाने होइन। कुनै हालतमा सैन्य गठबन्धनमा जानु हुँदैन,’ उनले भने।

अहिले आएको १० बुँदे एसपीपी सम्झौता लुकाउन सत्ता गठबन्धनतका नेताले लाज पचाएर विपक्षीलाई आक्षेप लगाउने काम गरेको भन्दै उनले भत्सर्ना गरे। ‘एसपीपी सुरुवमा एमालेले उठायो। दुई तीन दिन चुपचाप लागे। त्यसपछि ढाकछोप गर्न गठबन्धनका नेताहरुले एमालेलाई आक्षेप लाउन थाले। म चुनौती दिन चाहन्छु केपी ओलीको पालामा भएको भनेर प्रमाणित गर्नुस्। होइन भने क्षमा माग्नुपर्छ,’ उनले भने।

सांसद पोखरेलले गठबन्धनको एकजना नाम चलेका नेताले केपी ओलीले एसपीपी सम्झौता गरेको भनेर आक्षेप लगाएको भन्दै थपे, ‘हिम्मत छ भने त्यसबेलामा ति तमाम चिजहरु प्रमाणित गर्न चुनौती दिन्छु। होइन भने फतुर लाउने कुराको निन्दा र भत्सर्ना गर्छु।’

उनले गठबन्धनले एसपीपीमा देशविरुद्धको षडयन्त्र गरेको आरोप लगाउँदै यसलाई परास्त गर्नैपर्ने बताए। ‘केही नेताको अभिव्यक्ति छलछामपूर्ण, सत्ता टिकाउने षडयन्त्रस्वरुप आएको हो। यसको भत्सर्ना गर्छौं,’ उनले भने।

पोखरेलले नेपालको परराष्ट्र नीति कमजोर बनाउने हिसाबले कुनै पनि कुरा आउँछन् भने एमालेले प्रतिवाद गर्ने र कुनै हिसाबले पूरा हुन नदिने पनि उद्‌घोष गरे।