जलविद्युत् आयोजनाको सेयर अब चाहेजति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जलविद्युत् आयोजनाको सेयर अब चाहेजति



लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, पुस २६ गते ।  जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ ।  सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ ।  सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो ।

यसअघि जलविद्युत् आयोजनामा लगानी गर्न चाहने कुनै पनि व्यक्तिले निश्चित बैङ्क तथा वित्तीय संस्थामा लाइनमा बसेर सेयर फाराम भर्नुपर्ने र भरे अनुसारको सेयर कित्ता पर्न नसक्ने सम्भावना पनि हुन्थ्यो तर अब सरकारको यो घोषणासँगै लगानीकर्ताले अनलाइनमार्फत फाराम भरे अनुसारको रकम बराबरको सेयर कित्ता पाउन सक्ने व्यवस्थासमेत गरिएको बताइएको छ ।

मन्त्रालयले तयार पारेको अनलाइन फाराम भरेर पहिलो चरणमा आमसर्वसाधारणले आफ्नो लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ ।  पहिलो चरणमा सहभागी इच्छुक व्यक्तिको अध्ययन, मूल्याङ्कन तथा लगानीकर्ताको आवश्यक विवरण रुजु गरी लगानीकर्तालाई कुन जलविद्युत् आयोजनामा लगानी गर्दा राम्रो हुन्छ भन्ने कुराको सिफारिससमेत सरकारले गर्ने बताएको छ ।  सरकारले सिफारिस गरेका आयोजना मध्येबाट लगानीकर्ताले जलविद्युत् आयोजनाको उत्पादन क्षमता, निर्माण अवधि, लागत तथा सम्भावित प्रतिफल हेरेर आफूले लगानी गर्ने आयोजनाको छनोट गर्न सक्नेछन् ।

अनलाइनमा आएको प्रतिबद्धताले आमसर्वसाधारणबाट कति रकम सङ्कलन हुनसक्छ र त्यो सङ्कलित रकमले कुन आयोजना बनाउन सकिन्छ भन्ने अध्ययन र विश्लेषण गर्न सरकारलाई सहज हुने कुरा ऊर्जामन्त्री शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युरोप, अमेरिका, कोरिया, अरब तथा खाडी मुलुकमा काम गर्ने नेपालीले विदेशबाटै अब लगानीका लागि फाराम अनलाइनमार्फत भर्न सक्नेछन् ।  देशभित्रका कुनै पनि सर्वसाधारणले अब सेयरका लागि लाइनमा बस्नु पर्नेछैन ।  यसले राष्ट्रिय महŒवका जलविद्युत् आयोजना निर्माण गर्न सहज हुन्छ ।  मन्त्रालयका अनुसार सो सङ्कलित रकमलाई दूधकोसी, उत्तर गङ्गा, माथिल्लो अरुण, नौमुरे, पश्चिम सेती लगायतका आकर्षक जलविद्युत् आयोजनामा लगानी गरिनेछ । ”

मन्त्रालयले तयार पारेको अनलाइन फाराम भर्ने कामको सुरुआतीले सेयर लगानीमा बढीभन्दा बढी सर्वसाधारणको सहभागिता हुने अपेक्षा लिइएको छ ।  ऊर्जा सचिव अनुपकुमार उपाध्यायले भन्नुभयो, “यसभन्दा अघि सेयरमा लगानी सहरमा बस्ने केही सीमित व्यक्तिको हातमा मात्र थियो, अब यसले ग्रामीण क्षेत्रका आम सर्वसाधारणलाई पनि आकर्षित गर्नेछ र ग्रामीण भेगको ससानो बचत पनि लगानीमा परिणत हुने सम्भावना देखिएको छ । ”

मन्त्रालयले निर्माण गरेको अनलाइनमा प्रतिबद्धता फाराम भर्नेबित्तिकै लगानीकर्ताले रकम जम्मा गर्नु पर्दैन ।  मन्त्रालयले आयोजनाबारे जानकारी दिएपछि आफूलाई लगानी गर्न मन लागेको आयोजनामा प्रतिबद्धता अनुसारको रकम लगानी गर्नुपर्ने हुन्छ ।
कार्यक्रममा सञ्चारकर्मीहरूको एक जिज्ञासामा मन्त्री शर्माले भन्नुभयो, “गैरआवासीय नेपाली, कर्मचारी, वैदेशिक रोजगारीमा गएका नेपाली र स्वदेशमा बस्ने आमनागरिकलाई छुट्टाछुट्टै फाराम भर्ने व्यवस्था गरिएको छ ।  सोही अनुसार लगानीका लागि प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ । ”

त्यसैगरी जलविद्युत्को क्षेत्रमा लगानी वृद्धि गर्न जलविद्युत्को लगानीमा ब्याजदर घटाउन ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।  मन्त्री शर्माका अनुसार ऊर्जा क्षेत्रको विकास गर्न लगानीमा पाँच प्रतिशत ब्याजदरको व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको छ ।

जलाशययुक्त र अर्ध जलाशययुक्त आयोजनाका लागि सुक्खायाम र वर्षाको छ ÷छ महिनाका लागि नयाँ विद्युत् खरिददर पनि कायम गरिएको छ ।  अनलाइन उद्घाटन कार्यक्रममा मन्त्री शर्माले यसको जानकारी दिनुभएको हो ।  उहाँका अनुसार प्रतियुनिट मङ्सिरदेखि जेठसम्म १२ रुपियाँ ४० पैसा र जेठदेखि मङ्सिरसम्म प्रतियुनिट सात रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।
यसरी नयाँ दररेटमा खरिद सम्झौता गर्ने प्रवद्र्धकले कम्तीमा १७ प्रतिशत मुनाफा कमाउनसक्ने दाबी उहाँको थियो ।  त्यसैगरी अर्ध जलाशययुक्त आयोजनाका लागि मङ्सिरदेखि जेठसम्म १० रुपियाँ ५५ पैसा र जेठदेखि मङ्सिरसम्म चार रुपियाँ ८० पैसा कायम गरिएको छ ।