मासिक ७० हजारको जागिर छाडेर कृषि पेशामा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मासिक ७० हजारको जागिर छाडेर कृषि पेशामा



विशाल पाण्डेय/कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडका ३४ वर्षिय टेक बहादुर मगर ६ बर्ष जति गैरसरकारी संस्थामा जागीरे थिए । ६ बर्षसम्म सिचाइ बिभागमा ओभरसियरको रुपमा काम गर्दै अरुलाइ काम सिकाउने मगर अहिले त्यो जागिर छाडेर कृषि पेशामा लागेका छन् ।

गैरसरकारी संस्थामार्फत काम गर्दा अरुलाई रोजगारी दिने मगरले घरपरिवारको माया र आफ्नै ठाउँमा केही गरौ भन्ने सोचले मासिक ७० हजारको जागिर छाडे ।

सिचाइ बिभागमा तलब राम्रै थियो, तर अन्य ठाउँमा भन्दा आफ्नै ठाउँमा परिवार संगै बसेर केही गरौं भन्ने सोचले आफुले कृषि पेशा रोजेको बताए । उनले भने ,”जागिरे जीवनभन्दा पनि व्यावसायीक जीवनले सफलता दिलाउछ, त्यै माथी आफ्नै घरपरिवारसंगै आफ्नै ठाउँमा काम गर्नु नै छुट्टै आनन्द आउँछ ।”, “त्यसैले मैले यहि कृषिमा केही गर्ने सोच बनाएर जागिर छाडे । उनले थपे ।”

डेढ बर्स अघिदेखि करिब ३५ लाखको लागतमा कृषि पेशामा संलग्न भएका मगरको हाल ७० लाख बराबरको लागत रहेको बताएका छन् । सुरुमा डेढ बिगाहा जमिन भाडामा लिएर टर्नेल बनाएर तरकारी खेती गरेका मगरले लहरे वा अन्य खेतिको लागि थप ४ बिगाहा खेत बढाएको बताए ।

अहिले नयाँ लिएको खेतमा कस्तो खालको खेती हुन्छ भनेर माटो परिक्षणको लागि पठाएको उनले बताए । पछिल्लो समय कुखुरा पालन समेत सुरु गरेका मगरले आफू एक्लैले नभ्याएको भन्दै थप दुई जना लगानीकर्ता सामेल गरेको मगरले सुनाए । उनले हाल लोकल कुखुरा पालन समेत गरेका छन् ।

नेपाली सेनाका जागीरे

२०४१ सालमा बुवा नन्द बहादुर मगर र आमा लक्ष्मी देवि मगरको कोखबाट बेनि जिल्लामा जन्मिएका टेक बहादुर नेपाली सेनाका जागीरे समेत हुन । उनी २०५९ सालमा काठमाडौंमा सिपाहीको रुपमा भर्ती भएका थिए ।

करिब साढे ६ बर्षसम्म नेपाली सेनामा जागिर गरेका मगर आफू भन्दा माथिल्लो पोस्टका व्यक्तिहरुको टचरले गर्दा जागिर छाडेको भन्दै आफ्नो विगत सुनाउछ्न ।

विरुवा बेचेर मनग्ये आम्दानी

करिब साढे ६ बर्ष जति नेपाली सेनाको सिपाहिमा जागिर गरेका मगरले कृषिमा केही गर्नुपर्छ भन्ने सोच बनाएर कृषि क्षेत्रमा लागेका मगरले पछिल्लो दुई महिनामा करिब ७० हजार बराबर तरकारीको बिरुवा बिक्री गरिसकेको बताए ।

उनले लौका ,फर्सी ,काक्रो ,करेलो लगायतका विरुवा बिक्री गरिरहेका छन् । उनले कैलालीको जोशिपुर ,अत्तरिया लगायतका विभिन्न स्थानीय तहमा समेत विरुवाहरु विक्री गरिरहेका छन् ।

टिकापुरमा तीन महिने कृषि सम्बन्धि तालिम लिएका मगरले तालिमसंगै अनुभव बटुल्नलाई अरुको कृषि फाममा नि:शुल्क काम गरेको भन्दै लामो सास फेर्दै आफ्नो बिगत सम्झिए । उनले भने, “कृषि सम्बन्धि तालिम त लिइयो र त्यस्को अनुभव नहुदा अनुभव बटुल्नलाई एक फाम मा नि:शुल्क रुपमा काम गरे ।” अनुभव बटुल्नको लागि काठमाडौं तथा पोखरासम्म पुगेको मगरले थपे ।

समाचारमा मात्र सहयोग

कृषि प्रधान देश भनेर चिनिने हाम्रो देशमा कृषकहरुनै अझ बढी पिडित बनेको मगर बताउछन् । सरकारले कृषि क्षेत्रमा लाखौं रकम लगानी गरिएको समाचारमा सुने पनि अहिलेसम्म आफुले कत्ती पनि सहयोग नपाएको मगरले दुखेसो पोखे ।

सरकारले कृषिका लागि मल ,बीउ विजन उपलब्ध नगराउदा निजि क्षेत्रसंग महंगो दरमा खरिद गर्न बाध्य भएको मगरले बताए । स्थानीय तहले अहिलेसम्म केही सहयोग नगरेको बताउदै उनले आगामी दिनको लागि नगरपालिकासंग समन्वय गरेको र सहयोग गर्ने बताएको जानकारी दिए ।

स्थानीयलाई रोजगारी

बुद्ध एग्रो फामले ४ जनालाई रोजगार समेत दिएको छ । मासिक ८ देखि १० हजार सम्म तलबमा उनिहरुलाई रोजगार दिइरहेको छ । कामको बेलामा करिब १० जनाले रोजगार पाउने मगरले बताए ।