ईश्वर पोखरेलले भने: हिजो रातिको घटना अर्कै हो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ईश्वर पोखरेलले भने: हिजो रातिको घटना अर्कै हो



काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको सचिवालय शुक्रबार राति भएको घटनाको खण्डन गरेको छ।

निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार बेलुका भएको घटनामा प्रहरी प्रशासनकोसमेत दुरुपयोग गरिएको दाबी गरेकी छन्।

विज्ञप्तिमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ। ‘नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल शुक्रबार साँझ बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जानु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘लामाको घरमा गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनि बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

पार्टीका शुभेच्छुकसमेत रहेका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कत भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ। प्रमाणबिना नै गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने प्रयास भएको विज्ञप्तिमा दाबी गरिएको छ।

‘कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं। साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरुमा अपिल गर्न चाहन्छौं।’

प्रहरीले प्रदेश सभा ख का उम्मेवारसहितलाई राति नै प्रहरी कार्यालय ल्याएको थियो। उनीहरुलाई केही घण्टा थुनामा राखेर रिहा गरेको थियो।